गरिबीमै छन् चेपाङ
गोरखा : सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाले बर्सेनि ठूलो रकम खर्च गरिरहेका छन्। तर, चेपाङ समुदायका समस्या जहाँको त्यहीँ छन्। जीवनस्तर सुध्रिएको छैन। अझै पनि उनीहरू पाखा, पखेरोमा खनीखोस्री गरेर जीवन गुजारिरहेका छन्। गोरखाको गण्डकी गाउँपालिका–७ छतिवनगैराका ८१ वर्षीय सन्तबहादुर चेपाङ आफूहरूको भाग्यमै गरिब हुन लेखेको तर्क गर्छन्। धनी हुने कुरा मान्छेको हातमा नहुने उनको बुझाइ छ।
सन्तबहादुर भन्छन्, ‘चेपाङको छोरोलाई भगवान्को घरदेखि नै गरिब बनाएर पठाएको हो। उस जुनीमा महादेवले धोक्रोभरि खरानी भरेर पठाएको हो रे चेपाङलाई। त्यही भएर हामी कसै गरे पनि धनी हुन नसकेको।’ आफ्नो समुदायमा धान उब्जिने खेत नभएको र पखेरो बारीमा राम्रो उत्पादन नहुँदा जीवनस्तर सुधार नभएको उनको बुझाइ छ।
सन्तबहादुर मात्रै होइन उनको समुदायका अधिकांशको आफ्नै बारीको अन्नले तीन महिनाभन्दा बढी खान पुग्दैन। ऐलानी पखेरो धेरै भए पनि उब्जनी राम्रो हुँदैन। सधैं बेसाहाकै भर पर्नुपर्ने र बेसाउन नसक्नेले गिठा, भ्याकुर खाने गरेका सन्तबहादुरले बताए। मादक पदार्थमा धेरै रमाउने र कमाइ सञ्चित नगर्दा आफ्नो समुदायको जीवनस्तर सुधार नभएको क्षेत्रीखोलाका लालबहादुर चेपाङ बताउँछन्।
भन्छन्, ‘दिनभरि कमाउँछौँ, साँझ परेपछि रमाउँछौँ। कसरी उँभो लाग्ने ? अल्छी त होइन हामी। हामीले जति दुःख कल्ले गर्छ र ?’ रक्सी खाएर पैसा खर्च गर्ने विगतदेखिको प्रवृत्ति सुधार नभएको उनले बताए। चेपाङ समुदायमा बालविवाह गर्ने, धेरै सन्तान जन्माउने र लेखपढ नगर्ने जस्ता समस्या छन्।
स्थानीय सावित्री चेपाङ भन्छिन्, ‘१५ वर्ष पुगेपछि बिहे गर्ने तरखर गर्छन्। अनि बच्चा जन्माउन थाल्छन्। स्कुल पढ्ने बेलामा सबै जना यस्तै भएपछि यहाँको अवस्था सुध्रिँदैन।’ कलिलै उमेरमा पढाइ छाडेर घर व्यवहारको बोझ थपिँदा आफ्नो समुदायको स्तर सुधार नभएको उनले बताइन्।
अशिक्षा, बालविवाह, बहुविवाह, धेरै सन्तान जन्माउने परम्पराले चेपाङ समुदायको जीवनस्तर सधैं अभावमा रहेको चेपाङ संघ गोरखाका अध्यक्ष भीमलाल चेपाङ बताउँछन्। पढ्न पनि नसक्ने, घर छोड्न पनि नसक्ने र कमाउन टाढा नजाने भएकाले धेरैको आर्थिकस्तर कमजोर रहेको उनले बताए।
भीमलालका अनुसार केहीले मुग्लिन, मनकामनालगायत आसपासका होटल र राजमार्गमा दैनिक ज्यालादारीमा काम गर्छन्। गोरखाका साविकका घ्याल्चोक, भुम्लिचोक, ताङ्लिचोक, ताक्लुङ र मकैसिङ गाविसमा चेपाङ समुदायको बसोबास छ। गोरखाका करिब आठ सय घरधुरीमा तीन हजार पाँच सय ४२ जना चेपाङको बसोबास रहेको भीमलालले जानकारी दिए।
चेपाङ समुदायको जीवनस्तर उकास्न सरकारको जनता आवास कार्यक्रम छ। इको नेपाल, फेस नेपाल, चेस नेपाल, पद्धति विकास सेवा केन्द्र, एकीकरण नेपाललगायतका गैरसरकारी संस्थाले विगतमा काम गरे पनि अहिले ती संस्था क्रियाशील छैनन्।
प्रतिक्रिया दिनुहोस !