धरानमा बन्ने भयो स्मार्ट बसपार्क
धरान : लामो समयदेखि विवादमा रहेको धरानको नयाँ बसपार्कको निर्माण कार्य सुरु हुने भएको छ। जग्गादाताहरूको विरोध र बजेट अभावमा रोकिएको धरानको नयाँ बसपार्क निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको छ।
धरान उपमहानगरपालिका—८ को तीनकुनेस्थित सुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो। प्रदेश १ कै धेरै यातायाताका साधन सञ्चालन हुने धरानमा स्मार्ट बसपार्क निर्माण हुने भएसँगै यातायातका साधन सञ्चालनमा सहज हुने भएको छ। धरान उपमहानगरपालिकाले स्मार्ट बसपार्क निर्माणका लागि ठेकेदार कम्पनीसँग निर्माण सम्झौता गरेको छ। उपमहानगरपालिकाले ठेकेदार कम्पनी गिताञ्जली जेभीका सञ्चालक सपन दाससँग निर्माण सम्झौता गरिएको मेयर तिलक राईले बताए। उनले स्मार्ट बसपार्क निर्माणको लागत २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ रहेको जानकारी दिए। मेयर राईले बसपार्क निर्माण सम्झौताअनुसार तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन्। स्मार्ट बसपार्कमा ठूला सवारी र साना सवारीको स्टेसनसमेत अलगअलग निर्माण गरिने भएको छ।
३० कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको बसपार्कको निर्माण सम्पन्न तीन वर्षभित्रमा हुने इन्जिनियर सुरज श्रेष्ठले बताए। उनका अनुसार ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउनेछ। बसपार्क निर्माणका लागि ५० प्रतिशत सरकारको अनुदान (तीन वर्षभित्रमा प्राप्त हुन्छ) र ५० प्रतिशत रकम धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्ने इन्जिनियर श्रेष्ठले बताए। ठेकेदार सपन दासले तोकिएकै समयमा नमुना बसपार्कको निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई जिम्मा लगाउने प्रतिबद्धता जनाए।
धरानको भानुचोकमा रहेको बसपार्क अत्यन्तै साँघुरो भएका कारण दैनिक यातायातका साधन सञ्चालनमा समस्या हुँदै आएको छ। बीच बजारमा बसपार्क रहेका कारण दैनिक सवारी दुर्घटना हुने र पैदल यात्रुलाई समेत आवातजावतमा समस्या हुँदै आएको छ। नेपाल यातायात स्वतन्त्र मजदुर संघठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँले धरानमा नयाँ बसपार्क निर्माण हुने भएसँगै यातायातका साधन सञ्चालनमा सहज हुने बताए। तीनकुनेमा नयाँ बसपार्क निर्माण सम्पन्न भएपश्चात भानुचोकको बसपार्कलाई स्थानान्तरण हुनेछ।