मनाङमा 'हिउँ चितुवा' रिसर्च गर्दै पोखराका सुवेदी
जोमसोम : राष्ट्रिय प्रकृति संरक्षण कोष , अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप)मा कार्यरत संरक्षण अधिकृत एवंम् हिउँ चितुवाविज्ञ कास्की पोखराका अशोक सुवेदी यतिबेला मनाङको नार्पा भूमी गापाको पर्वतीय क्षेत्रमा छन् । सुवेदी लामो समयदेखि हिउँ चितुवासम्बन्धी विभिन्न खोजअनुसन्धान गर्दै आएका छन्।
संरक्षण अधिकृत सुवेदी नेदरल्याण्डको वाखेनेगन विश्वविद्यालयमा संरक्षण विधाका विद्यार्थी हुन् ।उनी सो विश्वविद्यालयबाट विद्यावारिधि अर्थात् ( पीएचडी ) कोर्षका लागि ४ वर्षीय हिउँ चितुवासम्बन्धी प्राविधिक अध्ययन गर्ने उद्देश्यले अहोरात्र मनाङमा खटिएका छन् ।
सन् २०१९ को जुलाईदेखि समुन्द्री सतहदेखि ४ हजार मिटर अग्लो उचाइको मनाङस्थित नार्पा भूमी गापाको पर्वतीय क्षेत्रमा उनले हिउँ चितुवाको रिसर्च सुरु गरेका हुन् ।
उनले सोक्षेत्रलाई आधार बनाएर हिउँ चितुवासम्बन्धी प्राविधिक रिसर्च गरिरहेको बताएका छन् । नेदरल्याण्डस्थित विश्वविद्यालयको तर्फबाट हिउँ चितुवाको विषयमा प्राविधिक अध्ययन थालेका उनले २ वर्ष मनाङमै बसेर पूरा गरिसकेका छन् भने अझै दुई वर्षको रिसर्च बाँकी नै रहेको सुनाए ।
हिउँ चितुवाको विद्यमान अवस्था र भविष्यमा जलवायु परिवर्तन हुँदा यसले कस्तो असर पुग्नसक्छ भन्ने बिल्कुल नयाँ र फरक प्रकारको प्राविधिक तथा वैज्ञानिक रिसर्च गरिरहेको संरक्षण अधिकृत सुवेदीले जानकारी दिए ।
उनका अनुसार हिउँ चितुवासम्बन्धी यसप्रकारको अध्ययन नेपालका लागि पहिलो भएको दावी गरे । यसका लागि नयाँ मोडल बनाएर त्यसलाई हिटिङ गर्ने प्राविधिको रिसर्च भएको सुवेदीले जानकारी दिए।
हिउँ चितुवासम्बन्धी अध्ययनको क्रममा हिउँ चितुवाको थर्मल इनर्जी ल्याण्ड स्केप अर्थात् हिउँ चितुवाको लागि चाहिने शरीरको तापक्रम सन्तुलन गर्दा आवश्यक पर्ने इनर्जीमा आउने परिवर्तन पर्वतीय क्षेत्रको उचाइ अनुसार कति निर्भर रहन्छ भन्ने सम्बन्धमा आफूले रिसर्च गरिहेको उनले बताए ।
पर्वतीय क्षेत्रको वातावरणीय तापक्रम वृद्धि हुँदा हिउँ चितुवाको शरीरिक तापक्रम व्यवस्थापन गर्दा चाहिने इनर्जीमा आउने परिवर्तनले कति फरक पार्न सक्छ भन्ने विषयमा आफ्नो रिसर्च केन्द्रित रहेको संरक्षण अधिकृत सुबेदीले बताए ।
हिउँ चितुवा सम्बन्धी प्राविधिक रिसर्च सुरु गर्नुअघि उनले यसलाई सहज रुपमा लिएका थिए । तर, पर्वतीय क्षेत्रको फिल्डमा पुगेर काम गर्दा सोचेजस्तो नभएको र निकै चुनौतीपूर्ण महशुस भएको उनले अनुभव सुनाए । पर्वतीय क्षेत्रको उचाइमा सोलार÷प्यानल ल्याउने,लैजाने,इकुमेन्ट टुटफुट हुने र हराउने सम्भावना बढी रहेको उनले खुलाए ।
पर्वतीय क्षेत्रमा वातावरणीय तापक्रम तथा हिउँ चितुवाको शारीरिक तापक्रममा पार्ने प्रभाव र त्यसको व्यवस्थापनसम्बन्धी रिसर्चका लागि सामान्य प्रकारले हिउँ चितुवाको मोडल खाका समेत उनले तयार पारेका छन् ।
मनाङको नार्पा भूमी गापाअन्तर्गत समुन्द्री सतहदेखि ५५ सय मिटरको अग्लो उचाइको क्षेत्रमा उनले हिउँ चितुवाको रिसर्च गरेका हुन् । पर्वतीय क्षेत्रमा ५÷५ सय मिटरको दुरीमा ८ वटा वातावरणीय स्टेशन खडा गरेका छन् ।
सो स्टेशन उनले उत्तर÷दक्षिण मोहडामा फर्काएर उपकरण राखेका छन् ।यसरी दुई दिशामा राखिएका स्टेशनका उपकरणले हावाको गति,तापक्रम र सूर्यबाट आउने बिकिरण मापन गर्दै कति उर्जा फर्किन्छ भन्नेलगायतको लेखा स्टेशनको सहायताले मापन गर्ने संरक्षण अधिकृत सुबेदीले बताए ।
