५६ दिनमा ओली-नेपाल आमनेसामने

५६ दिनमा ओली-नेपाल आमनेसामने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच तिक्ततापूर्ण ५६ दिनपछि बुधबार भेटवार्ता भएको छ। यसका लागि एकता कार्यदल र दोस्रो पुस्ताका कतिपय नेताले निकै ठूलो मेहनत गरेका थिए। यसले मेरियट होटलमा दुई नेतालाई भेटाएको हो। 

 यसअघि पनि ओली र नेपालको बीच भेटवार्ताको प्रयास गरिएको थियो। तर, नेपालले अस्वीकार गर्दै आएका थिए। लगातार तीन दिनदेखि भएको कार्यदलको बैठकपछि दुई दिनेको भेटवार्ता सफल भएको छ। 

भेटवार्तामा पार्टी एक बनाउन दुई नेताबीच वान टुन वान वार्ता भएको छ। गत वैशाख ३० गते बूढानीलकण्ठमा दुई नेताबीच करिब चार घण्टा संवाद भएको थियो। 

भेटवार्तामा ठोस सहमति नभए पनि वार्ता सकारात्मक भएको दुवै पक्षका नेताले बताए। भेटवार्ता क्रम माधव पक्षका कार्यदल संयोजक भीम रावल र सुरेन्द्र पाण्डे तथा संस्थापन पक्षका महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलको सहभागिता थियो।

छलफलमा सहभागी कार्यदलका सदस्य पाण्डेले वार्ता सकारात्मक भएको बताए। माधव पक्षका नेता पाण्डेले ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको जानकारी दिए। वार्तामा सहभागी माधव पक्षका कार्यदल संयोजक रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन दुवै नेता सकारात्मक भएको दाबी गरे। उनका अनुसार बिहीबार कार्यदलको बैठकपछि ओली र नेपालबीच पुनः वार्ता हुने भएको छ।

‘समग्रतामा पार्टी एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाम कसरी ल्याउने भनेर छलफल भएको छ। पुनः कुराकानी हुनेछ। हामीले समस्याका विषयमा गम्भीर रूपमा कुराकानी गर्नुपर्ने आवश्यकता बोध गर्दै आएका छौं। अब कार्यदलबीच छलफल हुनेछ,’ वार्तापछि रावलले भने।
संस्थापन पक्षका तर्फका कार्यदल संयोजक सुवास नेम्बाङले कार्यदलको सुझाव र प्रयासबाट नै दुई शीर्ष नेताबीच भेटघाट सम्भव भएको बताए। उनले आफू भने भेटवार्तामा नरहेको बताए। यो हाम्रो गृहकार्य दौरानले नै भएको हो, उनले भने। 

२०७७ फागुन २३ मा एमाले र माओवादी बिउँतिएपछि भएका चार पटक मात्रै ओली र नेपालको भेटवार्ता भएको छ। फागुन २८ मा संस्थापन पक्षले एकतर्फी बैठक बसाएर केन्द्रीय कमिटीलाई भंग गरी दसौं महाधिवेशन आयोजक समिति बनाएको थियो। अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल मात्रै राखी अन्य सबैको पदाधिकारी खारेज गरिएको थियो। यो महाधिवेशन आयोजक समिति असार १६ गते भंग भएको छ।

त्यसपछि चैत ५ र ७ गते बोलाएको केन्द्रीय कमिटीको बैठक अगाडि चैत २ मा ओली र नेपालको धुम्बाराहीस्थित तत्कालीन पार्टी मुख्यालयमा भेटवार्ता भएको थियो। तर, यो भेटवार्ता कुनै निश्कर्षमा नपुगेपछि माधव पक्षले चैत ४ र ५ गते आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेला गरी समानान्तर गतिविधि थालेको थियो। 
२०७८ वैशाख ८ मा होटल मेरियटमा दुई नेताबीच भेटवार्ता भएको थियो। पार्टी अध्यक्ष ओलीले माधव नेपालसहित २७ जना प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेको भोलिपल्ट दुई नेताबीच वार्ता भएको थियो। वैशाख ८ को वार्ताले कुनै उपलब्धि हासिल गरेको थिएन। 

करिब डेढ महिनापछि गत असार २० मा अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच छलफल भएपछि कार्यदल बिउँतियो। त्यसपछि कार्यदल पार्टी एकतामा निरन्तर लागिरहेको छ। 
यसबीच मध्यमार्गी दोस्रा तह नेता पार्टी एकताको लागि निरन्तर लागिरहेका थिए। उनीहरूकै प्रयासमा महाधिवेशन आयोजक समिति भंग भयो र कार्यदल बिउँतियो। ओली र नेपालबीच सुरुवातमा टेलिफोनमा कुराकानी गराएर संवादहीनताको अन्त्य गरियो। विपक्षी गठबन्धनमा सक्रिय नेता नेपाल पछिल्लो दिनमा गठबन्धन बैठकमा पनि गएका छैनन्। बुधबार दुई नेताबाट औपचारिक नै भेटवार्ता भएको छ। उनीहरूको भेटवार्ताले पार्टी एकताका लागि सकारात्मक सन्देश दिएका संस्थापनतर्पmका कार्यदल संयोजक नेम्बाङ बनाउँछन्।

