परिवर्तन होइन प्रगति
प्रगतिको अवसर, समानता अनि तत्कालीन र दीर्घकालीन खुसी, सुरक्षा र चौतर्फी प्रगति चाहिएको छ
हरेक प्रयासमा मानिसले खोज्ने तत्कालीन र दीर्घकालीन खुसी हो, सुरक्षा हो, प्रगति हो। यी सबैका लागि सुझबुझ, विवेक र प्रयास आवश्यक पर्छन्। जब कुनै विद्यमान व्यवस्था, चलन, नियम, कार्यशैली, नेतृत्व, संगठन, मान्यता, सपना– पुरानो होस् कि नयाँ। समग्र खुसी, सुरक्षा र प्रगतिमा अवरोधको रूपमा देखापर्छ, तब त्यो अवयव फेर्नुपर्ने हुन्छ। नफेर्दा घाटा बेहोर्नुपर्ने हुन्छ। यो फेर्ने प्रक्रियाको नाम परिवर्तन हो। परिवर्तन साधन हो, माध्यम हो, पाइलो हो, गति हो, क्रान्ति हो। सबै प्रगति कुनै न कुनै अवयवको परिवर्तनबाट प्राप्त हुन्छन् तर सबै परिवर्तन प्रगतितिर डोहोयाउँदैनन्।
परिवर्तन र प्रगतिका अनेक आयाम छन्। धेरैजसो परिवर्तन समुन्नतिको अवस्थितिमा प्रभाव पार्छन्। तिनले प्रगति वा अधोगति निम्त्याउँछन्। कुनै कुनै परिवर्तन अर्थहीन हुन्छन्, समुन्नतिको अवस्थितिमा तिनको भूमिका रहँदैन। भूमिकाविहीन परिवर्तन आफैं आए त ठीकै छ, त्यसका लागि हाम्रो स्रोत, साधन वा समय खर्च हुन्छ भने समष्टिमा त्यो प्रयास व्यर्थ हो। उसो त यस्ता परिवर्तनबाट प्राप्त अनुभवको सही प्रयोगबाट प्रगतिका प्रयासमा टेवा पुग्छ। समृद्ध भाषा, मान्यता, आगो, बिजुली, यातायात, सञ्चार, संगठन, आवास, इन्जिनियरिङ, हतियार र औषधि विज्ञानको माध्यमबाट मानिसले संसारका सबैजसो जीवलाई काबुमा ल्याइसकेको अवस्थामा मानिसको ध्यान मानव समाज व्यवस्थापनमा मात्र होइन, समस्त प्रकृतिप्रति मैत्रीपूर्ण व्यवहारमा पनि जान आवश्यक छ।
मानव जनसंख्या र गतिविधिले पृथ्वीको स्वरूप र जलवायु मात्र होइन, अन्तरिक्षसमेत प्रदूषित हुन थालेको छ। एक्लो घटनाको रूपमा हेर्दा औद्योगिकीकरण, ठूला सहर र गगनचुम्बी भवन निर्माण, खेल मैदान र आँगनको सिमेन्ट ढलान, खोला फर्काउने काम र कृत्रिम जलाशय निर्माण, रासायनिक कीटनाशक विष र विद्युतीय धराप प्रयोग, वातानुकूलित घरका लागि हिटर र एयरकन्डिसनर जडान, नदी र समुद्रमा फोहर बिसर्जन, हतियार विकास, अन्तरिक्षमा रकेट र यान प्रक्षेपणजस्ता गतिविधि सही देखिएलान्। तर यही गतिमा परिवर्तन हुँदै जाने हो भने अब निकट भविष्यमा मानव सभ्यता मात्र होइन, पृथ्वी नै मासिने कुरा उठ्न थालेको छ। सन् २०१९ मा डेभिड स्प्र्याट र इयन डनलपले ‘मौसम–सम्बन्धित सुरक्षा जोखिम : एक परिदृश्य’ शीर्षकको पुस्तकमा भनेझैं मानवले आफ्नो कारणले आइरहेको जलवायु परिवर्तन वा वैश्विक उष्णता नरोक्ने हो भने सन् २०५० सम्ममा संसारको धेरैजसो भाग आणविक दुर्घटनापछिको चेर्नोबिलजस्तै बन्नेछ। पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियसले बढ्ने छ, बरफका ठूला ढिक्काहरू हराउने छन्, खडेरीले अमेजन वनका धेरै रूखहरू मार्नेछ। र फलतः पृथ्वी झन् बढी तातो र झन् बढी दर्दनाक बन्नेछ, कम्तिमा एक अर्ब मानिस शरणार्थी बन्नेछन्।
