म्याग्दीको काभ्रे गाउँमा सडक खन्न अवरोध
जोमसोम: म्याग्दीको अन्नपूर्ण-३ काभ्रे गाउँमुनिको स्थानमा सडक खन्न अवरोध भएको छ । बर्खायामको अविरल वर्षाका कारण आएको बाढी/पहिरो र नदी कटानले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको काभ्रे गाउँमुनि करिव १०/१५ मिटर सडक भासिएको र करिडोरले सडक ट्याक खोल्ने क्रममा जग्गा बिवाद भएको हो ।
निर्माणधीन सडक स्तरोन्नति गर्ने क्रममा यसअघि पटक/पटक वर्षाले सो स्थानमा सडक डाइभर्सन भासिने गरेको छ । राष्ट्रिय गौरवको सुरुआति चरणको बेनी-जोमसोम सडकखण्डको काभ्रे गाउँमुनि स्थानीय जग्गाधनी खड्ग खत्रीको २२ रोपनी जग्गामध्ये करिव आधा जग्गा सडक मापलदण्डमा परेको बताइएको छ । तर, वर्षाले सो स्थानको सडक संरचना नै भासिएपछि अहिले सडक आउजाउ समेत बन्द भएको छ ।
सडक भासिएको स्थानबाट ग्याबिन वाल उठाएर सडक ट्याक खुलाउन तत्काल सम्भव नभएको र यथाअवस्थामा वाल उठाएर ट्याक खोल्दा राष्ट्रिय गौरवको सडक दीर्घकालिन नहुने करिडोर तथा ईप्रका दानाको भनाइ छ।
सडक ट्याक खोल्न स्थानीय जग्गाधनी खत्रीको करिव १५ मिटर जग्गा फेरि तानिने अवस्था सृजना भएकाले खत्री परिवारले सो जग्गाबाट ट्याक खोल्न अवरोध गरेको ईलाका प्रहरी कार्यालय दानाका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताए ।
उनले यसअघि पनि सडक भासिँदा ग्याबिन वाल उठाएर सडक सूचारु गर्ने गरिएको भए पनि केही दिनअघिको वर्षाले सडक पूरै बेस बगाएको र जीप समेत क्रस हुन नसक्ने बताए । करिडोर र ईलाका प्रहरी कार्यालय दानाले जग्गाधनी खत्रीको जग्गाबाट सडक लैजान पहल गरे पनि खत्री परिवारको अवरोधले केही दिनदेखि सडक खुलाउने काम रोकिएको प्रहरी निरीक्षक थापाले बताए ।
यता, जग्गाधनी खत्रीले राष्ट्रिय गौरवको बेनी/जोमसोम सडकले आफ्नो जग्गा सबै ध्वस्त बनाएको आरोप लगाए । करिडोर सडकमा मजदुरको काम गर्दै आएका जग्गाधनी खत्रीले आफ्नो आधाजसो सडकले मासेको उल्लेख गरे । यसअघि सडक निर्माणका क्रममा आफ्नो धेरै जग्गा सडक मापदण्डले आगेटेकोमा आफुले कुनै विरोध नजनाएको बताउँदै उनले पटक पटक सडक डाइभर्सन बगाउने गर्दा आफ्नो जग्गा मिचिने क्रम बढेको बताए ।
करिडोरले सो स्थानमा भरपर्दो तवरले वाल उठाएर सडक लैजान पर्ने जग्गाधनी खत्रीले सुझाए । यथाअवस्थामा जग्गा मिचेर सडक विस्तार गर्न खोजे कुनै हालतमा सडक खन्न नदिने जग्गाधनी खत्रीले बताए । जग्गाधनी खत्रीले भने,“सडक मुनिबाट पक्की रिटेरिङ वाल उठाएर सडक विस्तार गर्ने विकल्प छ । मेरो जग्गा पटक पटक तानेर सडक लैजाने अवस्था आएमा उचित क्षतिपूर्ति दिनुपर्छ" उनले आफ्नो जग्गा मासेर सडक ट्याक खोल्दा करिव १०-१५ घर जोखिममा पर्ने खुलाए ।
बेनी-जोमसोम सडकको काभ्रे गाउँमा सडक बिवादको विषयलाई लिएर ईलाका प्रहरी कार्यालय दानाले समस्या सुल्झाउन पहल थालेको छ । ईप्रका दानाका प्रहरी निरीक्षक सूर्य थापाले बिहीबार म्याग्दीका सिडिओ, सुरक्षाकर्मी, अन्नपूर्ण गापाका जनप्रतिनिधि, आयोजना, सडक निर्माण कम्पनी र जग्गाधनी खत्री परिवार लगायतको रोहबरमा काभ्रेभीरमा समस्या समाधानका लागि वार्ताको तयारी भइरहेको जानकारी दिए ।