स्वेच्छा उडान
हङकङ : स्वेच्छा ७ वर्ष हङकङ बसिन्। पर्मानेन्ट आईडी कार्ड पनि बन्यो। फुड एन्ड वेभरेज कम्पनीमा काम गर्थिन् उनी। कमाइको हिसाबले महिनाको करिब तीन लाख नेपाली रुपैयाँ पनि कमाउँथिन्। डलरको कमाइले आर्थिक अवस्था मजबुत भए पनि आफ्नो खेल र राष्ट्रको लागि केही गर्ने सपना आफ्नै आँखा अगाडि नाचिरहेको थियो।
अन्ततः उनले नेपालमै केही गर्ने निधो गरिन्, अनि सुरु गरिन् सौभाग्य ज्वेलर्स। काठमाडौंलाई आफ्नो व्यावसायिक थलो बनाउँदै निरन्तर खेलमा आफूलाई समाहित गरिरहेकी छिन् स्वेच्छाले।
म आफूलाई अझ निखार्न चाहन्छु। मजस्तै खेल प्रतिभा भएकाहरूलाई प्रेरणाको स्रोत बन्न चाहन्छु, उनीहरूलाई मार्गदर्शन गर्न चाहन्छु, त्यसको लागि अझै खेल्नुछ। हङकङको रहनसहन, भौतिक विलासिता र राम्रो कमाइ किन छाड्नु भयो ? भन्ने प्रश्नमा स्वेच्छा भन्छिन्, राष्ट्रप्रेमले सबै फिका बनाइदियो। थोरै भए पनि आफ्नो देशमा गर्दैछु। बरु आफ्नो देशको सीप र कौशललाई विश्वव्यापी बनाउन कसरत गर्दैछु। आफ्नो जीवनको उद्देश्य र सपनालाई नजिकबाट महसुस गर्दैछु, यही नै सबथोक हैन र ?
खेल र खेलाडीहरूका लागि राष्ट्रबाट उचित सम्मान र वातावरण नमिलेको जिकिर गर्छिन् स्वेच्छा। विदेशीसामु हामी खेलमा फिक्का हुन्छौं, हाम्रो प्रस्तुति अब्बल रहँदैन, कारण हामी रिजल्टमा मात्र ध्यान दिन्छौं, तयारी शून्य छ। अद्भुत खेल सीप र कौशल भएका खेलाडीहरूको जीवनयापनमै कठिनाइ छ अनि कसरी खेल्न सक्छन् ढुक्क भएर ?
कोरोनाको महामारीबाट माथि उठिसकेपछि आफ्नो रोजाइको खेल टेबुलटेनिसका लागि केही उत्कृष्ट कार्य गर्ने योजना बनाएको छु। मनमा आँट र साहस अझै पनि छ कि, यो हातले राष्ट्रको लागि स्वर्ण पदक उठाऊ, अनि विदेशी भूमिमा नेपालको झन्डा फहराउँ।
स्वेच्छा नेम्बाङले टेबुलटेनिसलाई जीवनको हिस्सा बनाइन्। रहरैरहरले खेलमा आएकी उनलाई यही खेलले राष्ट्रको लागि योगदान दिने उत्कृष्ट खेलाडीको परिचय दियो। हँसिली स्वेच्छा भन्छिन्— ‘देशको लागि केही गर्ने हुटहुटी थियो, खेलको माध्यमबाट भए पनि आफ्नो उपस्थिति जनाउन पाएँ। खेलभन्दा अर्को कुनै सपना छैन, आफ्नो शरीरले साथ दिएसम्म राष्ट्रको लागि खेल्नेछु।’ चर्चाको दृष्टिकोणले टेबुलटेनिस खेल नेपालमा खासै चर्चित छैन। गाउँघरतिर यसलाई व्यावसायिक दृष्टिकोणले हेरेको पनि पाइँदैन। तर अन्तर्राष्ट्रिय तवरमा टेबुलटेनिस खेलले व्यावसायिकता पाइसकेको छ भने, चाइनाले यही खेललाई आफ्नो राष्ट्रिय खेलको रूपमा समेत विकसित गरिसकेको छ।
स्वेच्छाले आफ्नो खेल करियरमा दुई दर्जनभन्दा बढी राष्ट्रिय र एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइसकेकी छिन्। तत्कालीन राजा ज्ञानेन्द्र वीरविक्रम शाहबाट गोरखा दक्षिणबाहु (२०६१) बाट सम्मानित स्वेच्छाले जर्मन, चाइना, भारत, कोरियालगायतमा खेल कौशलको तालिम लिइसकेकी छिन्।
देशलाई अझै विजयी मेडलहरू दिने चाहना छ, नेपालको झन्डा फहराउँदै संसार घुम्ने चाहना छ। चाँडै टे«निङ फर्किने थिए तर कोरोनाको प्रभावले मलाई र सम्पूर्ण खेल जीवनलाई प्रभावित बनाएको छ। आशा र कामना गर्छु चाँडै सबै कुरा नर्मल हुनेछ अनि म आफ्नो खेललाई अझ मजबुत बनाउँदै प्रतिस्पर्धामा उत्रिनेछु।