मुस्ताङ: सिंगो स्कुलमा शिक्षक र विद्यार्थीको कुल संख्या ४
जोमसोम: मुस्ताङको थासाङ गाउँपालिकामा १२ वटा सरकारी सामुदायिक विद्यालय छन् । जसमध्ये थासाङ गापा-४ पैरोथाप्लामा अवस्थित विद्याज्योती आधारभूत विद्यालयमा विद्यार्थीको कुल संख्या दुई छ ।
यस विद्यालयमा अहिले शिक्षकको संख्या पनि जम्मा दुई । आधारभूत तहको कक्षा १ देखि ५ सम्म कायम रहेको यस विद्यायलको कक्षा ४ र ५ गत वर्ष नै पालिकाभित्रै अन्य विद्यालयमा समायोजन गरिएको थियो । वालविकास केन्द्रसहित कक्षा १ देखि ३ को पढाइ सञ्चालन भइरहेको यस विद्यालयको अवस्था दयनीय छ ।
विद्यालयको कक्षा १ देखि ३ का कोठाहरु हाल विद्यार्थी नहुँदा पूरै खाली छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकदेखि कालिगण्डकी नदी पारी दक्षिण—पूर्वमा रहेको सो विद्यालयले पछिल्लो समय विद्यार्थी पाउनै सकेको छैन । आधारभूत तहमा एक कक्षा बराबर एक शिक्षक दरबन्दी कायम हुने भए पनि सो विद्यालयमा एक जना मात्रै स्थायी शिक्षक हाजिर छन् ।
वालविकास केन्द्रमा भने पालिकाले नै करारमा खटाएको एक जना शिक्षिका नियुक्ति गरिएको छ । विद्यालयको आधारभूत तहमा ३ शिक्षक चाहिने भए पनि दरबन्दी मिलानपछि पुलमा परेका दुई शिक्षक सरुवा भएर अन्यत्र गइसकेका छन् । थासाङमा नयाँ शैक्षिक सत्रको पठन/पाठन सुरु गरिए पनि विद्यार्थी विद्यालयमा नहुँदा सो विद्यालयका एकजना शिक्षकले दैनिक विद्यालय कुरेर बस्नु पर्ने बाध्यता आइपरेको हो ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा सञ्चालित विद्याज्योती आधारभूत विद्यालय २०४५ सालमा स्थापना भएको थियो । सो विद्यालयको नजिकै म्याग्दीको अन्नपूर्ण गापा—३ कोप्चेपानीमा अर्को एक आधारभूत विद्यालय छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र नजिकै रहेका यी दुई विद्यालयमध्ये विद्याज्योतीमा विद्यार्थी भर्ना हुन छोडेको पाइएको छ ।
विद्यालयमा विद्यार्थी नहुँदा पालिकाको अन्य विद्यालयमा समायोजन गर्ने मनस्थितीमा त्यहाँका स्थानीय छैनन् । विद्यालयका प्रधानाध्यापक तुलप्रसाद गौचनले गत वर्ष नै ४ र ५ कक्षा अन्य विद्यालयमा समायोजन भएको बताए । उनले विद्यालयमा आवासीय सुविधा नहुँदा विद्यार्थी भर्ना हुन छोडेको वास्तविकता उल्लेख गरे ।
“तत्काल विद्यार्थी भर्ना भएका छैनन्, एकजना आउने कुरो छ, विद्यार्थी जुटाउने प्रयास गरिरहेका छौँ," उनले भने," विद्यार्थी नहुँदैमा विद्यालय समायोजन गर्ने कुरा आउँदैन, अहिले नभएर के भो र पछि त आउलान् नी ।" उनका अनुसार विद्याज्योती आविका गत वर्ष ४ जना विद्यार्थी पढ्ने गर्थे । प्रधानाध्याक गौचनले शैक्षिक गुणस्तरका कारण नभई भौगोलिक विकटताका कारण विद्यार्थी भर्ना अप्ठ्यारो परेको उनले बताए ।
मुस्ताङका साविक ५४ सामुदायिक विद्यालयमा १८ भन्दा बढी जिल्लाका विद्यार्थी पढ्ने गरेको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ । मुस्ताङ जिल्लामा आएर ज्यालामजदुरी गर्ने तथा घरखेत अधिया कमाइ गरेर बसेका जिल्ला बाहिरका अभिभावकका बालवालिका पढ्ने गरेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।
मुस्ताङका स्कुल जिल्ला बाहिरका विद्यार्थीले धानिएको तथ्याङ्कमा उल्लेख छ । स्थानीयले स्कुल स्थापना तथा स्कुल संरक्षण गर्न खोजे पनि उनीहरुले पोखरा-काठमाडौँमा लगेर आफ्ना बालबालिका पढाउने गर्दा जिल्लाका स्कुलमा स्थानीय विद्यार्थीको संख्या न्युन भएको हो ।
मुस्ताङका विद्यालय निरीक्षण तथा अनुगमन गर्ने हो भने कुल विद्यार्थी संख्याको अनुपातमा २० प्रतिशत पनि स्थानीय विद्यार्थी पाइँदैन । त्यसमाथि स्थानीय दलित समुदायका विद्यार्थी १५ प्रतिशत छन् भने ५ प्रतिशत मात्र जनजातिका विद्यार्थी पढ्छन् । तर जोमसोमको निजी विद्यालयमा भने ८० प्रतिशत विद्यार्थी स्थानीय छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक दरबन्दी पूनर्वितरण तथा व्यवस्थापन गरेपछि मुस्ताङका विद्यालय क्रमशः समायोजन हुन थालेका छन् । शिक्षक पूनर्वितरण तथा समायोजनसँगै उपल्लो मुस्ताङको लोमान्थाङ गापाले ८ वटा सामुदायिक विद्यालयलाई समायोज गरी तीन वटा स्कुल कायम गरेको छ ।
यस्तै, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापाले पनि गापा अन्तर्गत १९ वटा सरकारी विद्यालयलाई समायोजन गरी चार वटा विद्यालयको रुपमा कायम गरेको छ । जिल्लाको घरपझोङ र थासाङमा पनि आधारभूत तहको कक्षा घटाएर कक्षा समायोजन गरेका छन् । दरबन्दी मिलानपछि शिक्षकको संख्या कम हुँदै गएपछि मुस्ताङमा विद्यालय तथा कक्षा समायोजन गर्न थालिएको हो ।
हिमाली जिल्ला मुस्ताङमा पुलमा परेका आधारभूत कक्षा १ देखि ५ तर्फ १ सय २३ जना,आधारभूत तह ६ देखि ८ कक्षातर्फ १८ जना र माध्यमिक विद्यालयतर्फ ८ जना शिक्षक कटौती हुनेछ । जसमध्ये विद्यार्थी संख्याको आधारमा उपल्लो कक्षामा शिक्षक समायोजन गरिएको छ ।