मनाङको नार्पाक्षेत्रको ४२ सय मिटरको उचाइको दुई ठाउँमा दुईवटा स्टेशन जडान गरेका छन् । सो मोडल उपकरण तताउन उनले सोलार प्यानल राखेका छन् । हिउँ चितुवाको औसत तापक्रम ३७ डिग्री हुने अनुमान गरी मोडल उपकरणलाई ३७ डिगी तापक्रममा पुर्याउने र यसलाई २४ सै घण्टा ३७ डिग्री तापक्रममै राखिने उनले बताए ।
हिउँ चितुवाका लागि हालको तापक्रम र भविष्यमा जलवायु परिर्वतन हुँदा कति तापक्रम फेरबदल हुनसक्छ भन्ने अनुमान लगाउन सकिने उनले जनाए ।
तापक्रम फेरबलसँगै हिउँ चितुवाको शारीरिक तापक्रममा हुने वृद्धि मोडल उपकरणले जानकारी दिने उनको भनाइ छ । संरक्षण अधिकृत सुवेदीले यसका अलावा हिउँ चितुवासँग जोडिने अन्य विषयमा समेत रिसर्च गरिरहेको बताए ।
हिउँ चितुवाको मुख्य आहारा हिमाली बन्यजन्तु नाउर भएकाले पर्वतीय घाँसको समेत रिसर्च गरेको उनले उल्लेख गरे ।नाउरको जनसंख्या ,घाँस पाइने स्थान , कुन सिजनमा नाउरको बासस्थान कता परिवर्तन हुन्छ भन्ने रिसर्च गरिएको उनले जनाए ।
नाउरको बासस्थान जहाँ हुन्छ अक्सर हिउँ चितुवाको बासस्थान पनि त्यतै हुने उनले बताए । हिउँ चितुवाले कहिले काँही आहारा नपाउँदा बस्तीमा पसेर समेत पशुधनको क्षति पुर्याउने गरेको उल्लेख गरे ।
मनाङमा हिउँ चितुवाको गणना गर्न क्यामेरा ट्रयापिङ
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना ( एक्याप ) तथा माउन्टेन स्प्रीड को संयुक्त टोलीले मनाङका विभिन्न क्षेत्रमा हिउँ चितुवा गणना कार्य सम्पन्न गरेको छ । संरक्षण अधिकृत अशोक सुवेदीसहितको टोली ६ जना र अन्य ८ जना गरी १६ जनाको टोलीले मनाङमा क्यामेरा ट्रयापिङ गर्दै हिउँ चितुवा गणनाकार्य सुरु गरेको थियो । सो टोलीले मनाङको नार्पा भ्याली र निस्याङ भ्यालीको पर्वतीयक्षेत्रमा क्यामेरा ट्रयापिङ गरेको संरक्षण अधिकृत सुबेदीले जानकारी दिए ।
हिमाली जिल्लाको मनाङका ४ वटै पालिकाअन्तर्गत समुन्द्री सतहदेखि ५५ सय मिटरको उचाइमा हिउँ चितुवा अभिलेखिकरण गर्ने उद्देश्यले क्यामेरा ट्रयापिङ गरिएको थियो । हिउँ चितुवासम्बन्धी कार्ययोजनाको प्रोटोकल अनुसार ८÷८ स्क्वायर ग्रीडमा ४ वटा क्यामेरा राखिएको थियो । मनाङको दुईवटा ब्लकमा १ सय ४ वटा क्यामेरा ट्रयापिङ गरिएको हो ।
ट्रयापिङ गरिएका क्यामेराहरु ४५ डिग्रीको एङ्गलमा दुई महिनासम्म राखिएको संरक्षण अधिकृत सुबेदीले जानकारी दिए । एक्यापको कार्ययोजना मुताबिक गरिएको क्यामेरा ट्रयापिङमा मनाङक्षेत्रमा कति हिउँ चितुवा छन् भन्ने विस्तृत तथ्याङक सार्वजनिक हुन अझै केही दिन लाग्ने जनाइएको छ ।
अहिले १०४ वटै क्यामेरामा कैद भएका हिउँ चितुवाको तस्बिर संकलन तथा गणना गर्ने कार्य भइरहेको छ ।यस्तै,हिउँ चितुवाविज्ञ मधुक्षेत्रीको प्रकाशन अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ वटा र मनास्लु संरक्षण क्षेत्रमा २ वटा हिउँ चितुवा रहेको जनाइएको थियो ।
नेपालमा दुलर्भ संख्यामा रहेको हिउँ चितुवा जैविक विविधता मध्येको मुख्य बन्यजन्तु हो ।हिउँ चितुवाको संख्या र स्वास्थ्यको प्रभावले पर्वतीय क्षेत्रको पारिस्थितिक पद्दतीको इकोसिस्टमको अवस्थासम्बन्धी धैरै कुराको बोध गराउने गर्छ ।
पछिल्लो समय जलवायु परिवर्तनको असर ,हिउँ चितुवा र मानवबीचको द्वन्द्व र प्राकृतिक तथा वातावरणीय दोहनका कारण हिमालकी रानी हिउँ चितुवा संकटमा पर्न थालेका छन् । यसअघि गरिएको सर्वेक्षणमा नेपालमा ३ सयदेखि ५ सयको हाराहारीमा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो ।