बीपी प्रतिष्ठानको मुद्दामा धरानवासीको पनि साथ: सम्वोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान समस्या तत्काल समाधान गर्न धरानवासीले सरकारसँग माग गरेका छन् ।
प्रतिष्ठान सुधारको माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरुको आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै धरानवासीले तत्काल प्रतिष्ठानको समस्या समाधान गर्न माग गरेका हुन् ।
धरान नागरिक दवाव संजालका अध्यक्ष डा. राजेन्द्र शर्माले पछिल्लो समय नियुक्त भएका पदाधिकारीहरुको गैरजिम्मेवारीपनका कारण प्रतिष्ठान आर्थिक रुपमा धरासायी बनेको र स्वास्थ्य सेवा समेत खच्एिको भन्दै प्रतिष्ठानलाई साविकको अवस्थामा ल्याउन प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन् ।
उनले २७ दिनदेखि आन्दोलनमा उत्रिएका चिकत्सक र कर्मचारीहरुको मागलाई वार्ताको माध्यमबाट सम्वोधन गर्न पनि सरकारलाई सुझाव दिएका छन् । बीपी प्रतिष्ठानमा भएको सबै प्रकारका भ्रष्ट्राचारको छानविन गरी दोषी उपर कारवाही गर्न समेत अध्यक्ष डा. शर्माले माग गरेका छन् ।
उनले सरकारले तत्काल प्रतिष्ठानमा देखिएको समस्या समाधान नगरे धरानवासीहरुले सिंहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । उनले पछिल्लो पटक प्रतिष्ठानको पदाधिकारी बनेर आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साह प्रतिष्ठान सुधार गर्न भन्दा आर्थिक अनियमितताका घटनामा मुछिएको भन्दै उनीहरुलाई बर्खास्त गरी प्रतिष्ठान सुधार गर्न संघीय सरकार समक्ष माग गरेका छन् ।
बीपी प्रतिष्ठान सुद्धिकरण अभियान संघर्ष समितले आइतबार पनि बृहत प्रर्दशन गरेका छन् । चिकित्सक, कर्मचारीले थालेको आन्दोलनलाई धरानका विभिन्न नौ राजनीतिक दलका प्रतिनिधि र धरान नागरिक दवाव समूहले समेत सहभागिता जनाएपछि आन्दोलन थप चर्किएको छ ।
प्रतिष्ठान सुद्धिकरण अभियान संर्घष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले बीपी प्रतिष्ठान सुधार र भ्रष्टचार गर्ने पदाधिकारीलाई कारवाहीको माग गर्दै २७ दिनदेखि आन्दोलन गर्दा समेत सरकारले प्रतिष्ठान सुधार गर्न चासो नदेखाएको बताए । उनले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजीनामा नदिए सबै चिकित्सक र कर्मचारीहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
प्रतिष्ठानमा भएको अनियमितता छानविन गरी दाषीलाई कारवाही गर्नु सरकारको दायित्व भए पनि सरकारले प्रतिष्ठान धरासायी बनाउनेलाई कारवाहीको सट्टा संरक्षण गरेको संर्घष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए । उनले स्वास्थय र शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्न र प्रतिष्ठानको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिष्ठानमा अयोग्य र विवदित व्यक्तिहरुलाई सरकारले पदाधिकारी नियुक्त गरेका कारण प्रतिष्ठान आर्थिक रुपमा धरासायी बनाएको डा. रिमालको आरोप छ ।
नैतिककताका आधारमा पदमा बस्न नहुने भन्दै तत्काल राजीनामा नदिए प्रतिष्ठानकै चिकित्सक र कर्मचारीहरुले कारवाही गर्ने चेतावनी दिएका छन् ।
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायत शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरुले व्यापक भ्रष्टाचार गरेको घटना सार्वजनिक भएपछि प्रतिष्ठान सुधारको माग राखेर चिकित्सक र कर्मचारीले २७ दिनदेखि आन्दोलन गर्दैआएका छन् ।
बीपी प्रतिष्ठानकै समस्या समाधानका लागि काठमाडौँमा समेत आन्दोलन जारी छ । यही मुद्दालाई लिएर आइतबार काठमाडौँमा नागरिक समाजका अगुवाहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै दुई दर्जन जति प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।