यस्तो विश्लेषणको सत्यतालाई पुष्टि गर्ने उदाहरण देखिन थालिसकेका छन्। नेपाली हिमालमा देखिने काला टाटाको आकार बढ्न थालेको छ, हिमताल बिष्फोटमा बढोत्तरी आएको छ, तल्लो भेगमा मात्र देखिने विषालु सर्प र लामखुट्टे उच्च पहाडी भेगमा देखिन थालेका छन्, अष्ट्रेलिया र अमेजनका आगलागी निभ्न ढिलो हुन थालेको छ। पश्चिमी उत्तर अमेरिका छेउको प्रशान्त महासागरीय क्षेत्रमा यही मध्यअसारमा तापमान ४९ डिग्री सेल्सियससम्म (नासाको रेकर्डअनुसार जून ३० मा) पुगेको र ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक क्रिस्टोफर हार्लीको अनुमानमा सो तापले एक अर्बअधिक समुद्री जन्तुको मृत्यु भएको घटना हाम्रो सामु छ। परिवर्तन र प्रगतिको यो पाटो अहिलेलाई यत्ति !
रूप परिवर्तन त पाइलापाइलामा हुन्छ, तर प्रगति प्राप्ति सार परिवर्तनबाट मात्र आउँछ। गतिमा स्थिरता छ, स्थिरतामा गति। जितमा हार छ, हारमा जित। भविष्यमा भूत र भूतमा भविष्य। तर, प्रगतिमा परिवर्तन पक्कै छ, परिवर्तनमा प्रगति नहुन पनि सक्छ।
अब मानव–मानव सम्बन्ध व्यवस्थापनको कुरा। कुनै व्यक्तिको अन्य मानिससितको सम्बन्ध, सहकार्य र सहअस्तित्व परिवारबाट सुरु हुन्छ। श्रम विभाजन र आधिपत्यको असमानताबीच पनि मानिसले अहिलेसम्म अनुभव गरेको सबैभन्दा माथिल्लो तहको साझा भाग्यको समाज परिवार हो। परिवारबाट सन्तान उत्पादन, वंश रक्षा र दुःखसुखमा साथ प्राप्त हुन्छ। घेरा बढ्दै जाँदा व्यक्ति परिवारबाट समुदायमा पुग्छ, ऊ व्यक्ति र परिवार दुवैले समुदायको चालचलन मान्न पर्ने कुरा बुझ्छ। ऊ देश र पूरै विश्वसित सम्पर्क राख्न र सम्बन्ध गाँस्न पुग्छ, ऊ यिनबाट प्रभावित हुन्छ र यिनलाई प्रभावित गर्छ। सञ्चार र यातातात सुस्त रहेको प्राचीन समयमा विभिन्न स्थानका मानिसले त्यहाँको भौगोलिक वातावरण, खाद्यको उपलब्धता र आफ्ना पुर्खाले विकास गरी हस्तान्तरण गरेका सीप, प्रचलन र मान्यतामा आधारित भाषा, (धर्म) संस्कृति, जीवन पद्धति र (राज्य) व्यवस्था अपनाउँदै आए। सबै सभ्यता त्यसभित्रका सदस्यहरूको शक्ति, सामाथ्र्य, आवश्यकता, बाध्यता र दूरदृष्टिको सन्तुलित प्रस्तुतिको रूपमा विकास भए। समयसँगै सन्तुलनमा बदली देखिँदै आयो, सभ्यता परिमार्जन हुँदै आए।
