जहाँ थुम्का–थुम्कामा स्वर्गको आभास छ
बेलायती नागरिक एन्डी कुपल्यान्डले १४ वर्ष ताप्लेजुङमा बिताए। यो अवधिमा उनले नेपालमा प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरे। सगरमाथा, अन्नपूर्ण, मनाङ, डोल्पा, मकालु क्षेत्र पुगे। २०७६ सालमा स्वदेश फर्कनुअघिको कुराकानीमा उनले भनेका थिए, ‘नेपालका धेरै ठाउँ घुमें, सबै सुन्दर छन्। त्यसमा पनि कञ्चनजंघा आधार शिविरको घुन्सा सबैभन्दा राम्रो लाग्यो, बेलायत पुगेर पनि घुन्सा सम्झिइरहनेछु।’ घुन्सा राम्रो लागेकै कारण उनी १६ पटक कञ्चनजंघा आधार शिविरको भ्रमणमा गए। सय बढी आफ्ना देशमा साथी र आफन्तलाई सो क्षेत्र घुमाए।
कुपल्याण्डले औधि मन पराएको घुन्सा चारैतिर पहाडले घेरिएको सुन्दर उपत्यका हो। बिचको सम्म फाँटमा ४० परिवार शेर्पा समुदायका मानिसको बसोबास छ। छात्रावाससहितको विद्यालय छ। सामुदायिक स्वास्थ्य इकाई छ, जहाँबाट स्थानीयले प्रसुती सेवा समेत पाउँछन्। कञ्चनजंघा हिमाल जाने दुई वटा बाटो यहाँबाट छुट्छन्। हजारे ओडार, खम्बाचेन, लोनाकहुँदै तीन दिनमा उत्तरी आधार शिविर पुग्न सकिन्छ। सेलेले, चैइराम राम्जेर हुँदै दक्षिणी आधार शिविर ओक्ताङ। फक्ताङलुङ गाउँपालिका ६ मा पर्ने घुन्सा पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन लाग्छ। पहिलो दिन सेकाथुमसम्म ट्याक्सीमा। त्यसपछि दुई दिन पैदल जानुपर्छ। बडेमानको पहाडबिचमा मुस्किलले बनाइएको बाटो। शिरको टोपी नै झर्लाजस्तो गरी हेर्दा मात्रै आकाश देखिन्छ। हरेक पहाडका कापबाट झरेना झरना। खहरे खोल्सी झैं गडगडाउँदै बगेको घुन्सा खोलाका छाँगाहरू।
ठाउँ–ठाउँमा देखिने रेडपाण्डा र उच्च हिमाली वनको दृश्यले बाटो कटेको पत्तै हुँदैन। सेकाथुमबाट उकालो लागेका जोकोहीले पनि घुसा पनि यस्तै जंगलबिचको पाखामा रहेको गाउँ होला ! कसरी वास बस्ने ! के खाने होला ! तर जब उनीहरू प्रकृतिक रूपमै ढुंगाले बनेको फलेको गेट छिर्छन्। यस्ता अनुमान गलत सावित हुन्छ। खोला किनारको समथर भू–भागमा बनाइएका परम्गरागत, मौलिक र कलात्मक घर। ती घर आफैंमा होटल हुन्। घरको सजावट, विश्रामस्थल, सेवा सुविधा दोख्दा कुनै तारे होटलभन्दा कम्ति लाग्दैन। इलामका सुदिप श्रेष्ठ भन्छन्, ‘सहर बजारभन्दा धेरै टाढा यति आकर्षक गाउँ होला भन्ने मैले सोचेकै थिइनँ, पहिलो पटक घुन्सा टेक्दा काठमाडांैको ठमेल, पोखराको लेकसाइड पुगेझैं लाग्यो।’
स्थानीयको मुख्य पेशा पशुपालन र पर्यटन हो। आलु फल्छ। खर्कमा गोठ राखेर याक, चौंरी र गाई पाल्ने गरिन्छ। तर, पछिल्लो समय भने पशुपालन गर्ने घटेका छन्। प्रत्येक घरको गोठ रहेकोमा अहिले आधा दर्जनले मात्रै याक चौंरी पालेका छन्। होटल व्यावसाय गर्ने र पर्यटनमा लाग्ने बढेका छन्। करोडौं लगानी गरेर सुविधासम्पन्न होटल बनाएका छन्। यहाँ जाने पदमार्ग पनि सजिलो बन्दैछ। जसले गर्दा आन्तरिक र बाह्य पर्यटक बढ्दो क्रममा छन्। कोरोनाकाल सुरु भएपछि आन्तरिक पर्यटक बढेको होटल व्यवसायी धार्के शेर्पा बताउँछन्। भन्छन्, ‘स्वदेशी पर्यटकको आगमनले केही राहत दिए पनि त्यो पर्याप्त छैन, विदेशी नआएसम्म पर्यटन चलायमा हुँदैन।’ बुढापाका भने नयाँ पुस्ताले पशुपालन छोडेको देखेर चिन्तित छन्। पुख्र्यौली पेशा जोगियोस् भन्ने उनीहरूलाई लागेको छ। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि शेर्पाहरूको मौलिकता जोगाउन काम गरिरहेको छ। हिमाल हेर्न आउने पर्यटकलाई गोठ, याक/चौंरी पालन, स्याब्रु नाच, परम्परागत भेषभूषा, धुञ्ज्याङ देखाएर पनि लोभ्याउन सकिने गरी काम भइरहेको परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बु बताउँछन्।
नेपालमा पहिलो पल्ट सन् १८४८ मा यही क्षेत्रबाट आलु भित्रिएको इतिहास छ। भूगोलविद् डा. हर्क गुरुङले २०५७ सालमा तमु बौद्ध सेवा समितिले आयोजना गरेको कार्यक्रममा बेलायतका वनस्पति विज्ञ जोसेफ डाल्टन हुकर हिमाली क्षेत्रको वनस्पतिको अध्ययन गर्न सिक्किम हँुदै कञ्चनजंघा क्षेत्र प्रवेश गर्दा आलु लिएर आएको बताएका थिए। ३ हजार ४ सय १२ मिटर उचाईको घुन्सामा फलेको आलु स्वादिष्ट मानिन्छ। लेलेप, तापेथोक, इखावु लिङखिमबाट अन्न लिएर यहाँ आलु साट्न जाने चलन छ। डा. गुरुङको यही ठाउँमा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ६ गते मृत्यु भयो। कञ्चनजंघा संरक्षण क्षेत्र संरक्षणको जिम्मा स्थानीयलाई हस्तान्तरण गरेर फर्कने क्रममा घुन्सा नजिकको फले पहाडमा हेलिकोप्टर ठोक्किँदा २४ जना संरक्षणविद् तथा उच्चपदस्थ अधिकारीले ज्यानसमेत गुमाएका थिए।
घुन्सालाई सरकारले पर्यटकीय गन्तव्य घोषणा गरी नमुना गाउँसमेत बनाउने भनेको छ। घुन्सा हुँदै विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित ८ हजार मिटरभन्दा अग्ला यालुङ काङ (८,५०५ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), कञ्चनजंगा सेन्ट्रल (८,४७३ मिटर, ल्होत्से मिडिल (८,४१० मिटर) र यालुङ काङ बेस्ट (८,०७७ मिटर) पुग्न सकिन्छ। १९९० सालको दशकमा किराँत धर्मगुरू फाल्गुनन्द लिङदेनले फक्ताङलुङ (कुम्भकर्ण) हिमालको काखमा तपस्या गरेका थिए। किराँतीहरू उक्त ठाउँलाई पवित्र भूमि मानेर पूजा गर्छन्। त्यहाँ पुने बाटो पनि यही हो। घुन्सा आसपासको संरक्षित वन कालो भालु, रातो पाण्डा, कस्तुरी मृग, हिउँ चितुवाको वासस्थान हो। बहुमूल्य जडीबुटी पनि यहाँ पाइन्छ। त्यसैले पनि यो क्षेत्र विश्वभरका पर्यटक र संरक्षणकर्मीको ध्यान जान थालेको स्थानीय टासी तेञ्जिङ शेर्पाको भनाइ छ।
कञ्चनजंघा दुईवटा आधार शिविर भएको नेपालकै एक मात्र हिमाल हो। दुई ठूला छिमेकी मुलुकको सीमा क्षेत्रलाई छुने पदमार्ग हो। नजिकै चीन र भारतको सीमा पर्छ। चीनको नाका टिपतालासम्म जोड्न तमोर करिडोर सडक निर्माण भइरहेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा यो नाका सञ्चालन गर्न पहल गर्ने उल्लेख छ। त्यसपछि चिनियाँ पर्यटकसमेत बढ्ने शेर्पाले बताए।