मुस्ताङका कैदीबन्दीहरुको गुनासो: भत्किएको जीर्ण भवनमा सुत्‍नै सकिएन

मुस्ताङका कैदीबन्दीहरुको गुनासो: भत्किएको जीर्ण भवनमा सुत्‍नै सकिएन

जोमसोम: मुस्ताङको जोमसोम कारागार भवन भत्किएपछि त्यहाँ बस्ने थुनुवा कैदीबन्दीहरुले गुनासो गर्न थालेका छन् ।

बुधबार एक तले ९ कोठा भएको जीर्ण कारागार भवन अचानक भत्किएपछि बन्दीहरुले नयाँ बसोबासका लागि प्रबन्ध मिलाउन प्रशासन समक्ष माग गरेका छन् ।

२०२७ सालअघि निर्माण भएको उक्त कारागार भवन ५० वर्ष पुरानो भइसकेको छ । तत्कालिन सहायक अञ्चालाधिश बस्ने ढुङ्गा र माटोले बनेको सो कारागार भवनको ३ कोठा पूरै भत्किएको छ भने अन्य भाग समेत चर्किएर क्षत विक्षत भएका छन् ।

भवन भत्किए पनि कारागारका कैदीबन्दीलाई अन्य सुरक्षित स्थानमा स्थान्तरण गरिएको छैन । उनीहरु अहिले पनि भत्किएकै जीर्ण भवनमै सुत्न र बस्न बाध्य छन् । यसअघि भत्किएको जीर्ण कारागार भवनको दुई कोठामा कैदीबन्दी, ६ कोठामा सुरक्षाकर्मी र एक कोठामा जेलर बस्ने गर्थे । भवन भत्किएपछि त्यहाँ बस्ने सुरक्षाकर्मीलाई आपतकालीन अर्को भवनमा स्थान्तरण गरिएको छ भने कैदीबन्दीलाई राख्ने अर्को वैकल्पिक भवन नहुँदा व्यवस्थापनमा समस्या परेको छ ।

भत्किएको जीर्ण मुस्ताङ कारागार भवनमा कैदीबन्दी निस्सासिएरै बस्न बाध्य छन्। त्यसो त उनीहरुलाई कारागारले सुरक्षाकर्मी स्थान्तरण गरिएको स्थानमा राख्न खोजे पनि कैदीबन्दीले त्यहाँ झनै निस्सासिएरै बस्नुपर्ने जनाउँदै बस्न मानेका छैनन् । उनीहरु बरु जोखिम नै मोलेर भए पनि सोही जीर्ण भवनमा बस्न चाहेको कारागार प्रमुख भुवन केशीले जानकारी दिए । दश जनाको क्षमता भएको कारागारको साँघुरो २ कोठामा उनीहरुलाई राखिएको छ । कारागार मापदण्ड अनुसार पूर्वाधार नहुँदा कैदीबन्दीको न्युनतम मानवअधिकार समेत रक्षा नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

यता स्थानीय प्रशासन तथा कारागार कार्यालयले सुरक्षा संवेदनशीलता र कैदीबन्दीको ज्यान सुरक्षित राख्ने दुबै चुनौती थपिएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार भत्किएको भवनको लागत स्टमेट तयार गरी तत्काल पूननिर्माण गर्न कारागार व्यवस्थापन विभागमा पत्रचार गरेको जनाएको छ । भवन भत्किएपछि बन्दी सुरक्षाका लागि बन्दी स्थान्तरण गर्न विभागसँग सहमती भइसकेको प्रशासनको भनाइ छ ।

मुद्दा फैसला भएका कैदी-बन्दीलाई अन्य जिल्लामा स्थान्तरण गर्ने र फैसला नभएका बन्दीलाई जिल्लामै राख्ने तयारी भएको जनाइएको छ । यस्तै, भवनको पून निर्माणले मात्र  दीर्घकालीन समस्या समाधान नहुने भएकाले विभागसँग मुस्ताङ कारागारलाई मापदण्ड अनुसारको नयाँ भौतिक संरचना निर्माण गर्न माग गरिएको छ । स्थानीय स्तरमा कारागार भवन यथाशिघ्र चाँडो स्थायी पक्की संरचना निर्माणको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् ।

मुस्ताङ कारागारको केही कोठा भत्किए पनि उक्त भवन पूर्ण जोखिम रहेको छ । भवनको भित्री र बाहिरी भाग समेत पूरै चर्किएर क्षत विक्षत भएकाले बन्दी सुत्ने कोठा कुनै पनि बेला भत्किन सक्ने जोखिम छ । यसअघि पटक पटक स्थानीय प्रशासनले कारागारको विद्यमान अवस्थाको जानकारी गराए पनि विभागले चासो दिएको पाइएको छैन ।

विभागको वेवास्ताका कारण मुस्ताङ कारागारका बन्दीले पाउने न्युनम प्राप्त गर्ने मानवअधिकारका शर्तहरु पूरा हुन नसकेको हो । कारागारका बन्दी भन्छन्, “हामी यहाँ २ वटा साँघुरो कोठामा निस्सासिएरै बस्न बाध्य छौँ । कारागार कारगार जस्तो छैन ।" उनीहरुले २४ सै घण्टा साँघुरो कोठामा बस्नु परेको र कहिल्यै घामको मुहार समेत देख्न नपाएको बताए "कारागारको सबै कोठा चर्किएकाले कतिखेर के हुने थाहा छैन, राति सुत्दा समेत निर्धक्क सुत्न पाइँदैन । भवन जीर्ण छ, राति निद्रा लाग्दैन," बन्दीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.