चुलो बलेको खुसी
वर्षात्को समय अनि लगातारको झरी।परवाह नगरी एकाबिहानै चेपाङ अभियन्ता केपी किरण शर्माले फोन गरे, ‘चेपाङ गाउँमा बिचल्ली छ। त्यता जान पाए त्यहाँको समाचार गज्जब हुन्छ।’ शर्माबिनाको चेपाङ गाउँको यात्रा अपुरोजस्तै हुन्छ। डाँडापाखाका सबै गाउँ पुगेका उनलाई चेपाङको पीडा सबै थाहा छ। बच्चादेखिबुढासम्म सबैका बुबा हुन्, ‘केपी बुबा।’ उनलाई लिएर गएपछि चेपाङका कथाव्यथा सबै बुझ्न सकिन्छ। डाठो खोला, पहिरोको होइन, अन्नको गेडो देख्न नपाएका चेपाङको चिन्ता थियो। हामी त्यही गाउँ लाग्यौ।
कोरोनाले जताजतै तहसनहस बनाएको समाचार आइरहँदा जिल्लाको पहाडी भेगमा बसोबास गर्ने चेपाङको व्यथा खोज्नु थियो। पानी निरन्तर परिरहेको हुनाले आफैंलाई पनि आँट आएको थिएन। उनीहरूको पीडा राज्यलाई सुनाउनु थियो। मुसलधारे पानीमा रेनकोट ओढेर गाउँ लाग्यौं। आफू मात्रै जोगिनु थिएन। झोलामा रहेको डायरी अनि क्यामेराकोमाया बढी थियो। क्यामेरा र डायरी बोकेर सहरी कोलाहलबाट टाढा जाँदा जति मन आनन्द हुन्छ। खोलामा चोपलिँदै चिसो हावा भिज्दै खेल्दै हिँड्दा र उकालो लाग्दा ठिकविपरीत। उस्तै परे मान्छे बगाउने कयर खोला। त्यसलाई निकै कष्ट गरेर पार गर्यौं। वेगले आएको पानीमा बगेर आउने ढुंगाले खुट्टामा हानेको थियो। लाग्थ्यो, अब ज्यान रहँदैन। चेपाङको घरको दयनीय अवस्थाको रिपोर्टिङको उद्देश्यले यस्ता भोगाइ बिर्साउँछ।
एक घण्टाको पैदलपछि खोला छोडेर केही माथि लाग्यौं। खोला छोडेर करिब १५ मिनेटको ठाडो उकालो लागेपछि एउटा घर भेटियो, कुनारामकोरहेछ। बाँसले बारेको घरको साँघुरो तलाबाट भर्याङ झदै थिइन्, उनकी श्रीमती। काखमा एकवर्षको छोरा थियो। बच्चाको आङ मुस्किलले छोपिएको थियो। खानपनि पेटभरी नपाएको जस्तो दुब्लो ख्याउटे। त्यो देखेर घरमा आफ्नो तीन वर्षको छोरा सम्झिएँ। अनि आँखाअगाडि कुनारामको एक वर्षको छोरा।सोचें आखिर यो बालक पनि सहरमा जन्मिएको भए अभाव भोग्न पर्दैनथियो होला। महिनौंदेखि अन्न देख्न नपाएको परिवार।कुनारामले घन्टौं लगाएर पकाएको गिट्ठा पखाले। केहीबेरमा श्रीमतीसहित गिट्ठा खाए। त्यो वर्षदिनको बालकको पेट भोको थियो। त्यतिबेलासोचें, मेरो डायरी र कलमले यसको पेट के भरिन्थ्यो र ?नरमाइलो मान्दै फोटो खिचें। उनले बाध्यता सुनाए। डायरीमा टिपोट गरेर फर्किएँ। मानसपटलमा कुनारामको परिवारको कथा झल्किरह्यो।
परोपकारी पत्रकारितामा लाग्न हौसला मिलेको छ। केपी बा र म फेरि गाउँ जाने योजनामा छौं तर चेपाङको भोको पेटको समाचार लेख्न होइन।
