बर्सेनि बग्छन्, बाटो र पुल
ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–७ याङ्माका फिञ्जो शेर्पालाई मौमाटार पुग्न ४ दिन लाग्यो। उनीसहितका ६ गाउँले ४ हजार ९ सय मिटर उचाइको नोराक डाँडा काटेर शुक्रबार सोही वडाको मौमाटार पुगेका छन्। उनीहरू चीनले दिएको खाद्यान्न लिन सिद्धिको अप्ठ्यारो पहाड छिचोल्दै याक लिएर गएका हुन्।
चीनतर्फको बाटो पहिरोले बगाएर याक हिँड्न नसक्ने भएपछि डाँडाको बाटो गएको फिञ्जोले बताए। उनका अनुसार बाटो राम्रो भएको भए दुई दिनमा पुग्न सकिन्थ्यो।
मौमाटारमा ओलाङचुङगोलाका स्थानीयसँग भेटेर चेनेसँगको सिमाना टिपताला भञ्ज्याङबाट चामल, तेल, नुन मौमाटार ओसारिरहेका छन्। अब खाद्यान्न बोकेर कसरी फर्कने चिन्ता फिञ्जोलाई छ। ‘आउँदा त याक पनि रित्ता थिए। जसोतसो आयौं,’ उनले भने, ‘फर्कंदा भारी हुन्छ। निरन्तर पानी परिरहेको छ। बाटोमा पहिरो गयो कि भन्ने पीर लागिरहेको छ।’
पहिले कै जस्तो बाटो भए पनि फर्कंदा कम्तीमा एक साता लाग्ने फिञ्जोले टेलिफोनमा बताए। दुई गाउँ (ओलाङचुङगोला र याङ्मा) रहेको उक्त वडाका लागि चीनले खाद्यान्न सहयोग गरेको हो। टिपतालासम्म गाडीमा ल्याइदिएको थियो। त्यहाँबाट ओलाङचुङगोलासम्म सडक भए पनि नेपालतर्फको गाडी नभएका कारण याकलाई बोकाएर ल्याइएको हो।
याङ्मा ४ हजार २ सय मिटर उचाइमा रहेको दुर्गम बस्ती हो। वडा कार्यालय रहेको ओलाङचुङगोलाबाट चेनेतर्फको बाटो हुँदै याङ्मा नदीको किनारै किनार दुई दिनमा पुग्न सकिन्छ। तर, त्यो बाटो बाढी र पहिरोले क्षतविक्षत छ। अघिल्लो साउनमा आएको बाढीले ५ वटा काठे पुल बगाएपछि कात्तिकमा ५ लाख रुपैयाँ खर्चिएर पुनः निर्माण गरिएको थियो।
त्यसमध्ये चेनेछेउको ठाडो खोलाको पुल बगाइसकेको छ। कात्तिकमै पहिरोले बगाएको बाटो २ लाख रुपैयाँ लगाएर मर्मत गरिएको थियो। उक्त बाटोमा अहिले दुःखले मात्रै ओहोर दोहोर गर्न सकिने सोही गाउँपालिका–६ का दिलकुमार लिम्बु बताउँछन्। याक चौरी भने हिँड्न सक्दैनन्। ‘बाढीले कतिबेला पुल बगाउँछ, कतिबेला पहिरोले लैजान्छ भनेर ख्याल गरेर हिँड्नुपर्छ,’ उनले भने, ‘चिप्लिएर खोलामा खसिन्छ कि भन्ने उस्तै डर हुन्छ।’
याङ्मामा ११ घरधुरीको बसोबास छ। मुख्य पेशा पशुपालन हो। यहाँ विद्यालय, स्वास्थ्य चौकीलगायत कुनै पनि सरकारी कार्यालय छैनन्। फोन लाग्दैन। कोही बिरामी परे त्यही अप्ठ्यारो बाटो हुँदै ओलाङचुङगोला पुग्नुपर्छ। वर्षामा बाढी पहिरो र हिउँदमा हिमपातका कारण आवतजावत नै ठप्प हुन्छ। असोज–कात्तिक र चैत–वैशाखमै खाद्यान्नको जोहो गरिसक्नुपर्छ।
यसपालि भने असारमा चीनले सहयोग गरेका कारण उनीहरू जोखिम मोलेर गएका हुन्। पहिरो नै पहिरो भएका कारण बाटो सहज बनाउन नसकिएको वडाध्यक्ष छेतेन भोटेको भनाइ छ।
‘गाउँपालिका र वडाको बजेट लगाएर वर्षमा दुई पटकसम्म मर्मत गर्छौं तर, जति बनाए पनि बगाइहाल्छ,’ भोटेले भने, ‘कठिन भूगोलका कारण याङ्मा आवत¬–जावत गर्न र विकासका योजना सञ्चालन गर्नसमेत कठिनाइ छ।’
याङ्मासँग वर्षमा चारदेखि ६ महिनासम्म सम्पर्कविच्छेद हुने उनको भनाइ छ। ओलाङचुङगोलाबाट याङ्मा जाने बाटो सहज बनाउन प्रदेश र केन्द्र सरकारकै ध्यान जानुपर्ने स्थानीय तेञ्जिङ वालुङ बताउँछन्। ‘सानो बजेटले हुँदैन, माथिकै ठूलो योजना लगाएर बाह्रै महिना चल्ने बाटो बनाउनुपर्छ,’ उनले भने।
वर्षामा झिकेर राखिन्छ पुल
ओलाङचुङगोलाबाट लुम्बासुम्बा, पापुङतर्फ जाने तमोर नदीमाथिको काठेपुल भने स्थानीयले वर्षायामभर झिकेर राख्ने गरेका छन्।
‘पुल र बाटो मर्मतमै बर्सेनि ठूलो खर्च हुन थालेपछि असार लाग्दा झिकेर राख्ने र असोजमा जोड्ने गर्छौं,’ तेञ्जिङले भने।
गत साउनको बाढीले ओलाङचुङगोला बस्तीमुनिको तमोर नदीको आरसीसी पुलसमेत बगाएको थियो। उक्त पुल तीन वर्षअघि १२ लाख रुपैयाँ लागतमा वडा कार्यालयले बनाएको थियो।