सुटुक्क दलाई लामाको जन्मोत्सव

सुटुक्क दलाई लामाको जन्मोत्सव

काठमाडौं : नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्ना धार्मिक नेता दलाई लामाको ८६ औं जन्मदिन मंगलबार सुुटुुक्क मनाएका छन्। तिब्बतबाट निर्वासित धार्मिक नेता लामा मंगलबारदेखि ८६ वर्ष पुुगेका छन्। उनी १४ औं दलाई लामा हुन्। 

जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको थियो। तिब्बती समुदायले मंगलबार स्वयम्भूमा एक कार्यक्रमको आयोजना गरी धार्मिक नेता दलाई लामाको जन्मदिन मनाएका हुन्। उनीहरूले लामाका नाममा दीप प्रज्वलन  गरे।  तिब्बती समुदायले नेपालसहित विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण होस् भनेर विशेष पूजासमेत गरेका छन्। विश्व शान्तिको कामना गर्दै नेपालमा रहेका तिब्बती समुदायले आफ्ना धार्मिक नेता लामाको जन्मदिन मनाएका हुन्।  

कोरोना भाइरस संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले जन्मोत्सव कार्यक्रममा कुनै तामझाम गरेनन्। उनीहरूले छोटो कार्यक्रम गरी लामाको जन्मदिन मनाएका हुन्। उनीहरूले कोरोना भाइरस जोखिमका कारण नेपालमा रहेका कूटनीतिक समुदायका व्यक्तिहरूलाई समेत निमन्त्रणा गरेनन्। 

तिब्बती समुदायले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा लामाको जन्मोत्सव मनाउने गरेका थिए। कोरोना भाइरस संक्रमणका कारण गत वर्षदेखि जन्मोत्सव कार्यक्रम कोठामा सीमित हुँदै आएको छ। कार्यक्रममा धर्मगुरु लामाका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोलगायत २५ जना तिब्बती समुदायका अगुवाहरूको उपस्थिति थियो। तिब्बती समुदायले तिब्बती परम्पराअनुसार दलाई लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुुको कामना गरेका थिए। 

नेपाल प्रतिनिधि ग्यात्सोले भौतिक दूरी कायम गरी धार्मिक नेता लामाको दीर्घायुको कामना गरी जन्मदिन मनाएको बताए। ग्यात्सोले अन्नपूर्ण पोस्ट्सित भने, ‘धार्मिक नेता लामाको जन्मदिन मनाउने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीन विरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। 

राजनीतिक अभिप्रायले नभई धार्मिक आस्थाअनुसार आफ्ना धार्मिक नेता लामाको जन्मोत्सव मनाइएको दाबी तिब्बती शरणार्थी समुदायका अगुुवाले गरेका छन्। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा धार्मिक नेता लामाको जन्मदिन मनाउँदै आएका छन्।

अमेरिकी दूतावासले पनि धार्मिक नेता लामाको जन्मदिनका अवसरमा बधाई तथा शुभकामना दिएको छ। अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत लामालाई ८६ औं जन्मदिनको शुभकामना दिएको हो। दूतावासले अमेरिकी राष्ट्रपति जो बाइडेनले दलाई लामासँग खिचेको तस्बिर सामाजिक सञ्जालमा राखेर जन्मदिनको शुभकामना दिएको हो।

कोरोना भाइरसको संक्रमणको जोखिमका कारण तिब्बती रेफ्युजी वेलफेयर अफिसको निर्देशनअनुसार बौद्ध, जावलाखेल, स्वयम्भूलगायत उपत्यकाबाहिर भएका तिब्बती शरणार्थीले धार्मिक नेता लामाको जन्मदिन आ–आफ्नो शिविरमा मनाएका छन्। 

उनीहरूले विगतमा नेपालका लागि अमेरिका, बेलायत, जापान, स्विट्जरल्याण्ड, भारत, युरोपेली युनियनलगायत मुलुकका राजदूत र तिनका प्रतिनिधिलाई निमन्त्रणा गर्ने गरेका थिए। तिब्बती समुदायले २०७५ सालमा जावलाखेलमा मनाएको लामाको जन्मोत्सवमा कूटनीतिक समुदायको बाक्लो उपस्थिति थियो। 

२०७२ मा बौद्धमा दलाई लामाको जन्मदिन मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.