नागको जन्मदिन र विज्ञान

नागको जन्मदिन र विज्ञान

श्रावण महिनाको शुक्लपक्षको पञ्चमी तिथिलाई नागको जन्मदिन पनि मानिन्छ। नागको जन्मदिन अर्थात् नागपञ्चमीलाई हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले समान रूपले मान्छन्। यस दिन घरघर नागको राम्रो चित्र बनाई वा बनेकै चित्र ल्याई विधिपूर्वक ढोकामा टाँस्ने धार्मिक परम्परा छ। पहिला–पहिला भोजपत्रमा नागको चित्र बनाई गुरु पुरोहितद्धारा यजमानको घरमा गाईको गोबरले टाँसिदिने र पुरोहितले आशिर्वाद दिने चलन थियो। तर पछिल्ला दिनमा यो धार्मिक मौलिकता हराउँदै जाने त होइन भन्ने आशंका पैदा हुने गरेको छ। हिन्दू संस्कृतिमा नागको चित्रलाई घरको मूलढोकामा टाँसी विधिपूर्वक सेतो कमलको फूल, दूध, गोबर, भेटी, दही, चन्दन, दुबो, बेलपत्र, लाभा, कुश, सिन्दुर, श्रीखण्ड, चन्दन अक्षता र धूपदीपसहितले पूजा गरेमा नागदेवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ।

नागदेवतालाई सुगन्ध मनपर्ने भएकाले नागपूजामा श्रीखण्ड चन्दनले पूजा गर्ने पनि चलन छ। यसरी विधिपूर्वक पूजा गरी ढोकाको शिरमा नाग टाँस्नाले घरमा चट्याङले नहान्ने, आगो, सर्प तथा बिच्छीको भय नहुने, मेघ, अग्नि र बज्रपात नपर्ने धार्मिक विश्वास छ। नागको पूजाले धनधान्य र सुख समृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्–विपत् र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ। नागको बासस्थान भएका पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ। यस दिन कतैकतै नागलाई दूधको धारा दिएको चित्रहरू रथमा राखेर जात्राहरू मनाउने चलन पनि छ। जसमा भचाखुसीको घोडेनाग, टुँडिखेलको मीननाग, गल्कोपाखा दक्षिण ठमेलको हरिना, गटेकुको टेकुनाग, इटुम्बहालको जलनाग, थानकोटपारि नागढुंगा, नक्सालको नागपोखरी, टौदह, पशुपतिनाथको आभूषण वासुकीनाग, धापाखेलको नागदह, कलमसीस्थित पाँचटाउके कल्पेश्वर नागलगायत ठाउँमा भक्तजनको भीड लाग्ने गरेको छ। कसैकसैले अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, कुलीर, तक्षक, कर्कट र शंखनागको पूजाआराधना गर्ने गर्छन्। यसै तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरु भएको पनि मानिने गरेको छ।

मत्स्यपुराणका अनुसार प्राचीन पर्वतीय जातिहरूको वर्णन गर्दा गन्धर्व, किन्नर, राक्षस, विद्याधर, किम्पुरुष, यक्ष ,खस आदिको साथमा नाग जातिको पनि उल्लेख गरिएको छ। पुराणहरूले नाग जातिको सम्बन्ध शिवसित भएको उल्लेख गरेको पाइन्छ। नागपञ्चमीको दिन नागहरूको चित्र मूलढोकाको दायाँ–बायाँ टाँसेर पूजा गर्नाले बिजुली, बज्र र जलको भय हुँदैन। साथै अन्य दैवी विपत्तिबाट मुक्ति मिल्नुका साथै श्रीसम्पत्ति लाभ हुने कुरा गरुडपुराणमा लेखिएको छ। नारदपुराणमा सर्पको टोकाइबाट बच्न नागको ब्रत बसी सुखशान्तिको कामना गर्ने विधान छ। बौद्ध ग्रन्थअनुसार स्वर्ग अर्थात् देवलोक मञ्जुश्री देवकुलसँग, मत्र्यलोकसँग पद्मपाणी बोधिसत्व अर्थात् नरकुलको नाथसँग र पाताल नागलोक, बज्रपाणी नागकुलको नाथसँग सम्बन्धित मानिन्छ। यस धर्ममा नागलाई सकारात्मक दृष्टिले हेरिन्छ। बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरूमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान् र अमरताको प्रतीकको रूपमा पेस गरिएको छ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नागले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने विषयलाई वैज्ञानिकले पुष्टि गरेका छन्। पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ।

ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नागदेवता हुन्। नागपञ्चमीका दिन शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ। घर निर्माण गर्दा भूमिमा नागदेवताको बास भए आजकै दिनमा विधिवत पूजाआजा गरी नागलाई पन्छाई नागदोषबाट मुक्त हुने धार्मिक विश्वास छ। ज्यातिषशास्त्रका अनुसार कुण्डलीमा राहु, केतुको दोष भएकाहरूले नागपञ्चमीका दिन विधिवत रूपमा भगवान् शिव र नागदेवताको पूजा गरी मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जाने विश्वास छ। ज्योतिषमा योगको महत्व हुन्छ। ज्योतिषमा राम्रा र नराम्रा गरी चार हजार ३५ वटा योग छन्। त्यसमा ६३ प्रतिशत राम्रा हुन्छन् भने ३७ प्रतिशत नराम्रा हुन्छन्। ती नराम्रा मध्येको दुई स्थानमा रहेको योग हो, कालसर्प योग। जसका कारण मानवले अरू असल योगहरूबाट पाउनुपर्ने राम्रा फलहरू पनि ३० प्रतिशतमात्र पाउने गर्छ भन्ने विश्वास ज्योतिषहरूको छ। त्यसैले यसै दिन कालसर्प योगलाई शान्त पार्न पूजा गर्ने चलन छ।

नागको वैज्ञानिक महत्व पनि छ। प्रकृतिमा भएका विषालु पदार्थलाई नागले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने विषयलाई वैज्ञानिकहरूले पुष्टि गरेका छन्। यसैगरी पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ। सर्पको प्रयोगबाट क्यान्सरजस्तो प्राणघातक रोगका लागि औषधि बनाउन सकिने वैज्ञानिक तथ्य पनि बाहिर आएको छ। पृथ्वीमा नाग रहेमात्र मानव बाँच्न र स्वस्थ रहन सक्ने र चराचर जगतको सन्तुलन मिल्ने भएर पनि नागपञ्चमीको वैज्ञानिक महत्व छ। सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ। सर्पमा इको सिस्टम अत्यन्त मजबुत हुन्छ। त्यसैले हाम्रो वरिपरिको वातावरण स्वच्छ हुन्छ। सर्पले मुसा, किरा, इत्यादि खान्छ जसका कारण इको सिस्टम मजबुत रहन्छ। त्यसैले पनि यसको वैज्ञानिक महत्व देखिन्छ।

हिन्दू धर्मशास्त्रका पुराणहरूमा नागले विविध किसिमको गुणको प्रतिनिधित्व गरेको छ। शास्त्रमा कतैकतै देवीदेवताको अवतारका रूपमा चित्रण गरेको छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैर्‍यामा फणको छातामुनि शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ। भगवान् विष्णुको अवतारको रूपमा लिएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ। यसैगरी शेषशायी विष्णुका मूर्तिहरूमा नागको उत्कृष्ट प्रतिमा निर्माण गरेको हुनाले आजसम्म पनि बुढानिलकण्ठमा अवस्थित शेषशायी विष्णुको मूर्तिबाट प्रष्टिन्छ।

यसर्थ नागको महत्व धार्मिक, सामाजिक, वैज्ञानिक एवं सबै दृष्टिकोणबाट महत्वपूर्ण छ। नागलाई वृष्टि र उब्जनीको अधिष्ठाता देवता मान्ने परम्परा नेपाल र भारतमा मात्र सीमित नभएर कतिपय युरोपीय देशहरूमा समेत प्रभाव परेको छ। नाग भनेको सर्प मात्र होइन र त्यो मानवकै एउटा जाति पनि हो भन्ने विश्वास पनि रहेको छ। नागपञ्चमीको रूपमा नाग पूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिहरूको संस्कृति बन्न पुगेको हो। यसबाट प्रसन्न भएका ब्रह्माले मानव जातिलाई यस पञ्चमका दिन श्रद्धा भक्तिपूर्वक नागको पूजा गरेमा अनिष्टको निवारण र ऐश्वर्यको प्राप्ति हुन्छ भनेका थिए। हिन्दू समाजमा श्रवण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने गरिएको छ। कसैकसैले सर्प, बिच्छीलगायत किराको डरका कारणले पनि नागलाई पूजा गर्ने गरिन्छ। हिन्दू धर्ममा नाग पूजा मात्र नभएर समग्र प्रकृति पूजा नै विशेषताको रूपमा झल्किने गरेको हुनाले यसको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.