अर्थमन्त्री पौडेललाई ४८ घण्टासम्म आइसीयुमै राखेर उपचार गरिने

अर्थमन्त्री पौडेललाई ४८ घण्टासम्म आइसीयुमै राखेर उपचार गरिने
सुन्नुहोस्

काठमाडौं : उडाउन लागेको बेलुन फुटेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका प्रमुख धनराज आचार्यलाई ४८ घण्टासम्म कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार गरिने भएको छ।

अर्थमन्त्री  पौडेलको घाँटी र दुबै हातको हत्केलाको माथिल्लो भागमा जलन भएको छ। कम्तीमा पनि ४८ घण्टा सघन उपचार कक्ष (आइसीयु)मा राखेर उपचार गरिने अस्पतालले जनाएको छ। उपचार टोलीका सदस्य डा. विशाल कार्कीले अर्थमन्त्री पौडेल र मेयर आचार्यले धुँवा निलेको र जलनको (घाउको) सम्भावित जटिलतालाई ध्यान दिई दुई दिनसम्म आइसीयुमै राखेर उपचार गरिने जानकारी दिए।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्केको आगोको झिल्कोले टिपेपछि शनिबार ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन पड्किएपछि उत्पन्न धुँवा अर्थमन्त्री पौडेल र मेयर आचार्यले निलेका कारण फोक्सोमा असर पर्नसक्ने भएकाले चिकित्सकहरूले उच्च निगरानीमा उपचार गर्नुपरेको बताएका छन्। अहिले दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य छ। 

अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मिका अनुसार प्रारम्भिक मूल्यांकन गर्दा मन्त्री पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन छ। डा. नकर्मीले भने, ‘अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’ घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ। तर, जलन भएको घाउको जटिलताप्रति चिकित्सकीय टोलीले सजगता अपनाएको जनाइएको छ।
 
उपचार टोलीका सदस्य डा. कार्कीका अनुसार मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ। मन्त्री पौडेलको ५ देखि ६ प्रतिशत र मेयर आचार्यको ३ देखि ४ प्रतिशत जलन भएको छ। ‘सुरुको अवस्थामा जलनको घाउ त्यस्तो जटिल देखिएको  छैन,’ डा. कार्कीले भने, ‘अहिले ड्रेसिङ र औषधि दिएर उपचार गरेका छौं। तीन/चार दिनभित्र घाउ कसरी परिवर्तन हुन्छ। त्यसपछि उपचार प्रक्रियामा पनि परिवर्तन आउन सक्छ।’

पोखरा भ्रमण वर्ष,२०२५ को अवसरमा आयोजित उद्‍घाटन कार्यक्रममा रिमोर्टबाट दीप प्रज्वलन गरिएको थियो। त्यसपछि बेलुन उडाउन लाग्दा आगोको झिल्कोले छोएको थियो। हातमा लिएर उडाउने क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन्। घटनालगत्तै सिम्रिक एयरबाट काठमाडौं ल्याई कीर्तिपुर अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। काठमाडौं ल्याइनुअघि गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।

उपचारमा सघन उपचार कक्षका प्राडा. बिडी झा, डा. प्रविण गिरीलगायतका चिकित्सक संलग्न छन्। त्यस्तै प्राडा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञको टोली संलग्न रहेको अस्पतालले जनाएको छ। आकस्मिक उपचारमा डा. प्रयुस अर्याललगायतका चिकित्सक छन्। त्यस्तै रिना गौचन, निर्मला कुँवर, तृष्ण महर्जन लगायतको नर्सिङ टोली संलग्न रहेको छ।

सुरक्षामा हेलचेक्र्याई
उपप्रधान एवं अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका नेताहरूले सुरक्षामा हेलचेक्र्याइ भएको बताएका छन्। गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल लगायतका मन्त्री र नेताहरू अस्पताल पुगेका थिए। गृहमन्त्री लेखकले कसरी यस खालको दुर्घटना भयो भन्नेबारेमा अध्ययन गरिने बताए। उनले भने, ‘आइन्दा यस खालका घटना कुनै पनि ठाउँमा नदाहोरिने गरी व्यवस्था गरिने छ।’ आयोजक  पोखरा महानगरपालिको प्राविधिक त्रुटि हुन गएको जनाएको छ। 

प्रधानमन्त्री ओलीलाई थियो प्रमुख अतिथिमा निम्तो
पोखराको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी ओलीलाई निम्ता दिइएको थियो। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओली जान नसक्ने भएपछि उपप्रधानमन्त्री पौडेल गएको उल्लेख गरेका छन्। उनले लेखेका छन, ‘आज पोखराको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीलाई भनिएकोमा प्रम जाननसक्ने भएपछि उपप्रधानमन्त्री जानुभएको भन्ने बुझियो। यति गम्भीर कार्यक्रमको तयारीमा जुन तहको सावधानी अपनाउन पर्ने हो त्यसमा केही कमी भएको हो कि?’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.