कुनारामको दुःख चेपाङको प्रतिनिधिमूलक घटना हो। त्यसो त चेपाङको घरमा वर्षमा ६ महिना अनिकाल हुन्छ। पाखोबारीमा लगाएको मकैले मुस्किलले तीन महिना पुर्याउँछन्। ठूला मान्छेले जेनतेन खान्छन्। बच्चाबच्चीको पेटमा खानेकुरा कमै पर्छ। कुनाराम र उनी श्रीमतीलाई खानको चिन्ता थियो, मलाई सामाचारको। हरेक दिन बिहान समाचार आयो कि आएन भनेर पत्रिका हेरिन्छ। त्यसदिनको बिहान समाचारभन्दा पहिला फोन आयो,चेपाङलाई कसरी सहयोग गर्न सकिन्छ ?त्यसपछि अड्कल गरें, समाचार आएछ।अन्नको अभावमा गिट्ठा खाँदै गरेको कुनारामको परिवारको कारुणिक फोटोसहितको समाचार जेठ २७ गतेको अन्नपूर्ण पोष्टको मुख्य समाचार बनेको रहेछ,‘अन्न छैन ः छाक टार्न गिट्ठा–भ्याकुर।’ त्यसपछि फोन लगातार।
खुसीको सीमा रहेन ममा। समाचारले चौतर्फी चर्चा मात्रै पाएन, राहत र सहयोग आउने कुराले खुसी थिएँ। भोका पेटहरू सम्झिएँ। समाचारको प्रभावले एकपछि अर्को दाताहरू थपिँदै गए।
काठमाडौंमा रहेकोनेपाल हेल्पले प्रतिपरिवार २६ सय बराबरको राहत बाँड्यो। राहत चेपाङ गाउँमा लगेको सबैभन्दा ठूलो प्याकेज थियो त्यो। राहत लिन कुनाराम आए। चामलको बोरा पाउँदा उनी दंग परे। चामल बोकेर बुढाबुढी उकालो लागे। त्यो देखेर मेरो मन खुसी मात्रै थिएन, आफैं अघाएको जस्तो भएको थियो।समाचारको प्रभावले राहतको ओइरो लाग्यो। हेल्प नेपालका कार्यकारी निर्देशक कृष्ण ढकाललेसंस्थामार्फत नौ सय घरघुरीलाई करिब अठार लाख बराबरको राहत सहयोग गरे। योसँगै चेपाङको विकासका लागि नेपाल हेल्पले परियोजना सञ्चालन गर्ने जनाएको छ।
त्यही समाचारको प्रभावले ‘सुमो माया गर्छु’ नामक संस्थाले करिब दुईसय परिवारलाई राहत वितरण गर्यो। संस्थाका प्रोजेक्ट म्यानेजर पेम्पा शेर्पा र एपीवान टेलिभिजनका सिनियर प्रोग्राम प्रोड्युसर फुर्वा शेर्पा आफैं आए। उनीहरूले गरिबको घर बनाइदिने योजना सुनाएका छन्। सौराहाका होटल व्यवसायी शीरलाल परियारले चितवन र मकवानपुरको चेपाङ गाउँ पुगेर करिब १२ लाख बराबरको राहत सहयोग गरे। अन्य संघसंस्थासहित करिब चालीस लाख बराबरको राहत एउटा समाचारका कारण चेपाङ गाउँमा पुग्यो। कोरोनाका कारण सबैतिरको चर्चा भइरहँदा चेपाङको पीडा ओझेलमा थियो। लकडाउनले काम गर्न नपाएपछि आम्दानीको बाटो बन्द भएर गिट्ठा र भ्याकुर खाने बाध्यता थियो। त्यस्ता परिवारमा चर्किएका घाउमा समाचारले मलम लगायो।
एउटा रिपोर्टरले पाउने भनेको खुसी हो। आफूले लेखेको समाचारको प्रभावले चेपाङको घरमा चुलो बलेको छ। परोपकारी पत्रकारितामा लाग्न हौसला मिलेको छ। केपी बा र म फेरि गाउँ जाने योजनामा छौंतर चेपाङको भोको पेटको समाचार लेख्न होइन।