सिंहदरवार घेर्ने चेतावनी
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान समस्या तत्काल समाधान गर्न धरानवासीले सरकारसँग माग गरेका छन्। प्रतिष्ठान सुधारको माग राखेर आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूको आन्दोलनलाई एक्यबद्धता जनाउँदै धरानवासीले तत्काल प्रतिष्ठानको समस्या समाधान गर्न माग गरेका छन्।
धरान नागरिक दबाब सञ्जालका अध्यक्ष डा. राजेन्द्र शर्माले पछिल्लो समय नियुक्त भएका पदाधिकारीहरूको गैरजिम्मेवारीपनका कारण प्रतिष्ठान आर्थिक रूपमा धरासायी बनेको र स्वास्थ्य सेवासमेत खस्एिको भन्दै प्रतिष्ठानलाई साबिकको अवस्थामा ल्याउन प्रधानमन्त्री केपी ओली समक्ष माग गरेका छन्। उनले २७ दिनदेखि आन्दोलनमा उत्रिएका चिकत्सक र कर्मचारीहरूको मागलाई वार्ताका माध्यमबाट सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिएका छन्।
बीपी प्रतिष्ठानमा भएको सबै प्रकारका भ्रष्टाचारको छानबिन गरी दोषी उपर कारबाही गर्नसमेत अध्यक्ष डा. शर्माले माग गरेका छन्। उनले सरकारले तत्काल प्रतिष्ठानमा देखिएका समस्या समाधान नगरे धरानवासीहरूले सिंहदरबार घेर्ने चेतावनी दिएका छन्। उनले पछिल्लो पटक प्रतिष्ठानको पदाधिकारी बनेर आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साह प्रतिष्ठान सुधार गर्न भन्दा आर्थिक अनियमितताका घटनामा मुछिएको भन्दै उनीहरूलाई बर्खास्त गरी प्रतिष्ठान सुधार गर्न संघीय सरकार समक्ष माग गरेका छन्।
बीपी प्रतिष्ठान शुद्धीकरण अभियान संघर्ष समितिले आइतबार पनि बृहत् प्रदर्शन गरेका छन्। चिकित्सक, कर्मचारीले थालेको आन्दोलनलाई धरानका विभिन्न नौ राजनितिक दलका प्रतिनिधि र धरान नागरिक दबाब समूहले समेत सहभागिता जनाएपछि आन्दोलन थप चर्किएको छ।
प्रतिष्ठान शुद्धीकरण अभियान संघर्ष समितिका सह–संयोजक डा. विष्णु पोखरेलले बीपी प्रतिष्ठान सुधार र भ्रष्टाचार गर्ने पदाधिकारीलाई कारबाहीको माग गर्दै २७ दिनदेखि आन्दोलन गर्दासमेत सरकारले प्रतिष्ठान सुधार गर्न चासो नदेखाएको बताए। उनले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजीनामा नदिए सबै चिकित्सक र कर्मचारीहरूले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।
प्रतिष्ठानमा भएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्नु सरकारको दायित्व भए पनि सरकारले प्रतिष्ठान धरासायी बनाउनेलाई कारबाहीको साटो संरक्षण गरेको संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले बताए। उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गर्न र प्रतिष्ठानको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रतिष्ठानमा अयोग्य र विवादित व्यक्तिहरूलाई सरकारले पदाधिकारी नियुक्त गरेका कारण प्रतिष्ठान आर्थिक रूपमा धरासायी बनाएको डा. रिमालको आरोप छ।
नैतिककताका आधारमा पदमा बस्न नहुने भन्दै तत्काल राजीनामा नदिए प्रतिष्ठानकै चिकित्सक र कर्मचारीहरूले कारबाही गर्ने चेतावनी दिएका छन्। प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्तिलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको घटना सार्वजनिक भएपछि प्रतिष्ठान सुधारको माग राखेर चिकित्सक र कर्मचारीले २७ दिनदेखि आन्दोलन थालेका छन्।