पुल चढ्न भर्‍याङ

पुल चढ्न भर्‍याङ

मकवानपुर : अस्थायी सडक बाढीले बगाएपछि यात्रुहरू निर्माणाधीन पुलमा भर्‍याङ हालेर बागमती खोला वारपार गर्न बाध्य छन्। मकवानपुरको बागमती र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका जोड्ने उक्त पुलसम्म पुग्ने अस्थायी सडक एक महिनाअघिको बाढीले बगाएको थियो। 

लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयले यो वर्खामा सहजै यात्रा गर्न पाउने आशा गरेका थिए। तर, यो वर्ष झनै कष्ट व्यहोर्नुपरेको हेटौंडा–९ का ध्रुव अधिकारीले बताए। 

ध्रुव र बागमती–२ का शेरबहादुर पहरी हेटौंडाबाट मदन भण्डारी लोकमार्ग हुँदै सिन्धुली जान हिँडेका थिए। तर, बागमती पुलको जोखिमपूर्ण यात्रा गर्न नसकेपछि उनीहरू हेटौंडा नै फर्किए। ‘बागमती पुलसम्म गाडीमा गयौं, त्यसपछि पुल तरेर मोटरसाइकलमा जाने तयारी थियो। पुल नै चढ्न नसकेपछि हामी हेटौंडा फर्कियौं,’ अधिकारीले भने। 

ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ती गर्दा यस्तो समस्या आएको बागमती गाउँपालिका–४ का वडाध्यक्ष हररमान थिङले बताए। ‘ठेकेदारले गिटी बालुवा थुपारेर हिँड्न मिल्ने बाटो बनाएको थियो। तर, वर्षात्को सुरुआतसँगै त्यो पनि बाढीले लग्यो,’ उनले भने, ‘त्यसयता बागमती र हरिहरपुरगढीवासीसँगै मदन भण्डारी लोकमार्गबाट यात्रा गर्नेहरू दैनिक सास्ती पाइरहेका छन्।’ वडा र पालिकाको पहलमा पुलबाट यात्रा सहज बनाउन व्यवस्थित भर्‍याङ राख्ने तयारी भइरहेको उनले बताए। 

निर्माण कम्पनी स्वच्छन्द भैरवका प्रतिनिधि इन्जिनियर अन्जन बिँडारीले पुलसम्म पुग्न बनाइएको अस्थायी सडक भत्काएपछि विकल्पका रूपमा भर्‍याङ प्रयोग गर्नुपरेको बताए। ‘त्यही भर्‍याङ पनि दुई पटक चोरी भयो। बाढी आइरहन्छ वर्षात् नसकेसम्म पुलसम्म पुग्नै स्थायी एप्रोच सडक बनाउन सकिन्न,’ उनले भने।  

पटकपटक म्याद थप्दा पनि बनेन पुल 
दुई वर्षअघि आएको बाढीले पुलको दुईवटा बीम बगाएको थियो। सम्झौता अवधि सकिएको पाँच वर्र्ष बित्दा पनि अझै पुलको निर्माण सकिएको छैन। काम नभएपछि ठेकेदार कम्पनी स्वच्छन्द भैरवलाई १० प्रतिशत हर्जना तिराएको मदन भण्डारी लोकमार्ग सडक आयोजना हेटौंडाका सूचना अधिकारी निरञ्जन थापाले बताए। पुलको जडान, रेलिङ, पुलसम्म पुग्ने सडक र तटबन्धको काम बाँकी रहेको थापाले बताए। 

२०६८ असार २९ गते ५ वर्षभित्र पुल निर्माण गर्ने गरी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो। उक्त अवधिमा पुल निर्माण हुन नसकेपछि २०७५ असोजसम्म म्याद थप गरिएको थियो। त्यसपछि पुनः सडक विभागले २०७७ जेठसम्म म्याद थप्यो  सो अवधिमा नसकेपछि पुनः २०७८ साउन १८ गतेसम्मको म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ। 

मकवानपुर सदरमुकाम हेटौंडाबाट करिब ६० किलोमिटरको दूरीमा अवस्थित उक्त पुल ३ सय ७८ मिटर लामो छ। ठेक्का लिएपछि निर्माण कम्पनी स्वच्छन्द भैरवले क्यानन गौतम जेभीलाई पेटी ठेक्कामा दिएको थियो। तर, ७ वर्षको बीचमा १२ वटा पिलर हालेर पेटी ठेकेदार बेपत्ता भएपछि फेरि स्वच्छन्द भैरव आफैंले दुई वर्षदेखि निर्माण गरिरहेको छ। ‘कोरोनाले काम प्रभावित भयो, असार लगत्तै बाढी आएपछि काम गर्न थप समस्या भयो,’ निर्माण कम्पनीका प्रतिनिधि इन्जिनियर बिँडारीले भने, ‘६ महिनाभित्र हामी पुल हस्तान्तरण गरिसक्छौं।’ 

२३ करोड ५३ लाख रुपैयाँमा सम्झौता भएकोमा आयोजनाले निर्माण कम्पनीलाई हालसम्म १९ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ। पुल बन्न थालेपछि खुसी भएका स्थानीय अधुरो पुल हेरेर एक दशकदेखि वर्खामा ट्युब चढेर बागमती खोला वारपार गर्न बाध्य छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.