निर्देशनमा जमेका युगल

निर्देशनमा जमेका युगल

हङकङ : आफूले रोजेको पेसामा बगेको पसिनाको मूल्य नै अचम्मको हुन्छ। युगल पोमो लिम्बूले आफूलाई निर्देशकीय क्षमतामा अब्बल बनाए। लिम्बूले चर्चित कलाकारहरू केकी अधिकारी, पल शाह, पुष्प खड्का, सञ्जिता लुइँटेललगायत दर्जनौं कलाकारहरूलाई आफ्नो सिर्जनात्मक फ्रेममा अभिनय गराइसकेका छन्।

च्यानल नेपालबाट भिजेका रूपमा करियर सुरु गरेका लिम्बूले सयौं भिडियो निर्देशन गरेर आफूलाई अब्बल निर्देशकका रूपमा स्थापित गरेका छन्। धेरैले उनलाई आलोक नेम्बाङजस्तै फिल्मी शैलीको भिडियो निर्देशनका निर्देशकका रूपमा प्रशंसा गर्छन्। 

नेपालमा व्यस्त रहदैताका व्यावहारिक कारण हङकङ आएका लिम्बू प्रवासमा रहँदा पनि आफ्नो सौख र निर्देशकीय क्षमतालाई प्रयोग गरिरहेका छन्। विदेशका लोभलाग्दा दृश्य र लुकेका प्रतिभाहरूलाई भिडियोमार्फत निरन्तर प्रस्तुत गरिरहेका छन्। काम गर्नुपर्ने बाध्यताबीच आफ्नो सिर्जनात्मक क्षमतालाई कम हुन दिएका छैनन्। 

‘१२ घण्टा काम गरेर पनि आफ्नो रोजाइको सिर्जना गर्दा कहिल्यै तनाव महसुस भएन’, उनी भन्छन्, ‘इन्टरनेटको तीव्र विकाससँगै विश्वलाई स्मार्ट फोनमा हेरिरहेका नयाँ पुस्ताहरूलाई नेपाली गीतको भिडियोले तान्न सक्ने बनाउनु नै हाम्रो पुस्ताको चुनौती हो।’

हङकङ आएको करिब दुई वर्षको अवधिमा उनले दुई दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन्। ‘हङकङमा त्यो अलौकिक दृश्यहरूको भण्डारण छ। जसको आधा पनि प्रयोग गर्न सकेका छैनौं। गीतको प्रेमिल भाव, संवेग र प्राकृतिक छटा सबै यहाँको दृश्यमा अटाउन सकिन्छ’, उनी भन्छन्, ‘प्रचुर आधुनिकता होस् कि अद्भुत प्राकृतिक आवरण या समुद्रको मौनता सवै प्रकारको दृश्य यहाँ उपलब्ध छ।’ 

गगनचुम्बी भवन, मानिसहरूको भीड र समुद्रको दृश्यले गीतको भावलाई अझ बुझाउनका लागि थप बल प्रदान गरेको उनी बताउँछन्। ‘हङकङमा समयको महŒव अधिक छ। तर, साथीभाइको सहयोग र प्रेरणाले दुई वर्षदेखि एक हप्ताको समय अवधिमा हामी भिडियो सक्छौ। कामसँगै बचेको समय भिडियो निर्माणमा लागेका छौं। आशा छ हाम्रो कामलाई दर्शकले राम्रै मूल्यांकन गरिरहनु हुनेछ’, उनी भन्छन्। 

फराकिलो फाँट, प्राकृतिक वनजंगल, परम्परागत मौलिक घर, हिमाली भेगलगायतका दृश्य नेपालको विशेषता हो। हङकङमा रहेका प्राकृतिक डाँडा, साना तलाउ र पुराना बस्तीहरूलाई नेपालीपन दिने प्रयास गछौं। नेपाली संगीतको भावलाई यी विदेशी दृश्यमा समायोजन गरी नेपालीपन दिनु पनि भिडियो निर्माणको रमाइलो पक्ष रहेको उनले बताए। ‘नेपालमा हामीले व्यावसायिक ढंगले काम गथ्र्यौं तर, हङकङमा निर्देशन मात्र होइन, मेकअप, कोरियोग्राफी सबै काम गर्नु परेको छ।  वास्तवमा भिडियोमा बिहान एकपल्ट गरेको मेकअपले दिनभरि धान्न सक्दैन। पात्र, चरित्र र शब्दको भावभंगीमा आधारित मेकअप र दृश्य समायोजनले मात्र भिडियो उत्कृष्ट बन्न सक्छ’, उनी भन्छन्। 

भिडियो निर्देशनबाट खारिएका युगलले पहिलोपटक चलचित्र ‘नेचर गाई’को निर्देशन गरेका थिए। हङकङका नेपालीहरूको कथा र दृश्यलाई कुनै दिन ठूलो पर्दामा देखाउने रहर छ रहेको उनी बताउँछन्। ‘सबैको साथ र प्रेरणा पाएको छु। आशा छ क्रियसनको दुनियाँमा हङकङ र नेपाललाई जोड्ने कलाको यावत् कामहरू समयक्रमसँगै गर्ने नै छु’, उनी भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.