भाषा मिलाउन बाँकी
विवादित सबै विषयमा करिब–करिब सहमति भइसकेको र त्यसलाई भाषामा कसरी ढाल्ने भन्ने विषय मात्रै टुंग्याउन बाँकी रहेको कार्यदलका सदस्य एवं पार्टी सचिव गोकर्ण विष्टले बताए। ‘केन्द्रीय कमिटीको सख्यामा जे विवाद थियो, त्यसमा समाधान खोज्ने, नेकपा (माओवादी) को तर्फबाट नेकपा (एमाले) मा एकता ताका रहेका साथीहरूको व्यवस्थापन गर्ने विषयमा पनि समाधान खोज्ने भन्ने सहमति हो,’ विष्टले भने, ‘जुन भाषामा सहमति खोज्नुपथ्र्यो, त्यस सन्दर्भमा हामी धेरै हिसाबले नजिक आइपुगेको छौं।’ 

जेठ २ मा एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो, जेठ ३ मा एमाले र माओवादी केन्द्र एकताका भएपछि ३८ थपेर २४१ सदस्यीय बन्यो। नेकपा बन्दा थपिएका ३८ र पूर्वमाओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जनाको व्यवस्थापनमा दुवै पक्ष सहमति नजिक पुगेको विष्टले जानकारी दिए। यो विषयलाई मिलाउन कार्यदललाई धेरै सकस पर्दै आएको थियो।
विष्टले प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको विषयमा पनि समाधान खोज्न धेरै हिसाबले नजिक पुगेको दाबी गरे। ‘सबै समस्या समाधानका हिसावले नजिक पुगेका छौं, यसलाई भाषामा ढाल्न मात्रै बाँकी हो,’ उनले भने।

दुई शीर्ष नेताको बैठकअघि कार्यदलमा २०७५ जेठ २ गतेको अवस्थामा पार्टी र जनसंगठनका सबै तहका कमिटीलाई पूर्ववत् अवस्थामा फर्काएर क्रियाशील बनाउन सहमति भएको थियो। उता सर्वोच्च अदालतले पनि कर्णाली प्रदेशका सांसदको पुनर्वाहलीको क्रममा पार्टीको संरचनालाई जेठ २ को अवस्था फर्काइसकेको छ। यो फैसलाले पनि कार्यदललाई सहमति नजिक पुर्‍याएको हो। 

विवाद देखिएका मुद्दामा समाधान नजिक पुगेको कार्यदल सदस्य बताउँछन्। कार्यदलको तीन दिनको प्रयासले छोटो अवधिमा समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने विश्वास आर्जन भएको विष्टले बताए। उनले अविश्वासको खाडल पनि कम भएको दाबी गरे।

संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले पनि छलफल सकारात्मक ढंगले अघि बढेको बताए। उनले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासबारे अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेर कार्यदल टुंगोमा पुग्ने बताए। ‘अहिले जे जति तयारीहरू भएका छन् त्यसलाई अझ परिष्कृत गर्न थप गृहकार्य आवश्यक छ भन्नेमा हामी पुग्यौं’, नेम्बाङले भने, ‘तयारीको सिलसिलामा अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै उहाँहरूको समेत फिडब्याक लिएर टुंगोमा पुग्ने प्रयास गरेका छौं।’ दुवै पक्षलाई ‘विन’ ‘विन’ हुने गरी भाषा मिलाएर टुंगोमा पुर्‍याउने तयारी भइरहेको उनले बताए।

माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले विवाद टुङ्गिन धेरै दिन नलाग्ने बताए। उनले सर्वोच्च अदालतको फैसला आउनु अघि नै टुंगो लागि सक्ने बताए। असार २८ मा सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला गर्नेछ। पाण्डेका अनुसार पार्टीका सबै संरचना नवांै महाधिवेशनकै अवस्थामा फर्किने विषयमा सहमति भइरहेको छ।
माधव नेपाल पक्ष २३ निवर्तमान सांसदले विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरको बहस नै सकिएकाले औचित्य नहुने हुँदा फैसलापछि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेकामा दुवै पक्ष सकारात्मक देखिन्छन्। संस्थापन पक्षले हस्ताक्षर फिर्ता गर्नुपर्ने र माधव पक्षले विघटन गतल हो भन्नुपर्ने अडान राख्दै आएका थिए। स्थायी समिति सदस्य पाण्डेले हस्ताक्षर फिर्ताको विषय गौण भएको भन्दै फैसलापछि एकजुट भएर जाने बताए। 

संस्थापन पक्षका नेता पार्टी प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले बिहीबार नै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे। ‘अहिले दुवैतर्फ नेताहरूसँग उहाँहरूका कुरा, भावना बुझ्ने काम पनि भइरहेको छ, अहिलेसम्मका छलफल सकारात्मक भएको हुँदा बिहीबारसम्म टुंग्याउने गरी लाग्छौं,’ ज्ञवालीले भने।

असार २० गते पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच वार्तापछि बिउँतिएको कार्यदलले निरन्तर एकताका लागि गृह कार्य गरिरहेको छ। कार्यदल बिउँतिनु अघि पनि दोस्रो तहका नेताहरू पार्टी एकतामा लागि निरन्तर क्रियाशील रहँदै आएका थिए। उनीहरूबीच भएको सहमतिलाई मुहूर्तरूप दिने काम भइरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.