बीपीमा वैकल्पिक अक्सिजन
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको छ । प्रतिष्ठानबाट उत्पादन हुँदै आएको अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा लिक्युइड अक्सिजन ट्यांकमार्फत बिरामीलाई सेवा दिने उद्देश्यले वैकल्पिक अक्सिजनको व्यवस्था गरिएको हो ।
कोरोना संक्रमित बिरामीको अक्सिजन लेभल कम भएपछि कृतिम अक्जिसन लगाएर उपचार गरिँदै आएको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि बीपी प्रतिष्ठानभित्र २० हजार लिटर क्षमताको लिक्युइड अक्सिजन ट्यांक जडान गरिएको सहायक प्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए । प्रतिष्ठान हाताभित्र ३५ फिट अग्लो अक्सिजन बुलेटको निर्माण सम्पन्न गरी वैकल्पिक अक्सिजन ट्यांक सञ्चालनमा ल्याइएको हो । ट्यांक सञ्चालनका लागि संघीय सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट टेण्टर आह्वान गरी निर्माण कार्य सम्पन्न गरिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानमा सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट एक हजार ६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ । अक्सिजन प्लान्टमा खराबी आई उत्पादन बन्द भएको अवस्थामा वैकल्पिक लिक्युइड अक्सिजन ट्यांकबाट बिरामीका लागि अक्सिजन सप्लाई गरिने व्यवस्था मिलाइएको प्रतिष्ठानका सहायक निर्देशक डा. दिव्यराज मिश्रले जानकारी दिए । लिक्युइड अक्सिजनबाट प्रतिष्ठानमा ५ देखि ६ दिनसम्म धान्न सकिने उनले बताए ।
प्रतिष्ठानको आकस्मिक कक्ष, सबै वार्डहरू, आईसीयू, एनआईसीयू र कोभिड अस्पतालमासमेत पाइप लाइनबाट परीक्षण गरी अक्सिजन सप्लाइको व्यवस्था मिलाइ सकिएको सहायक निर्देशक डा. मिश्रले बताएका छन् । लिक्युइड अक्सिजन ट्यांक सञ्चालनमा आएसँगै यस अगाडि प्रतिष्ठानमा हुँदै आएको अक्सिजन अभावको समस्या समाधान भएको छ । लिक्युइड अक्सिजन सकिएको अवस्थामा भारतबाट बुलेटमार्फत लिक्युइड आपूर्ति गरी अक्सिजन पुनः भर्न सकिनेछ ।