पुर्ख्यौली पेसा त्यागेर सेरामिक्सतिर

पुर्ख्यौली पेसा त्यागेर सेरामिक्सतिर

गोरखा : सिरानचोक गाउँपालिका–४ स्थित चोरकाटे कुमाल बाहुल्य भएको गाउँ हो। यहाँ करिब ३ सय ८० घरधुरी कुमाल समुदायको बसोबास छ। दरौंदी नदीको किनार आसपास बसोबास गर्ने उनीहरूको ३० वर्षअघिसम्म माटोका गाग्रा, हाँडी, भुँड्का, हुक्का, चिलिम, गमलाजस्ता भाँडाहरू बनाएर बेच्ने मुख्य पेसा थियो। उनीहरू त्यही आम्दानीले परिवार पाल्थे भने कोही माछा बेचेर पनि गुजारा चलाउँथे। ठुल्ठूला टार र फाँट भएकाले कतिपय कुमाल समुदाय खेती किसानीमा पनि उत्तिकै तल्लीन हुन्थे।

तर, एउटा समय यस्तो आयो, उनीहरूलाई भाँडा बनाएर जीविका चलाउने पुर्ख्यौली पेसाप्रति घृणा जाग्यो। ‘कुमाललाई राज्यले पहिचान पनि गर्दैनथ्यो र कुमालको नागरिकता देखाएर जागिर पनि पाइँदैनथ्यो,’ स्थानीय भेषबहादुर कुमाल भन्छन्, ‘हामीलाई माटे भनेर हेप्थे। त्यसैले कसैले थर फेर्न थाले भने धेरैले पेसा नै बदले। वैदेशिक रोजगारीको ढोका खुलेपछि कोही विदेश हानिए, कोही खेतबारीकै काममा रमाउन थाले। माटोको काम सबैले त्यागे। नयाँ पुस्ताले त पुर्ख्यौली पेसा कस्तो हुन्छ भन्ने देख्न पनि पाएनन्।’

अहिले त्यही समुदायमा फेरि एउटा नयाँ पुनर्जागरण आएको छ। उनीहरू आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिप्रति गर्व गर्न थालेका छन्। ‘माटोको काम त हाम्रो वास्तविक पहिचान हो, यसलाई हामीले बिर्सनु हुँदैन,’ अर्का स्थानीय चन्द्रबहादुर कुमाल भन्छन्, ‘अब हामीले म कुमाल हुँ भन्दा गर्व गर्नुपर्छ र माटोको भाँडा बनाउने हाम्रो पुर्ख्यौली पेसामा फर्कनुपर्छ।’

अहिले प्लास्टिकका भाँडाले माटो, वायु र पानी प्रदूषण गरिरहेकाले मानिसहरूको रुचि माटोको भाँडाप्रति बढ्न थालेको कुमाल समुदायको बुझाइ छ। त्यसैले उनीहरूले अहिले फेरि माटोको भाँडा बनाएर जीविका चलाउने पुर्ख्यौली पेसातर्फ फर्कने सामूहिक पहल सुरु गरेका छन्। ‘अहिले समय बदलिएको छ। बुझ्ने मान्छेहरू बजारका तयारी खानाभन्दा गाउँघरको अर्गानिक खाना रुचाउँछन्। बजारका सोकेसमा सजाएका प्लास्टिकका भाँडाभन्दा काठका र माटोका भाँडा रोज्न थालेका छन्,’ स्थानीय ज्ञानबहादुर कुमाल भन्छन्, ‘त्यसैले हामीले गाउँमा पटकपटक भेला र छलफल गर्‍यौँ र अब माटोकै भाँडा बनाउने निधो गर्‍यौं। बरु पुरानो तौरतरिकामा अलिकति सुधार गरेर सेरामिक्स बनाउने निर्णयमा पुग्यौँ।’

आफूहरूको यो पहलमा स्थानीय सरकारले पनि राम्रो साथ दिएको उनले बताए। अहिले उनीहरूले ‘चोरकाटे सेरामिक्स समूह’ गठन गरेका छन्। सो समूहले गाउँको सामुदायिक भवनमा सेरामिक्सका भाँडाहरू बनाउन थालेको छ। ‘समूह दर्ता गरेर हामीले गाउँपालिकामा पनि सहयोग माग्यौं,’ स्थानीय इन्दिरा कुमाल भन्छिन्, ‘गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेर मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम ल्याई हामीलाई सहयोग गरेको छ।’

सो कार्यक्रमअन्तर्गत भक्तपुरका दक्ष कालिगड ल्याएर यहाँका कुमाल समुदायलाई सेरामिक्स प्रविधिको भाँडाकुँडा बनाउन सिकाइएको छ। यहाँका २६ जना कुमाल समुदायका व्यक्तिलाई विभिन्न १४ प्रकारका सेरामिक्सका भाँडाकुँडा बनाउने तालिम दिइएको छ। ‘हामीले पाला, सुप बल, सिलिन्डर, प्लेट, कप, एस्ट्रे, भास, सुराही, कफी मग, टी पट, पानी जग र डिनर प्लेटजस्ता सामग्री बनाउन सिकेका छौं,’ स्थानीय पुनम कुमालले भनिन्, ‘कतिपय परम्परागत ढाँचाका भाँडाकुँडा पनि बनाएका छौं भने नयाँ चलनचल्तीमा आएका आधुनिक सेरामिक्सका सामग्री पनि तयार गरेका छौं।’ गाउँपालिकाले माटोका भाँडा बनाउने विभिन्न आधुनिक उपकरणहरू पनि उपलब्ध गराएको उनले जानकारी दिइन्।

आफ्नो पहिचानसँग जोडिएको पेसा भएकाले यसलाई निरन्तरता दिने स्थानीय टोपबहादुर कुमाल बताउँछन्। अहिले बनाइएका भाँडाहरू गाउँ आसपास र गोरखा बजारमा धमाधम बिक्री भइरहेका छन्। ‘एक दुई वटा मेला महोत्सवमा प्रदर्शन गरेपछि माग पूरा गर्न पनि हामीलाई धौ धौ भएको छ’, उनी भन्छन्, ‘उत्पादन त हामी गर्छौं तर यी सामग्री टुटफुट हुने प्रकृतिका भएकाले बजारसम्म सुरक्षित पुर्‍याउन अलि कठिनाइ हुने रहेछ।’

विभिन्न कारणले पछाडि परेका कुमाल समुदायको माग सम्बोधन गर्दै उनीहरूको पुर्ख्यौली पेसालाई प्रवद्र्धन गर्न आफूहरू सधैं तत्पर रहेको गाउँपालिकाका प्रमुख ज्ञानेन्द्र गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.