मुस्ताङ अब कोरोना मुक्त जिल्ला, दैनिक जनजीवन सामान्य
जोमसोम: कोरोनाको 'हट स्पट' बनेको मुस्ताङ पछिल्लो समय सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोना संक्रमणको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेपछि स्थानीयको दैनिकी समेत सहज हुन थालेको छ ।
कोरोनाको दोश्रो भेरिएन्टसँगै मुस्ताङमा गत बैशाख १५ गतेबाट संक्रमण देखा पर्न थालेको हो । त्यसो त त्यसअघि पनि मुस्ताङमा कोरोनाको पहिलो लहरमा ३६ जना व्यक्तिलाई कोरोना पुष्टि भएकोमा सबै निको भएका थिए ।
कोरोनाको दोश्रो लहरपछि मुस्ताङमा ४ सय ७० जना व्यक्तिमा कोरोना पुष्टि भएकोमा ४ सय १२ जना व्यक्ति आइसोलेसन र होम आइसोलेसनको उपचारपछि निको भइसकेको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङमा बैशाखदेखि कोरोनाका कारण १५ जना व्यक्तिले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार मुस्ताङमा हालसम्म सक्रिय संक्रमित ४३ जना रहेकोमा त्यसमध्ये १८ जना मात्र मुस्ताङमा रहेका छन् । बाँकी २५ जना जिल्ला बाहिर छन् ।
कोरोनाकै कारण लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गरी ४ स्थानीय तहमा १५ जनाको मृत्यु भएको हो । तर, उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डमा हालसम्म १ जना मात्र कोरोना संक्रमित रहेको र मृत्यु हुनेको संख्या शुन्य छ ।
कोरोनाको 'हट स्पट' बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका एक सातादेखि कोरोना मुक्त बनेको छ । वारागुङमा १ सय ५२ जना संक्रमितमध्ये १ सय ३९ जना निको भइसकेका छन् । वारागुङमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए । मुस्ताङको सरकारी कोभिड आइसोलेसनमा १ जना र बाँकी १७ जना होम आइसोलेसनमा छन् ।
कोरोना संक्रमण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाउँदै आइरहेको नियमित निषेधाज्ञा र बर्खायामको मौसममा अविरल वर्षाले सडक अवरुद्ध हुँदा कोरोना नियन्त्रणमा आउन थालेको हो । मुस्ताङमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा घट्दै जान थालेपछि निषेधाज्ञा समेत खुकुलो पारिएको छ ।
मुस्ताङका खाद्य तथा किनारा पसल, आन्तरिक यातायात र बैंक तथा बित्तिय संस्थाहरु साविक झैँ नियमित रुपमा सेवा सञ्चालनमा आउन थालेका छन् । यस्तै, कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी मुस्ताङका ५ वटै तहमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान समेत सुरु भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ मुस्ताङले जनाएको छ ।
यस्तै, विकास निर्माण लगायत आयोजना समेत अन्तिम चरणमा पुगेको र कतिपय आयोजना सम्पन्न भइसकेका छन् । कोरोना संक्रमण क्रमशः लयमा फर्कन थालेपछि संघ, प्रदेश र स्थानीय तहका आयोजना निरीक्षण तथा अनुगमनका लागि सम्बन्धित सरोकारवाला गाउँ गाउँमा पुगेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले नयाँ संक्रमित कम हुँदै गइरहेको र पुराना संक्रमित निको हुँदै जान थालेकाले केही दिनभित्र मुस्ताङ कोरोना मुक्त जिल्ला हुने दावी गरेको छ । मुस्ताङमा कोरोना संक्रमणको अवस्था नियन्त्रित भए पनि यहाँका स्थानीय तहले आवश्यक सजगता भने अपनाइरहेको जनाएका छन् ।
जिल्लाका ५ वटै स्थानीय तहका स्वास्थ्य शाखा,चौकी र इकाइहरुमा अहिले अक्सिजनसहितको आइसोलेसन निर्माण भइसकेका छन् । यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघ, प्रदेश र विभिन्न संघसंस्था लगायतबाट अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, परीक्षण किट र आवश्यक स्वास्थ्य सामग्री पर्याप्त मात्रामा उपलब्ध भइरहेको बताइएको छ ।
पछिल्लो समय सरकारले आन्तरिक हवाइ उडान तथा यातायात सेवा खुकुलो पार्न थाले पनि मुस्ताङमा लामो दूरीका यातायात तथा पोखरा—जोमसोम हवाइ सेवा बैशाख १० गतेयता पूरै ठप्प छ ।
हिमाली जिल्ला मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर अझै खुल्न सकेको छैन । मुस्ताङमा पछिल्लो समय कोरोना संक्रमण क्रमशः नियन्त्रणमा आउन थालेपछि गाउँ गाउँमा मुखिया तथा स्थानीयबासीले जारी गरेको बन्दाबन्दी समेत खुकुलो पारिन थालिएको छ ।