सर्लाहीमा बाढीको वितन्डता : कतै डुबान, कतै कटान
मलंगवा : वर्षाले सर्लाहीका केही क्षेत्र डुबानमा परेका छन् भने कतिपय स्थानमा लखनदेही खोलाले बाँध कटान गरेको छ । सर्लाहीको हरिपुर नगरपालिका ९ पिडाराको ढावटोलमा लखनदेही खोलाले बाँध कटान गरेको छ ।
खोलामा बाढी आएपछि पूर्वपट्टीको बाँध कटान गरेको छ । करिब सय मिटर बाँध बाढीले कटान गरेको स्थानीयले जनाएका छन् । यता जिल्लाको दक्षिणी क्षेत्र मलंगवा नगरपालिका ५ भाडसरका करिब एक दर्जन घर डुबानमा परेका छन् ।
खोलाले बाँध कटान गर्न थालेपछि ढावटोलबासीमा त्रास फैलिएको छ । करिब ७० प्रतिशत बाँध कटान गरिसकेको पिडारीका नविन साहले जानकारी दिएका छन् । एक दुई दिन अझै पानी पर्यो भने खोलाले पुरै बाँध कटान गर्ने खतरा रहेको साहले बताए।
'अहिले खोलामा पानी कम छ । समयमै मर्मत गर्यो भने खतरालाई टाल्न सकिन्छ,' साहले भने,' बाँध टुट्यो भने नजिकका गाउँहरु पिडारी, हरैया र पिपरियामा नसोचेको क्षति हुन्छ।'
कटान गरिएको क्षेत्रमा ढुङ्गा हालेर तार जाली वा बाँसको पिलिङ्ग तत्कालै गर्नुपर्ने देखिएको छ। यता मलंगवाको भाडसरमा पनि लखनदेही खोलाको पानी घरमा पसेको स्थानीय फिरोग अहमदले बताए ।
मलंगवा नगरपालिका ५ खुटौनाको छेउमा बाँध कटान गरि पानी गाउँतिर आएको छ । खोलाको पानी गाउँमा आउँदा खोला छेउको करिब एक दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । कटान भएको स्थानभन्दा केही मिटर दक्षिण भारडर र खुटौनाको बीचमा बाँध अधुरै रहेकाले पनि पानी गाउँतिर पसेको हो ।
कटान क्षेत्र।
भाडसरको सामुन्ने र खुटौनाको सामुन्ने पनि बाँध छन् । तर दुबै बाँधलाई एक ठाउँमा जोडिएको छैन् । केही भाग यत्तिकै छोड्दा पानी गाउँमा आएको हो।
खोलाको पानीले गर्दा गाउँबाट पश्चिम जाने बाटो पनि अवरुद्ध भएको छ ।
सडकमा करिब कम्मर भन्दामाथिसम्म पानी छ । सडक भएर नै खोलाको पानी बग्ने गरेको छ । भाडसरकै घरदौरी टोलबाट आवतजावत बन्द भएको छ ।
अहिले खोलाको पानीले धानखेत पुरै जलमग्न बनेको छ ।
पानीले गर्दा सयौं बिगहाको धान खेती नष्ट भएको अहमदले बताए । लखनदेही खोलामा बाँध नहुदाँ बर्षेनि यस्तै दुःखको सामना गर्नुपरेको अहमदले दुखेसो पोखे। आइतबार भाडसर र खुटौना जोड्ने सडकमा समेत पानी जमेको थियो । अहिले पानी पर्न रोकिएपछि बाटो सुचारु भएको छ । एक साता अगाडि चक्रघट्टा गाउँपालिका १ शिवनगरमा पनि कटान भएको थियो ।
त्यहाँ मर्मतको काम हुँदैछ । बाँसको पिलिङ्ग लगाएर मर्मतको काम भइरहेको स्थानीयबासीले जनाएको छ । कौडेना गाउँको सक्रौल छेउमा पनि खोलाले बाँध कटान गरेको छ । भाडसरमा सडकबाट बग्दै गरेको लखनदेहीको खोलाको पानी ।