एकाएक अल्झियो एमाले एकता घोषणा

एकाएक अल्झियो एमाले एकता घोषणा

काठमाडौं : एमालेको कार्यदलका सदस्यहरूबीच बिहीबार एकता प्रक्रिया टुंगो लगाउने भन्दै दिनभर नै दौडधुप भयो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाट संयुक्त रूपमा एकताको सन्देश दिने तयारी कार्यदलको थियो।

त्यहीअनुरुप गृहकार्यमा दुवै पक्ष जुटे पनि। बिहान आधा घण्टामा कार्यदलको बैठक स्थगन गरी बेलुका ७ बजे बसेर टुंग्याउने सहमति भएको थियो। सहमतिको खाका तयार भयो। कार्यदलका सबै सदस्य पनि सहमत भए। दुवै पक्षका नेताले बिहीबार निष्कर्षमा पुग्ने दाबी गरेका थिए। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालमार्फत एकताको घोषणा गराउने भनिरहेका थिए। 

नेपाल पक्षका नेता एकता निष्कर्षमा पुग्ने विषयमा अझ उत्साहित भएका थिए। नेता गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे एकता निश्कर्षमा पुगेको भन्दै अभिव्यक्ति दिइरहेका थिए। कार्यदल संयोजक भीम रावल पनि छिट्टै टुंगोमा पुग्नेमा विश्वस्त थिए। संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङ बिहीबारै निष्कर्ष पुग्ने जोडबल भइरहेको बताइरहेका थिए। कार्यदलकै प्रयासमा बुधबार बेलुका अध्यक्ष ओली र नेपालबीच भेटवार्ता  गराइएको थियो। 

कार्यदलले चार दिनदेखि दिनहुँ बैठक बसेर एकताको प्रयास गरिरहेको थियो। तर, बिहीबार बेलुका एकता घोषणा हुने भन्ने विषय एकाएक स्थगन भएको छ। शक्ति बाँडफाँटका विषयमा कुरा नमिलेपछि एकताको घोषणा हुन नसकेको स्रोतले बतायो। भेटवार्तामा नेपालले ओलीसमक्ष आगामी दिनमा हुने हरेक निर्णय दुई नेताबीचको सहमतिमा हुनुपर्ने, पार्टीमा महत्वपूर्ण जिम्मेवारी आफूलाई दिनुपर्नेलगायत विषयमा ठोस सहमति हुनुपर्ने प्रस्ताव गरेको बताइएको छ।  कार्यदल तहमा सबै तहका पार्टी र जनसंगठनका कमिटीहरू सम्पूर्ण हिसाबले पूर्ववत् अवस्था (०७५ जेठ २)मा फर्काएर क्रियाशील रहने भन्ने विषयमा सहमति भइसकेको छ। एमाले र माओवादी केन्द्रबीच एकताका समयमा थपिएका ३८ जना र माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहित २३ जना व्यवस्थापनका विषयमा भाषा मिलाउनेबाहेक सहमति भइसकेको छ। 

संस्थापन पक्षका कार्यदल संयोजक नेम्बाङले आफूलाई शक्ति बाँडफाँटको विषय थाहा नभएको बताए। ‘कार्यदलमा त्यो विषय नै आएको छैन, यो अनावश्यक हल्ला मात्रै हो’, उनले भने।  
बैठकपछि कार्यदल सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले १० दिन यता खासै प्रगति नभएको बताइदिएर एकता आशामा रहेका कार्यकर्तालाई निराश बनाइदिएका छन्। भुसालले भने, ‘पहिला जे थियो त्यही नै छ।’ उनले अघि भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरू तय गरेका थियौं। गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं।’

नेम्बाङले भने तीन वर्षदेखिको विवादलाई ९/१० दिनमा यो अवस्थामा ल्याइपुर्‍याउनु पनि ठूलो कुरा भएको बताए। भने, ‘शुक्रबार टुंगोमा पुग्नेमा आशावादी छौं।’ भुसालको १० दिनदेखि जहाँको त्यही रहेको भनी दिएको प्रतिक्रियाका सम्बन्धमा नेम्वाङले त्यो पनि सही भएको बताए। ‘निश्कर्षमा नपुग्दासम्म स्थिति यस्तै छ,  उनले भने। उनले प्रगति हुन नसके पनि शुक्रबार बिहान साढे ११ बजेपछि बस्ने बैठकले सकारात्मक निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरेका छन्। संस्थापन पक्षका नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल छन् भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.