संसार हेर्ने सपना
मकवानपुर : बाटो हिँड्दै गरेका मनकारीहरू घरमा पसेर जिस्तालाल चेपाङलाई सुन्छन्, केही सहयोग पनि गर्छन्। उनको जीवन यस्तै मनकारीहरूको सहयोगबाट चल्दै आएको छ।
उनको मिठो स्वर र बाँसुरीको धुनले बाटो हिड्ने जो कोहीलाई पनि रोकिन बाध्य बनाउँछ। तर, त्यो आवाज र धुन विगत तीन दशकदेखि मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित जसिटोलबाट बाहिर निस्कन सकेको छैन। उनले संसार हेर्न सक्ने भए यो स्वर र धुन धेरै नेपाली भाषीहरूमाझ लोकप्रिय हुनसक्थ्यो। उनको मनको कुनामा आँखा हेर्न सक्ने भए गीत गाएरै सुखी जीवन बिताउन सक्थे।
तर, जिस्तालालाई दुखसँगै संघर्ष गर्ने बानी परेको बषौं भइसक्यो। भाइबुहारीको सहारामा राक्सिराङको भीर पाखासँग बाँसुरीको धुन साट्दा साट्दै उमेरले ३५ कटेको उनलाई पत्तै भएन। ‘कति वर्ष भयो थाहा छैन, गीत र बाँसुरीसँग दिन बिताउँछु’, उनले आफ्नो दैनिकीबारे भने, ‘कसै कसैले पैसा दिन्छन्, कहिलेकाँही १/२ सय जम्मा हुन्छ। घरमा नुनतेल खान सहयोग पुग्छ।’
जन्मजात दृष्टिविहीन उनी सानै छँदा बुवा बिते। उनको आमा बितेको पनि डेढ दशक भइसकेको छ। उनका ६ दाजुभाइमध्ये तीन भाइ मात्र जीवित छन्। साइला जिस्तालाल काइला भाइसँग बस्दै आएका छन्। ‘दाइ मसँगै बस्छ, खानलाउनै समस्या छ’, काइलाले भने, ‘अलि मान्छे धेरै हुने ठाउँमा मात्र लैजान पाए, उनले गीत गाएरै आँखा उपचार गर्ने पैसा जम्मा गर्ने थिए।’
चार वर्ष अघि साइला ज्वाइँले उनलाई सर्ट दिएका थिए। जिस्तालाल साइला ज्वाइँलाई सम्झिरहन्छन्। त्यही सर्टले उनको चार वर्ष यता आङ ढाक्दै आएको छ। ‘यो पनि सानी बैनीको बुढाले दिएको हो। यस्तै थाङ्ना थुङ्नी लुगा लाएर बस्छु’, उनले आफ्नो दुखेसो साटे, ‘आँखा नदेख्नेलाई के राम्रो चाहियो र ! आङ ढाके भइहाल्यो नि।’
उनको परिवारलाई अन्नबाली नसप्रेको वर्ष अनिकालले सताउने गरेको छ। यो वर्षदेखि भने जिस्तालालले शारीरिक अशक्त भत्ता पाउन थालेका छन्। ‘चार हजार रुपैयाँ पैसा दियो सरकारले यो वर्ष’, उनले भने, ‘अब अैचौ पैचो गरेको तिर्न सजिलो भएको छ।’
उनी एक्लै हुँदा रेडियो सुनेर दिन बिताउँछन्। रेडियोमा लोक गीतका नयाँ नयाँ भाका सुन्छन। त्यसैलाई गुनगुनाउछन्, बाँसुरीमा धुन भर्छन्।
जिस्तालाल लठ्ठीको सहारामा बाटो छाम्दै खाली खुट्टा गाउँको उकाली ओराली गर्छन्। कसैले बोलाएमा गीत सुनाउन पनि जान्छन्। उनी एक पटक हेटौंडा नागरिकता बनाउन गएका थिए। त्यसयता उनले गाउँ छाडेका छैनन्। ‘अन्त जान त मन लाग्छ नि ! के गर्नु आँखा देख्दैन। घरमै बस्यो गायो’, उनले मनको धोको पोखे, ‘आँखा हाल्न मिल्छ रे, संसार हेरेर गाउने इच्छा छ।’