ऋषिङमा पहिरोमा परी दुईजना बेपत्ता, दर्जनौं घर जोखिममा
दमौली : तनहुँको ऋषिङमा पहिरोले दुईजना वेपत्ता भएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ । ऋषिङ ७ दधिवनमा पहिरोले पुरेर एक वृद्धा बेपत्ता भएकी छन्। पहिरोले ६० वर्षीया देवीसराको घर बगाएको र उनी पनि पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
श्रीमान भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको बताइएको छ । गाउँपालिकाका अनुसार त्यस ठाउँमा अरु तीन घर पहिरोले बगाएको छ । अरु घरमा मानवीय क्षति नभए पनि परिवार भने विस्थापित भएका छन् ।
उद्दारका लागि सैनिकको टोली आउने भनिए पनि बाढी तथा पहिरोका कारण घटनास्थलसम्म आइपुग्न समय लागेको गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले जानकारी दिए । गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको सूचना आएको गाउँपालिकाले जनाएको छ ।
ऋषिङ्ग गाउँपालिकाले भिमाद देउरालि तर्फबाट र भिर्कोट तर्फबाट सडकको अवरोध खोल्ने तथा सम्बन्धित स्थानमा जेसिभि पुर्याउन प्रयास गरिरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
यसअघि ऋषिङ ८ मझकोटमा खुमबहादुर आले पहिरोमा परेर बेपत्ता भएका छन्। गाउँपालिकाका धेरै ठाउँमा दर्जनौं घर जोखिममा रहेको जानकारी प्राप्त भएको रेडक्रस सोसाईटी कोटदरबार उपशाखा सभापति ईन्द्र आलेले जानकारी दिए ।