मन्त्रिपरिषद् बैठकको निर्णय : दुई सचिवको बढुवा, तीनको सरुवा
काठमाडौं : सरकारले दुई जनालाई सचिवमा बढुवा गरेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिवद्वय मधुसूदन बुर्लाकोटी र सुशील चन्द तिवारीलाई सचिवमा बढुवा गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहसचिव मधुसूदन बुर्लाकोटी, कृष्णहरि पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस गरिएको छ भने प्राविधिकतर्फ सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनालको नाम सिफारिस गरेको थियो। गत बिहीबारको मन्त्रिपरिषदले चार सचिवको बढुवा गरेका थियो। त्यस्तै सरकारले तीन जना सचिवको सरुवा पनि गरेको छ। ,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोया ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। सुदूर पश्चिम प्रदेश रामकृष्ण सुवेदीलाई उपराष्ट्रपतिको कार्यालय ल्याएको छ भने नेपाल ट्रस्टका सचिव सुरेश आचार्यको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा सरुवा भएको हो।
राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा नियुक्त भएसँगै उक्त पद रिक्त थियो। त्यसैगरी सचिव गोपीचन्द्र मैनालीले अनिवार्य अवकाश लिएसँगै उपराष्ट्रपतिको कार्यालय र सञ्जय शर्मा अनिवार्य अवकाशमा गएसँगै विज्ञान तथा प्रविधि सचिवको पद रिक्त रहेको थियो।