एकजना चिकित्सकको भरमा जिल्ला अस्पताल
जोमसोम : भौगोलिक रुपले विकट हिमाली जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो समय सेवामैत्री बनेको छ । संघीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताल सेवा मैत्री बन्न थालेको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङ जिल्ला अस्पतालका लागि आवश्यक श्रोत साधन जुटाएपछि अस्पतालको सेवा प्रवाह फराकिलो बनेको हो । अस्पतालको सेवा फराकिलो बनेपनि पछिल्लो समय मुस्ताङ अस्पतालमा चिकित्सक अभाव छ । अहिले एकजना आठौ तहको निमित्त मेसु चिकित्सकले पुरै अस्पतालको भार थेग्न बाध्य भएका छन् ।
मुस्ताङ जिल्ला अस्पतालमा नवौं तहको १ जना र आठौ तहको १ जना चिकित्सकसहित १८ जनाको दरबन्दी छ । यसअघि नेपाल सरकारले खटाएका ४ जना करारका अस्थायी चिकित्सकको समेत कार्य अवधि सकिएसँगै मुस्ताङ अस्पताललाई चिकित्सकको अभाव खट्किएको हो। यसका अलावा अस्पतालमा २ जना अनमी र २ जना अहेबसहित अन्य स्वास्थ्यकर्मी मात्रै छन् ।
मुस्ताङ अस्पतालले करारका चिकित्सकको सम्झौता कार्यअवधि सकिएको र तत्कालै चिकित्सक खटाइदिन स्वास्थ्य सेवा विभाग तथा प्रदेश सरकारलाई पटक/पटक पत्राचार गरेपनि संघ तथा प्रदेशले चासो नदिएको अस्पतालको भनाइ छ ।अस्पतालका लागि चाहिने आवश्यक चिकित्सक जनशक्ति पदपूर्ती नहुँदा अस्पतालका निमित्त मेसु आफैले २४ सै घण्टा बिरामीको सेवा दिनुपर्ने अवस्था आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरेले जानकारी दिए ।
सीमित स्वास्थ्य श्रोतसाधनका कारण सेवा प्रभाव साँघुरो बनेको मुस्ताङ जिल्ला अस्पतालका लागि गण्डकी प्रदेश सरकारले श्रोत साधन उपलब्ध गराउन थालेसँगै सेवा प्रभावमा क्रमशः सुधार हुन थालेको निमित्त मेसु घिमिरेको भनाइ छ ।
प्रदेशले ५ लाख मुल्यको २ थान रगत जाँच गर्ने ल्याब उपकरण अस्पतालाई पठाएको उनले जनाए। उपकरण उपलब्ध भएसँगै शरिरको चिल्लो पदार्थ र मृगौला जाचमा सहज हुन थालेको उनले बताए ।
यस्तै प्रदेशको आपूर्ति केन्द्रबाट सुगर जाच गर्ने अर्को उपकरण समेत पठाएको छ । प्रदेश सरकार सरकारले ल्याब ३ थान ल्याब उपकरण पठाएको र अस्पताललाई अझै थाईराईट र हर्मोन जाच गर्ने मेडिकल उपकरण खाचो रहेको ल्याब टेक्निसियन गोबिन्द्रबहादुर महतोले जानकारी दिए । उनका अनुसार प्रदेशबाट ल्याब उपकरण उपलब्ध भएसँगै विभिन्न रोगको रगत परीक्षणमा सघाउ पुगेको उनले बताए ।
हिमाली जिल्ला मुस्ताङ अस्पतालका लागि प्रदेश सरकारले बिरामीलाई राख्ने सुविधायुक्त १० थान बेड उपलब्ध गराएको अस्पतालले जनाएको छ ।यस्तै ,प्रदेशले मुटुको गति नाप्ने ९ लाख मुल्यको थप २ थान मेडिकल उपकरण पठाएको छ । प्रदेश सरकारकै सहयोगमा ५५ लाख लागतको अक्सिजन प्लान्ट अस्पतालमा जडान भइसकेको छ ।तर, प्लान्ट जडान भएपनि अक्सिजन भर्ने बुस्टर उपलब्ध हुन सकेको छैन । अस्पताले बुस्टर खरिदकार्य अघि बढेको जनाएको छ । प्रदेशकै सहयोगमा अस्पतालको १६ वटै बेडमा पाईप लाइनमार्फत अक्सिजन सर्कुलर गरिएको छ ।अक्सिजन लाइन तथा व्यवस्थापन खर्चबापत प्रदेशले ८ लाख ९९ हजार पठाएको थियो ।
मुस्ताङ जिल्ला अस्पताललाई २५ शैयामा रुपान्तरण गर्ने गरी गण्डकी प्रदेश सरकारले १२ करोड लागतमा भवन पूर्वाधार निर्माण थालेको छ ।यस्तै,भौगोलिकरुपले विकट मुस्ताङमा अस्पताल स्थापना कालदेखिनै शल्यक्रियाको सुविधा छैन ।
यो सुविधा नहुदा जिल्लाका बिरामीहरु अन्य अस्पतालमा लैजानु पर्ने बाध्यता छ । अस्पतालले स्थानीय तहसंग सम्झौता गरी शल्यक्रियाको सुविधा दिने पहल थालेको छ । जिल्लामै शल्यक्रियाको सुविधा दिने उद्देश्यका साथ नवौं तहको चिकित्सकका साथै आवश्यक श्रोत साधन जुटाउन मुस्ताङका स्थानीय तह सहमत भएका छन् । यसका लागि मुस्ताङका स्थानीय तहले मासिक २० हजार अस्पताललाई दिने सहमती गरेका छन् । शल्यक्रियाका अतिरिक्त उपकरण,भौतिक संरचना र जनशक्तिलगायतको व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै,जिल्ला अस्पताल मुस्ताङले गण्डकी प्रदेशको एकद्धार संकट व्यवस्थापनकेन्द्रको समन्वयमा लैङ्गिक हिंसामा परेका व्यक्तिलाई निशुल्क खाने,बस्ने र उपचारको व्यवस्था गरेको छ । अहिले अस्पतालले सामान्य अप्रेसन,ल्याब परीक्षण ,नसर्ने रोगको निशुल्क उपचार,जनरल भिडियो एक्सरे ,आमा सुरक्षा कार्यक्रमलगायतका सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । अस्पतालले चालु वर्षदेखि स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरि जुनसुकै सरकारी अस्पतालमा ५० हजार बराबरको नि:शुल्क स्वास्थ्य लाभ लिनसक्ने व्यवस्था मिलाएको छ ।