आधुनिक कालमा आइपुग्दा संसारभरका मानव भाषा, सञ्चार र यातायातको साथै अर्थ, राजनीति, अन्तरसमुदाय विवाह, बसाइँसराइँ, धार्मिक–सांस्कृतिक आदानप्रदानबाट पनि जोडिन थाल्यो। तर्कवितर्क, बहस, सहकार्य, व्यापार, लगानी, नाकाबन्दी, युद्ध र युद्धविरामजस्ता आयामद्वारा यी जोडिँदै आए। जोडिँदा वा छुट्टिँदा त्यसले दुवै पक्षमा केही न केही परिवर्तन त ल्याइहाल्छ। बाँदरले त मानिसको सङ्गतमा परेर सुइरो लगाएर बट्टाबाट जुस पिएको देखिएको छ, वनेलु क्षेत्रमा बाघ सडकसडकै हिँडेको देखिएको छ, कुकुर निर्देशित काममा खटेको देखिएको छ, मान्छेले अरूबाट सिक्ने नै भयो। यस्तो प्रक्रिया निरन्तर चल्छ।
मान्छेले सिक्ने र सिकाउने, परिमार्जन गर्ने काम आफ्नो विधाभित्र मात्र गर्ने होइन। यो प्रक्रिया फरक विधाबीच पनि गर्छ किनकि आपसमा असम्वद्ध वा विपरीत देखिने विधाबीच पनि सम्बन्ध हुन्छ। रूप परिवर्तन त पाइलापाइलामा हुन्छ, तर प्रगति प्राप्ति सार परिवर्तनबाट मात्र आउँछ। विज्ञानमा धर्म छ, धर्ममा विज्ञान। इतिहासमा भूगोल छ, भूगोलमा इतिहास। भाषामा गणित छ, गणितमा भाषा। निर्माणमा विनाश छ, विनाशमा निर्माण। मृत्युमा जन्म छ, जन्ममा मृत्यु। शब्दमा दृश्य छ, दृश्यमा शब्द। बोलीमा मौनता छ, मौनतामा आवाज। शक्तिमा पदार्थ छ, पदार्थमा शक्ति। गतिमा स्थिरता छ, स्थिरतामा गति। अध्यात्ममा भौतिकता छ, भौतिकतामा अध्यात्म। जितमा हार छ, हारमा जित। सत्मा असत् र असत्मा सत् छ। अस्तित्वमा अस्तित्वहीनता र अस्तित्वहीनतामा अस्तित्व छ। भविष्यमा भूत र भूतमा भविष्य। मेलमा भेद र भेदमा मेल। क्रान्तिमा प्रतिक्रान्ति र प्रतिक्रान्तिमा क्रान्ति छ। तर, प्रगतिमा परिवर्तन पक्कै छ, परिवर्तनमा प्रगति नहुन पनि सक्छ। हिगेलको द्वन्द्ववाद, क्वान्टम मेकानिक्सको द्वैधता र हाइसनवर्गको अनिश्चितताको सिद्धान्तमात्र होइन, खोज्दै र देख्दै गए अरू धेरै भेटिन सक्छ। कुरो, कुलो र प्रविधि जता लगे पनि जान्छन्। क्षणिक नै सही, उपल्लो स्तरमा डुबेर सोच्दा धेरै द्रष्टाले यस्तो अनुभूति गरेको हुनुपर्छ।
अब अलिकति आजको शीर्षकतिर। यो अंश नेपालीको आकांक्षा ‘तत्कालीन र दीर्घकालीन खुसी हो, सुरक्षा हो, प्रगति हो’ भन्ने मान्यतामा आधारित छ। राज्यहरूको उदय भएपछि मानिसको सम्पूर्ण शक्ति राज्यको हातमा केन्द्रित भएको छ। समुदाय कमजोर भएको छ, पहिले समुदायले निर्देशित गर्ने व्यक्तिगत व्यवहार अहिले सिधै राज्यले निर्देशित गर्न थालेको छ। (धर्म–संस्कृति, भाषा, पुँजी, साहित्य (सञ्चारसहित), प्रविधि सबै या त राज्यको हतियार र मतियार बनेका छन्, या त तिनले राज्यमाथि कब्जा जमाएका छन्। जहाँ राज्य र यी पाँच शक्तिको बीचमा द्वन्द्व हुन्छ, त्यहाँ राज्यको स्थायित्व हुँदैन। जनता यिनै पाँच अवयव आफूखुसी चलाउन राज्य निर्माण गर्छन्, तिनको रक्षा गर्छन्।
