हतियारसहित दाजुभाइ पक्राउ
धरान : सुनसरीको कोसी गाउँपालिकाबाट हतियारसहित दुई दाजुभाइलाई पक्राउ परेका छन् । शनिबार कोसी गाउँपालिका -५ स्थित कुम्याहीबाट कटुवा पेस्तोलसहित ४८ वर्षीय विध्यानन्द यादव र ४६ वर्षीय चन्द्रदेव यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए।
सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई झगडा गर्दै गरेको अवस्थामा हतियार सहित पक्राउ गरेको हो । पौडेलले दाजुभाइले घरनजिकैको आँपको रुखमुनि लुकाई राखेको एकथान कटुवा पेस्तोल र एकथान गोली बरामत गरिएको बताए। दुई दाजुभाइ हतियारले एकअर्कालाई उडाइदिने भन्दै झगडा गरिरहेको सूचनाका आधारमा तत्काल सशस्त्र प्रहरी घटनास्थल पुगेर उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक पौडेलले बताए। घटनास्थल नेपाल भारत सीमा क्षेत्र नजिकै पर्दछ । खुल्ला सीमानाका कारण यस क्षेत्रका अपराधिक मानसिकता बोकेका व्यक्तिहरुले भारतबाट अबैध हतियार खरिद गरेर ल्याएर चन्दा आतंक, हत्या, अपहरण जस्ता अपराधिक घटना घटाउँदै आएका छन् ।
सशस्त्र प्रहरीले पक्राउ परेका दाजुभाइलाई आवश्यक कार्वाहिका लागि बरामत हतियारसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । दुई दाजुभाइको झडपमा तत्काल सशस्त्र प्रहरी घटनास्थल आए पश्चात कुनै अप्रिय घटना हुन नपाएको स्थानीयले बताए।