सुजिता हत्याका चार आरोपित सार्वजनिक
जनकपुरधाम : प्रहरीले महोत्तरीको लोहारपट्टी–७ की २७ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न चार अभियुक्तलाई मंगलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुजिताका देवर २९ वर्षीय रूपेश ठाकुरसहित ३७ वर्षीय बन्ठा भनिने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डल छन्।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले सुजिताका पति ३१ वर्षीय मुकेश ठाकुरको संलग्नता नदेखिएकाले थुनामुक्त गरी सुजिताकै बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए। मुकेश सुस्त मनस्थितिका रहेको जनाइएको छ। बण्ठा, मुल्ला र नथुनी शव गाड्न तथा स्थानान्तरण गर्ने कार्यमा संलग्न देखिएको जनाइएको छ। रूपेश पहिले भूमिगत समूह जनतान्त्रिक मुक्ति मोर्चामा आबद्ध भई आपराधिक गतिविधिमा संलग्न पाइएको प्रहरीले जनाएको छ।
रूपेशले जेठ १९ गते नै हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको छ। तर, उक्त दिन योजनाअनुसार काम नभएपछि दोस्रो दिन २० गते बिहान हत्या गरेको बाहिरिएको छ। परिवारमा दिनहुँ हुने झैझगडाका कारण मार्ने योजना बनाएर भनाभनका क्रममा मुक्काले हान्दै भित्तामा ठोक्काएर अचेत अवस्थामा पुगेपछि हत्या गरेको प्रहरी स्रोतले जनाएको छ। ‘घरमा हुने दिनहुँको विवादबाट छुटकारा पाउन तथा घरबाट बढी समय बाहिर बस्दा घरपरिवारको इज्जत, प्रतिष्ठा जाने डरले हत्या गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘सम्पत्ति बाँडफाँट पनि कारण होला। तर, मुख्य कुरा घरबाहिर निस्किँदा कसैलाई कहाँ जान्छु नभन्ने, जाने–आउने निश्चित नहुनेजस्ता समस्याका कारण दिनुहँ झैझगडा हुने गरेको थियो। सोही क्रममा इज्जत, प्रतिष्ठा जाने डरले हत्या भएको खुलेको हो।’
एक प्रहरी अधिकारीले सुजिताका श्रीमान्लाई धनसम्पत्तिको केही मतलब नहुनुको फाइदा उठाउँदै देवर रुपेशले आफूमर्जी सम्पतिको दुरुपयोग गर्ने गरेको पाइएको उल्लेख गरे। यस्तै, सुजिताले मागेको रकम नदिनु तथा छोराछोरीलाई आवश्यक लत्ताकपडादेखि राम्रो स्कुलमा पढाउन नखोज्नुले दैनिक झगडा हुने गरेको अनुसन्धानबाट खुलेको उनले सुनाए। ‘यही कारण हो भन्ने पर्याप्त छैन। थप अनुसन्धान हुँदैछ’, उनले भने, ‘थप केही संवेदनशील कारणहरू छन्, जुन अहिले अनुसन्धानका क्रममा खुलाउन मिल्दैन।’ प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले सुजिताको शव दिनभर उनको पलङमा राखी बाहिरबाट कोठाको ताल्चा लगाएर राखेको पाइएको जानकारी दिए। ‘राति ९ बजे आफ्नै ट्र्याक्टरमा राखी खेतमा पुर्याएर खाल्डो खनी गाडेको देखिएको छ’, उनले भने, ‘त्यसको भोलिपल्ट सोही खेतमा पानी भरेर खेतमा धानको बीउ छरेको रहेछ।’
