आन्दोलनमा ऐक्यबद्धता जनाउन डा केसी धरानमा
धरान : बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको बेथिति विरुद्धको आन्दोलनमा सहभागिता जनाउन डा. गोविन्द केसी धरान आएका छन्। महिनादिनदेखि प्रतिष्ठान शुद्धीकरण अभियानको आन्दोलन थालेका यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुको आन्दोलनलाई हौसला प्रदान गर्न केसी धरान आएका हुन्।
बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहले आर्थिक अनियमिताा गरेको, प्रतिष्ठानलाई सहि ढंगले संचालन गर्न नसकेको र पदीय आचारण विपरित भ्रष्टाचार गरेको भन्दै यहाँका चिकित्सक, नर्स र कर्मचारीहरुले आन्दोलन थालेका छन्।
प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीहरुको हौसला प्रदान गर्न र प्रतिष्ठान सुधार गर्न सरकारलाई दवाव दिने उद्देश्यले आफू बीपी प्रतिष्ठान आएको डा. केसीले बताएका छन्।
डा. केसीले आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीहरुलाई भेटेर प्रतिष्ठानको अवस्थाका बारेमा जानकारी लिने र २ बजे प्रतिष्ठान सुधारका लागि आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बीपी प्रतिष्ठान शुद्धीकरण अभियान आन्दोलन संर्घष समितका संहसंयोजक डा. विष्णु पोखरेलले बताए। संर्घष समितिले बुधबार आन्दोलनकारीहरुका जायज मागलाई २४ घण्टा भित्र पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।
संघर्ष समितिका संयोजक डा. सूर्यप्रसाद रिमालले सरकारले शुक्रबारसम्म माग पूरा नभए शुक्रबारदेखि आकस्मिक, कोभिड र परीक्षण बाहेकका अन्य कामकाज ठप्प पारेर आन्दोलनलाई सशक्त पार्ने चेतावनी दिएका छन्।