गोपीको ‘सपना’ कुल्चेर ओलम्पिक यात्रा

गोपीको ‘सपना’ कुल्चेर ओलम्पिक यात्रा

काठमाडौं : शुक्रबारदेखि सुरु हुने विश्व खेलकुदको महाकुम्भ मानिने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। नेपालबाट पौडीकी गौरिका सिंह र एलेक्जेन्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन्। पाँच खेलाडी, चार प्रशिक्षक र २१ जना अफिसियलसहित २९ जनाले म्याराथन धावक गोपीचन्द्र पार्कीको ‘सपनाको लास’लाई कुल्चेर जापानको सयर गर्नेछन्। 

हरेक खेलाडीको अन्तिम सपना ओलम्पिकमा सहभागिता जनाउनु हो। गोपीको पनि ओलम्पिकमा सहभागी हुने र ‘ओलम्पियन’ बन्ने ठूलो इच्छा र सपना थियो। तर, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघको अकर्मन्यताका कारण गोपीले टोकियो ओलम्पिकमा सहभागी भएर ‘ओलम्पियन’ बन्न पाएनन्। उनको सपनामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघ मलामी बन्यो, ‘ओलम्पियन’ बन्ने उनको धोको अधुरै रह्यो।

जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा ३३ खेलमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

ओलम्पिकमा सहभागीबिना कुनै पनि खेलाडी अपुरो र अधुरो हुने ओलम्पियन संगीना बैद्य बताउँछिन्। ‘ओलम्पिक विश्व खेलकुदको महाकुम्भ हो। त्यसैले एक पटक ओलम्पिक खेल्न पाए हुन्थ्यो भन्ने सपना हुन्छ’, छनोट चरण पार गरेर सन् २००४ को एथेन्स ओलम्पिकमा सहभागी भएकी बैद्य भन्छिन्, ‘एउटा खेलाडी भएपछि ओलम्पिकसम्मको यात्रा गर्छु भन्ने सपनाले नै उसलाई अगाडि बढाउँछ।’ उनले गोपीमाथि ठूलो घात भएको भन्दै उनको पीडामा मल्हम लगाउने काम कसैबाट नभएको देख्दा दुःख लागेको बताइन्। ‘गोपीमाथि ठूलो घात र षड्यन्त्र भएको छ। उनको पीडामा मल्हम लगाउने काम पनि कोहीबाट भएको छैन, संगीना भन्छिन्, ‘तर, उनी निरासा हुनुहुँदैन। हरेस खानु हुँदैन। अन्य थुप्रै प्रतियोगिताका साथै अर्को ओलम्पिकको तयारीमा लाग्नुपर्छ।’ 

सदस्यसचिवको नेतृत्वमा जम्बो टोली
अहिले विश्वको परिवेश भिन्न छ। दुई वर्ष अघिबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण सिंगो विश्व त्रासमा छ। ओलम्पिक खेलकुदको आयोजक राष्ट्र जापान पनि कोरोना कहरले थिलोथिलो बनेको छ। कोरोना कहरकै कारण गत वर्ष नै हुनुपर्ने प्रतियोगिता एक वर्ष पर धकेलिएको थियो। त्यसैले ओलम्पिकमा सहभागीहरूलाई निकै कडाइ गरिएको छ। क्वारेन्टाइनमा बस्नेदेखि अन्य थुप्रै प्रावधान कडा गरिएको छ। अहिलेको विषम् परिस्थितिमा मेडिकल वा मनोवैज्ञानिक जनशक्ति थप्नुको सट्टा राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीका पदाधिकारीले भने जापान जान मरिहत्ते गरेका छन्। टोकियो ओलम्पिकमा सेफ द मिसनका रूपमा नेपाली टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गर्नेछन्। परिषद्बाट बोर्ड सदस्य सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठले पनि जापानको सयर गर्दै छन्। 

यसैगरी ओलम्पिक कमिटीबाट अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, सहमहासचिव पीताम्बर तिम्सिना, सचिव तुलसा थापा र सदस्य प्रकाशशमशेर राणा एवं राम अवाले पनि जापान जाने छन्। यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, मेडिकलतर्फ डा.नविसमासिंह प्रधान, नेपाली दूतावासका कर्मचारी प्रेम बराल र स्वयंमसेवक रूपेश डंगोलले पनि टोकियो ओलम्पिकमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन्। ओलम्पिक कमिटी स्रोतका अनुसार चार सञ्चारकर्मी पनि टोकियो ओलम्पिकमा सहभागी हुँदै छन्।

ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले भने व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन्। गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिवसमेत रहेका गुरुङले आर्थिक वर्षको सुरुमै विदेश जाँदा प्रदेशको विकास निर्माणका काम प्रभावित हुने भएपछि नाम फिर्ता लिएको बताए। ‘अहिले प्रदेशमा खेलकुदका धेरै काम भइरहेका छन्। भर्खरै आर्थिक वर्ष पनि सुरु भएकाले म नहुँदा काम प्रभावित हुने भएपछि जापान नजाने निर्णय गरेको हुँ’, गुरुङले भने। नेपाल एथलेटिक्स संघको व्यवस्थापकका रुपमा जापान जान लागेका राखेप उपाध्यक्ष शिव कोइरालाले भने नजाने घोषणा गरेका छन्। तेक्वान्दो युनियनको अध्यक्षसमेत रहेका उनी एथलेटिक्स खेलाडी गोपीमाथि भएको षड्यन्त्रका विषयमा केही नबोली ओलम्पिक कमिटी अध्यक्ष जीवनराम र सदस्यसचिव रमेशकुमार सिलवाललाई सहयोग गरेकै आधारमा जम्बो टोलीमा परे पनि ओलम्पिक सहभागिता विषयमा विवाद बढेपछि उनले हात झिकेका हुन्। 

विदेशकालाई अवसर, स्वदेशमा रहेकालाई उपेक्षा
ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना अहिले अमेरिकामा छन्। राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षबाट हटेलगत्तै अमेरिका हानिएका उनी उतै व्यवसाय गरेर बसेका छन्। तर, टोकियो ओलम्पिकमा जापान जाने टोलीमा उनको पनि नाम छ। ओलम्पिक कमिटीको निर्वाचनमा जीवनराम श्रेष्ठलाई सहयोग गरेकै आधारमा उनले जापान सयरको अवसर पाएका हुन्। होइन भने मुलुक नै छाडेर विदेशमा व्यवसाय गर्दै आएका व्यक्तिलाई जापान सयरमा लैजानुको अर्को कारण देखिँदैन। 

पीताम्बरले नेपाल एथलेटिक्स संघबाट ओलम्पिकमा प्रतिनिधित्व गरेका थिए। एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीमाथि  घात हुँदा चुक्कसम्म नबोलेका पीताम्बर कुन मुखले जापान पुग्लान् भन्ने प्रश्न पनि उनीसामु उठेको छ। 

एउटा खेलको पदाधिकारी, अर्को खेलमा जिम्मेवारी 
अझ रोचक कुरा त टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेका पौडी, एथलेटिक्स, सुटिङ र जुडो संघका कोही पनि पदाधिकारी भने जापान जाने टोलीमा परेका छैनन्। उनीहरूको स्थानमा ओलम्पिक कमिटीका पदाधिकारी व्यवस्थापकका रुपमा जापान जाँदै छन्। सामान्य प्राविधिक ज्ञानसमेत नभएका पदाधिकारी अन्य खेलको जिम्मेवारी लिएर ओलम्पिक यात्रा गर्दै छन्। ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ सुटिङको व्यवस्थापकका रुपमा टोकियो ओलम्पिकमा सहभागी हुनेछन्। पीताम्बरलाई भने एथलेटिक्सको व्यवस्थापकको जिम्मेवारी दिइएको छ। संघीय सांसदसमेत रहेकी कबड्डी संघकी अध्यक्ष तुलसा थापा र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा जुडोको व्यवस्थापक बनेर टोकियोको सयर गर्दै छन्। बामदेव गौतम पत्नी तुलसा राजनीतिक शक्तिको प्रयोग गर्दै खेलकुदमा छिरेकी हुन्। कबड्डीका अध्यक्ष लालकुमार लामालाई जरबजस्ती हटाएर संघ कब्जा गरेका उनी ओलम्पिक कमिटीको सचिव हुन्। उनलाई जीवनरामले शक्ति सन्तुलनका लागि प्रयोग गर्दै आएका छन्। 

नेपाल बक्सिङ संघका अध्यक्षसमेत रहेका ओलम्पिक कमिटीका सदस्य राम अवालेले पौडीको व्यवस्थापकको भूमिका निर्वाह गर्ने छन्। आफ्नै खेलाडी मीनु गुरुङलाई वाइल्ड कार्ड दिलाउन कुनै भूमिका खेल्न नसकेका उनी अर्को खेलको व्यवस्थापक बनेर जापान जान लागेका हुन्। मन्त्रालयका सचिव केदार न्यौपाने ओलम्पिक अट्याचीका रुपमा जापान जाँदै छन्। ओलम्पिकलगायतका ठूला इभेन्टमा अट्याचीले धेरै भूमिका निभाउनु पर्ने हुन्छ। टोकियो ओलम्पिकमा सचिव न्यौपानेले कस्तो भूमिका निभाउने छन्, त्यो अबका केही दिनमा देखिने नै छ। यसैगरी राखेप सदस्य सुवाष र सम्पन्न ओलम्पिक कमिटीको प्रशासन सदस्यको भूमिकामा टोकियो जाने छन्। प्रशासन सदस्य भनेको ओलम्पिक कमिटीको सामान्य कर्मचारी सरह हो। आफूलाई राखेपको शक्तिशाली बोर्ड सदस्य मान्ने सुवाष र सम्पन्नको विदेश मोहका अगाडि पद र हैसियत केही होइन भन्ने पनि पुष्टि गरेको छ। नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक छान्ने संघहरूको अधिकार काटेर ओलम्पिक कमिटीले आफ्नो मान्छेलाई विदेश सयर गराइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.