यी पाँच अवयवमाथिको पहुँच र यी अवयवले आफ्नो स्वार्थको हितअहित गर्ने आधारमा जनता मिलेर वा विभाजित भएर राज्यको समर्थन वा विरोध गर्छन्। सामान्य समस्याको समाधान विद्यमान राज्यनेतृत्वको बुद्धिमत्ताबाट सजिलै हुन्छ; अलि ठूलो समस्या राज्यनेतृत्वको परिवर्तनबाट हुन्छ। धेरै ठूलो अन्तरविरोधको समाधान राज्यप्रणालीको परिवर्तनबाट हुन्छ; यी सबै परिवर्तनबाट पनि अन्तरविरोध समाधान हुन सकेन भने राज्यको मानचित्रको परिवर्तनसम्म निम्तिन सक्छ। अर्कोतिर बलियोले कमजोर पक्षलाई बलपूर्वक दबाएर पनि समस्या समाधान हुनसक्छ।
शासकहरू सिधा रेखामा हिँड्ने भए मोन्टेस्क्यू, माक्र्स र एंगेल्सको व्याख्याअनुसार मानिसले सुशासन प्राप्त गरिसक्न पथ्र्यो। सन् १७५० मा आफ्नो पुस्तक ‘कानुनको आत्मा’ मा मोन्टेस्क्यूले राज्य कसले गर्छ भन्ने कुराभन्दा पनि कसरी चलाइन्छ भन्ने आधारमा सरकारहरूको तीन समूहमा वर्गीकरण गरेका थिए। सद्गुणमा चल्ने गणतन्त्र, सम्मानमा चल्ने राजतन्त्र र भयमा चल्ने तानाशाही। वर्गीय मुक्तिका लागि माक्र्स र एंगेल्सले सन् १९४८ मा ‘कम्युनिस्ट पार्टीको घोषणा–पत्र’ मा सुझाएको सर्वहारा वर्गको तानाशाहीको परिकल्पनालाई माध्यम बनाई धेरै दल सत्तामा पुगे। पछिल्ला विकास हेर्दा चेलाहरू मोन्टेस्क्यू वा माक्र्सले सोचेभन्दा अर्कै तरिकाले सत्ता चलाउँदै छन्। मोन्टेस्क्यूले भनेझैं जलवायुको राजनीतिक प्रभाव घट्दै गएको त छ, बरु जलवायु परिवर्तनको प्रभावचाहिँ सर्वव्यापी हुने लक्षण देखिँदैछ। ढाँटछलीलाई पनि क्षमतामा गन्दा डार्बिन र माल्थस चाहिँ सदाबहार देखिन्छन्।
होइन, अब नेपाली अलि बुझ्ने भइसकेका छन्। उनीहरू प्रगति चाहन्छन्, अमूर्त परिवर्तनको पछि लाग्दैनन्। थर्काएर भोट र चन्दा माग्ने, परिश्रम नगर्ने, युवाशक्ति खाडीमा तड्पिँदा काठमाडौंमा देशमा रहेका युवाको जुलुस निकाल्ने, अधिकांश नेपालीले रोजीरोटीको समस्या झेल्दा तारे होटलमा अन्तरक्रिया गर्ने, अगुवा र भान्सेले मात्र सयल गर्ने, आमनेपालीले वीर अस्पतालको दर्शन नपाउँदा उपचारका लागि सरकारी ढुकुटीबाट विदेश जाने, आरक्षण सुविधा मुख्यतः आसेपासेलाई बाँड्ने, तहतहका अगुवालाई पाल्न गरिब जनताले कर तिर्ने आदि। यस्तो व्यवस्था जनतालाई चाहिएको छैन। उनीहरू यस्तो बाध्यताबाट मुक्ति चाहन्छन्। नेपालीलाई निरपेक्ष र सापेक्ष इज्जत चाहिएको छ, न्याय चाहिएको छ। प्रगतिको अवसर चाहिएको छ, समानता चाहिएको छ। आफ्नै भाषा र सभ्यताका शब्द जान्न त कठिन भएको बेलामा नेपालीलाई थप शब्दजाल चाहिएको छैन, थप विवाद चाहिएको छैन। थप मालिक चाहिएको छैन, थप गुरु चाहिएको छैन। परिवर्तनका लागि परिवर्तन चाहिएको छैन। उनीहरूलाई तत्कालीन र दीर्घकालीन खुसी, सुरक्षा र चौतर्फी प्रगति चाहिएको छ।