अवैध ढंगबाट चीन छिर्नखोज्दा पक्राउ परेका तिब्बतीलाई शरणार्थी क्याम्पको जिम्मा
जोमसोम: अवैध ढंगबाट चीन प्रवेश गर्न खोज्ने क्रममा पक्राउ परेका तिब्बती नागरिकलाई प्रहरीले स्थानीय तिब्बती शरणार्थी शिविरको जिम्मा लगाइएको छ ।
मुस्ताङको उत्तरी कोरलानाकाको ३१ नम्बर सीमाक्षेत्रबाट बिहीबार पक्राउ परेका तिब्बती न्वाङ चोएयुनलाई घरपझोङ-१ छैरो तीब्बती शरणार्थी क्याम्पस्थित तिब्बती क्याम्पका मुखिया छिरिङ वाङ्डुको जिम्मा लगाइएको छ ।
४८ वर्षीय न्वाङ चोएयुनलाई क्याम्पका नोर्बु फिन्छोक सहित नेपाल मानव अधिकार संगठन मुस्ताङ, पत्रकार महासंघ मुस्ताङको रोहवरमा क्याम्पको जिम्मा लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चोएयुनलाई क्याम्पका मुखिया वाङ्डुले सोमबार पोखरास्थित तिब्बती शरणार्थी क्याम्पमा लगेर बुझाउनेछन् ।
तिब्बत घर भइ झन्डै २३ वर्षदेखि भारतको कर्नाटक बस्दैआएका ४८ वर्षीय न्वाङ चोएयुनलाई अवैध ढंगले मुस्ताङको लोमान्थाङ-२ सियावाल भञ्जाङस्थित नेपाल-चीन सिमानामा रहेको ३१ नब्बर पिल्लरबाट तिब्बत छिर्ने क्रममा कोरलानाकामा खटिएका चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेपछि उनलाई नेपाललाई जिम्मा लगाइदिएका हुन् । चोएयुन केही महिनाअघि मात्र भारतबाट काठमाडौँ आएका थिए । काठमाडौँबाट उनी एक्लै मुस्ताङ हुँदै तिब्बत पस्ने तयारी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। नेपालको जिम्मा लगाएपछि उनको साथबाट बरामद गरिएका सामान चिनियाँ सुरक्षाकर्मीले फिर्ता गरिदिएको छ । उनी एक साताअघि मात्र जोमसोमबाट गाडी चढेर उपल्लो मुस्ताङ पुगेका थिए ।