बीपी प्रतिष्ठानको समस्या समाधान गर्न समिति गठन
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आर्थिक अनियमितता लगायतका विषयको छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिष्ठानको वर्तमान समस्या समाधान गर्नका लागि आठ सदस्य उच्चस्तरीय समिति गठन गरेका हुन्।
बीपी प्रतिष्ठानमा भएको आर्थिक अनियमितता, पदाधिकारीको काम कारवाही र हाल भइरहेको आन्दोलन लगायतका विषयमा छानबिन गर्न प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा आठ सदस्य समिति गठन गरेका हुन्।
समितिको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव शंकर नेपाललाई तोकिएको छ। छानविन समितिको अन्य सदस्यमा स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव स्तरका एकएक जना प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालयका सहमाहालेखा नियन्त्रण र बीपी प्रतिष्ठानका एकजना सिनेट सदस्य रहनेगरी आठ सदस्य छानविन समिति गठन भएको सदस्य सचिव नेपालले जानकारी दिएका छन्।
सदस्य सचिव नेपालले तत्काल छानबिन समितिको बैठक बसेर बीपी प्रतिष्ठानमा भएका सबै काम कामकारवाहीको अनुगमन, अनुसन्धान गरी १५ दिन भित्रमा प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताएका छन्।
समितिको बैठक काठमाडौंमा बसेर केही दिन भित्रमा टोली धरान आउने बताइएको छ। समितिले प्रतिष्ठानमा भएका औषधि उपकरण खरिद, भौतिक संरचना निर्माण, पदाधिकारीको काम कारवाही र आन्दोलनरत पक्षलाई समेत भेटेर यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिनेछ। समितिका अध्यक्ष डा. अर्यालले केही दिन भित्रमै प्रतिष्ठान आएर प्रधानमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने बताए।
प्रतिष्ठानका चिकित्सक र कर्मचारीले ३२ औं दिनदेखि विभिन्न माग राखेर आन्दोलनलाई जारी राखेका छन्। उनीहरुले प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, पदीय जिम्मेवारी पुरा गर्न नसक्ने प्रतिष्ठानका वर्तमान पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने, प्रतिष्ठानमा भएका सबैखाले आर्थिक अनियमितताको तत्काल फाष्ट ट्रयाकबाट छानविन गरेर दोषीलाई कार्वाही गर्नुपर्ने माग अगाडि सारिएको छ।
त्यस्तै पदाधिकारी नियुक्ति गर्दा विज्ञ समूहले सिफारिस गरेका व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने, चिकित्सक कर्मचारीलाई निर्वाद रुपमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने लगायतका माग राखेर आन्दोलन सुरु गरिएको आन्दोलनको नेतृत्वकर्ता डा. विष्णु पोखरेलले बताए।
यता प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलनकारीलाई दोस्रो पटक वार्तामा बोलाएका छन्। गिरीले वार्तामा बोलाएको भए पनी नैतिकता गुमाएका वर्तमान पदाधिकारीसँग कुनै पनि छलफल र संवाद नगर्ने डा. सूर्यप्रसाद रिमालले बताए।
प्रतिष्ठानका चिकित्सक र कर्मचारीको आन्दोलनलाई धरानका एमाले, कांग्रेस, जसपा लगायत नौ राजनीतिक दल, धरान नागरिक दबाब संचालन, डा. गोविन्द्र केसी र धरानका जनप्रतिनिधिहरुले समेत ऐक्यबद्धता जनाएका छन्।
आन्दोलनकारीले शुक्रवार बिहान ८ देखि १० बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गराएका थिए।