जाहेरीपछि परिवारसहित प्रहरीको टोली घरमा गएर सोधपुछका क्रममा शंका लागेर खेत–खेतमा खोज्न थालेपछि त्यहाँबाट शव निकालेर सारेको खुलेको यसअघि खुलेको थियो। ‘एक ठाउँमा गाडेको शवलाई माइती पक्षले खेतसम्म खोजतलास गर्न थालेपछि त्यहाँबाट स्थानान्तरण गरी अर्को घडेरीमा गाडेको पाइयो’, विष्टले भने, ‘शव गन्हाउन थालेपछि १० दिनमा जेठ २९ गते मध्यरात पुनः उत्खनन गरी घरबाट ५ सय मिटरपूर्व निर्माणाधीन पेट्रोपपम्पसँग जोडिएको गोलिया राख्ने गोदाम भएको जग्गाको पूर्वोत्तरतर्फ ९ फिट गहिराइ भएको शौचालय टयांकीमा ४ फिट गाडेर माटोले पुरी माथिबाट इँटा ओछ्याएर ढलान गरी कसैले थाहा नपाउने गरी माथिबाट काठका गोलाहरू राखिएको थियो।’
जिल्ला प्रहरीद्वारा बेवास्ता
सुजिता हराएको भनिएकै दिनदेखि माइती पक्ष पटक–पटक उजुरी दिन जाँदा बेवास्ता गर्नुले प्रहरीलाई शंकाको घेरामा हाल्छ। सुजिताका पाँच वर्षीय छोराले आमाको हत्या भएको विवरणहरू सुनाउँदा पनि प्रहरीले अनुसन्धानमा तदारुकता देखाएन।
दुई साता बित्दा पनि जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी नलिर्नुले घटना लुकाउन प्रहरीको संलग्नता देखिएको उच्च प्रहरी अधिकारीको भनाइ छ। ‘मृतकका बच्चाले घटनाको विवरणभन्दा पनि संवेदनशीलतालाई नबुझ्नु प्रहरीको गल्ती हो। त्यो विस्तारै संघीय प्रहरी हुँदै प्रदेश प्रहरी कार्यालयमा रिपोर्टिङ भएपछि डिआईजी उमेश रञ्जितकारको निर्देशनमा अनुसन्धान अगाडि बढाइयो’, प्रहरी अधिकारी स्रोतले भन्यो, ‘जसमा बल पुर्याउन सामाजिक अभियन्ता गुञ्जा रायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। अन्यथा घटना बाहिर नै आउने थिएन। अर्कैसँग भागेको भनेर घटनालाई ढाकछोप गर्न तलदेखि माथिसम्म सेटिङ मिलाउने प्रयास भएको थियो।’
प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोको टोलीमा टेक्निकल इन्भिेस्टिकेसन मनोज सिंह पेला, संघीय प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक छेदीलाल कामती, टेक्निकल इन्भेष्टिकेसन विशम्भरनाथ साह र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टको अथक प्रयासपछि घटना बाहिर ल्याइएको हो। एक प्रहरी अधिकारीले भने, ‘हामीले दिनरात नभनी ४८ घण्टा आँखा नझिम्काई अनुसन्धानमा लागि रहयौं, आखिर सफल तापनि मिल्यो।’
किटानी जाहेरीका लागि गुञ्जा रायको नेतृत्वमा दाइ शिवम पाण्डे, बुवा कामेश्वर पाण्डेसहित जिल्ला प्रहरी कार्यालयमा असार ४ र ६ गते गए पनि प्रहरीले जाहेरी लिन मानेन। रायकै अगुवाइमा खोजतलासका क्रममा शवको अवशेष भेटेपछि समेत जाहेरी लिन मानेका थिएनन्। महोत्तरीका प्रहरी उपरीक आचार्य शव नभेटिएसम्म तथा फरेन्सिक रिपोर्ट नआएसम्म किटानी जाहेरी लिन नमिल्ने भन्दै पन्छिदै आएका थिए। भने, ‘हामी अनुसन्धान गर्दै छौं, शव र फरेन्सिक रिपोर्ट नभ्एसम्म जाहेरी लिन मिल्नदैन।’
प्रतिक्रिया दिनुहोस !