कांग्रेसले भन्यो- बीपी प्रतिष्ठानको समस्याप्रति प्रधानमन्त्री किन मौन ?
धरान : नेपाली कांग्रेसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या तत्काल समाधान गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी बीपी प्रतिष्ठानको समस्याप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधान गर्न माग गरेका छन्।
प्रतिष्ठानका चारजना पदाधिकारीको राजीनामा, भ्रष्ट्राचारको छानविन गरी दोषीमाथि कारवाहीको माग राखेर २५ दिनदेखि प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुले आन्दोलन जारी राखेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा र प्रशासनिक कामकाज प्रभावित बनेको छ ।
'प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्रीले प्रतिष्ठानको समस्याप्रति आफ्नो गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष वा भुमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको ग्रैह जिम्मेवारी हो,' विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोभिड महामारी चलिरहेको बेला प्रतिष्ठानमा लामो समय द्वन्द्ध कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक, समेतलाई गंभिर असर पुगिरहेको छ भन्ने हेक्का नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिष्ठानमा अनेकन बेथितिर अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक हुँदासमेत ठाकछोप गर्नुभन्दा आवश्यक उपचार गर्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ। प्रतिष्ठानका चिकित्सक कर्मचारीसँग सार्थक संवादमार्फत जायज मागलाई अविलम्ब सम्बोधन गर्न र प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न प्रधानमन्त्रीसँ ग नेपाली कांग्रेस जोडदार माग गर्दछ, 'प्रवक्ता शर्माद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।
आन्दोलनरत चिकित्सक र कर्मचारीले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गोरीशंकर साह ग्रैह जिम्मेवार भएको, पदीय दायित्व पूरा नगरेको, आर्थिक अनियमितताका घटनामा पटकपटक सामेल भएको भन्दै चारैजनाले राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन् । आन्दोलनकारीले हालका पदाधिकारीसँग कुनै हालतमा वार्तामा नबस्ने र मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न माग गरेका छन् ।