बीपी प्रतिष्ठानको आन्दोलन : आकस्मिकबाहेकका सेवा दुई घण्टा ठप्प
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन्। ३२ औं दिनदेखि आन्दोलनमा उत्रिएका उनीहरुले आफ्ना जायज मागलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै आकस्मिक बाहेकका सेवा बन्द गरेका हुन्।
बीपी प्रतिष्ठान सुद्धिकरण अभियान संर्घष समितिले शुक्रबार ८ देखि १० बजेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको आन्दोलनको नेतृत्वकर्ता डा. विष्णु पोखरेलले बताए। उनले बिरामीको अवस्थालाई मध्यनजर गर्दै सांकेतिक रुपमा दुई घण्टा सेवा ठप्प पारिएको बताए। उनले अझै पनि प्रतिष्ठान सुधार गर्न सरकारले चासो नदेखाए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्।
आन्दोलनरत चिकित्सक कर्मचारी र स्वास्थ्यकर्मीहरुले प्रतिष्ठानको आकस्मिक सेवा, कोभिड उपचार र परीक्षा संचालनबाहेकका सबै सेवा ठप्प पारिएको अर्का आन्दोलनकर्ता डा. सुर्यप्रसाद रिमालले जानकारी दिए। आकस्मिक वाहेकका सेवा ठप्प पारे पश्चात प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरु मुसलधारे पानीमा दुई घण्टा अलपत्र परेका थिए।
आन्दोलनकारीहरुले प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, प्रतिष्ठानका वर्तमान पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने, प्रतिष्ठानमा भएका भ्रष्ट्राचार र आर्थिक अनियमितताको तत्काल फाष्ट ट्रयाकबाट छानविन गरी दोषिलाई कार्वाहि गर्नुपर्ने माग अगाडि सारिएको छ।
त्यस्तै पदाधिकारी नियुक्ति गर्दा विज्ञ समूहले सिफारिस गरेका व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने, चिकित्सक कर्मचारीहरुलाई सहज निर्वाद रुपमा कामगर्ने वातावरण सिर्जना गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन अगाडि बढाइएको बसन्त गेलालले बताए।
यता प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीहरुलाई दोस्रो पटक वार्तामा बोलाएका छन्। गिरीले वार्तामा बोलाएको भएपनि नैतिकता गुमाएका वर्तमान पदाधिकारीहरुसँग कुनै पनि छलफल र संवाद नगर्ने आन्दोलनकारीहरुले अडान राखेका छन्। प्रतिष्ठानको जुनियर रेसिडेण्ड वेल्फेय सासार्यटीका उपाध्यक्ष डा. पदम नेपालीले सरकारले गठन गरेको उच्च स्तरिय टोलीसँग मात्र वार्तामा बस्ने बताएका छन्। प्रतिष्ठानमा भएको आन्दोलनलाई धरानका नौ राजनैतिक दल, धरान नागरिक दवाब संचालन, डा. गोविन्द्र केसी र धरानका जनप्रतिनिधिहरुले समेत ऐक्यबद्धता जनाएका छन्।