डेढ खर्ब तरलता थुप्रिँदै

डेढ खर्ब तरलता थुप्रिँदै

काठमाडौं :  बैंकमा बचत गर्न इच्छा जागेको छ ? कुन बैंकले बढी ब्याज दिन्छ भनेर दोधारमा फस्नुभएको छ भने चिन्ता मान्नुपर्दैन । किनभने बैंकहरूले प्रायः जसो हरेक महिना निक्षेपको ब्याजदर परिवर्तन गरिरहेका हुन्छन् । 

यसपटक पनि भदौदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् । यो पटक ब्याजदर झिनो मात्रै वृद्धि भएको छ । केही बैंकले भने ब्याजदर यथावत् नै राखेका छन् । यद्यपि अब बजारमा तरलता बढ्ने भएकाले अन्तर बैंक ब्याजदर अझै घटन सक्ने आँकलन छ । पछिल्लो समय यस्तो ब्याजदर ५ प्रतिशत हाराहारी पर्ने गरेको देखिन्छ ।

समग्रमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकको साधारण बचतको न्यूनतम औसत ब्याजदर २.६६ प्रतिशत र अधिकतम औसत ४.२० प्रतिशत छ । यसअघिको तुलनामा अधिकतम औसत ब्याजदर ०.०५ प्रतिशत विन्दु मात्रै बढेको हो । 

गत साउनमा बचतको अधिकतम ब्याज ४.१५ प्रतिशत मात्रै थियो । यो महिनामा १ दर्जन बैंकले यस्तो बचतको ब्याजदर बढाएका छन् । बाँकी बैंकले यथावत् राखेका छन् । साधारण वचतमा अधिकतम ब्याजदर सिभिल बैंकले ४.०५ प्रतिशतदेखि ६.०५ प्रतिशतसम्म दिएको छ । 

यस्तै नबिलले ५.०१ प्रतिशतसम्म निर्धारण गरेको छ । सो बैंकले साउनको तुलनामा १.५ प्रतिशत विन्दुले बढाएको हो । यसपछि सेञ्चुरी, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र नेपाल क्रेडिट एण्ड कमर्सले अधिकतम ५ प्रतिशतसम्म साधारण बचतको ब्याजदर तोकेका छन् । यसबाहेकका बैंकको योभन्दा कम ब्याजदर तोकिएको छ । 

यस्तै अहिले समग्रमा एक वर्षे मुद्दती निक्षेपको औसत ब्याजदर ७.३० प्रतिशत रहेको छ । गत साउनमा यस्तो ब्याजदर औसत ७.१९ प्रतिशत थियो । यसबीच बैंकहरूले औसत ०.१६ प्रतिशत विन्दुले ब्याजदर बढाएको देखिन्छ । 

यद्यपि हाल यस्तो मुद्दतीमा सबैभन्दा बढी सिभिल र प्रभु बैंकले ८.२५ प्रतिशत ब्याजदर दिएका छन् । यसपछि क्रमश : नेपाल बैंकले ८.०५ प्रतिशत, प्राइम बैंकले ७.७६, नेपाल क्रेडिट एण्ड कमर्सले ७.७५, एनआईसी एसियाले ७.५६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । 

यसपछि नबिल र मेगा बैंकले ७.५१ प्रतिशत, एनएमबी बैंक, सिटिजन्स, नेपाल बंगलादेश बैंकको ७.५० प्रतिशत व्याजदर दिएका छन् । यसैगरी, सानिमा बैंक ७.२७, कृषि विकास बैंक र सेञ्चुरी ७.२५ प्रतिशत ब्याजदर तोकिएको छ । यसैगरी माछापुच्छ्रेले ७.०५, ग्लोबल आईएमईले ७.०१ प्रतिशत ब्याजदर तोकेको छ । 

यसबाहेक, बैंक अफ काठमाडौं, हिमालयन, सनराइज, एभरेस्ट, कुमारी, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ र लक्ष्मी बैंकले १ वर्षे मुद्दतीमा ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यस्तो निक्षेपमा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशतसम्म दिएको छ । 
 
यो महिना न्यून मात्रै वृद्धि भएको ब्याजदर आगामी महिनामा भने घट्ने संकेत देखिएको छ। बजारमा तरलता बढेपछि अन्तर बैंक ब्याजदर पनि घट्न सक्छ । साथै आगामी महिना निक्षेपको ब्याजदर पनि घटने सम्भावना छ । सरकारले डेढ खर्ब रुपैयाँ निकासा गर्ने भएपछि तरलता बढ्न सक्ने भएकाले ब्याजदर घट्ने आँकलन गरिएको हो । 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालकाअनुसार निक्षेपको ब्याजदर घट्न सक्छ । ‘अहिले लोनेवल फन्डभन्दा पनि सीआरआर (अनिवार्य नगद मौज्दात) कायम गर्नुपर्ने फन्ड कसिलो छ । सरकारले स्थानीय तहका लागि, कर्मचारीको तलबलगायतका डेढ खर्ब रुपैयाँ हाराहारीमा निकासा गर्दै छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी रहेका दाहालले भने । 

बैंकहरूले ३ प्रतिशतको सीआरआर कायम गर्नुपर्ने व्यवस्था छ । सरकारको रकम निकासा भएमा अन्तरबैंक ब्याजदर पनि घट्नेछ । अहिले नेपाल राष्ट्र बैंककाअनुसार यो साता भारित औसत अन्तरबैंक ब्याजदर ४.१० प्रतिशत रहेको छ । कुनै बेला यस्तो ब्याजदर १ प्रतिशत कम पनि हुने गथ्र्यो । किनभने बैंकिङ प्रणालीमा रकम भित्रिएपछि अभाव हुँदैन । यो बैंकको स्रोत हो । 

यसले गर्दा अन्तरबैंक ब्याजदर कम पर्न जान्छ । यसो भएमा कर्जाको ब्याज पनि अहिलेको भन्दा नियन्त्रणमा आउनेछ । वास्तवमा कर्जाको ब्याजदर बैंकको आधार दर (वेसरेट) मा भर पर्छ । प्रत्यक त्रैमासमा निर्धारण भएको आधार दरमा रहेर बैंकहरूले कर्जाको ब्याजदर कायम गर्छन् । गत आवको असार मसान्तमा बैंकहरूको यस्तो दर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको रहेको छ ।  यसको आधारदर  ५ दशमलव ४१ प्रतिशत छ । सबैभन्दा बढी आधार दर भने कुमारी बैंकको ७ दशमलव ९० प्रतिशत छ । यसबाहेकका बैंकको यसैबीचमा छ ।

सामान्यतयाः निक्षेपको ब्याजदर कम भए आधार दर कम पर्न जान्छ  र जति कम आधार दर त्यति कम कर्जाको ब्याजदर भन्ने बुझाइ छ । तर, कहिलेकाहीँ प्रिमियममा पनि भर पर्छ । यद्यपि बैंकहरूले मनलाग्दी प्रिमियम भने तोक्न पाउँदैनन् । तर, बैंकहरूले निक्षेपको ब्याजदरभन्दा ४.४ प्रतिशतसम्म थपेर कर्जाको ब्याजदर निर्धारण गर्नुपर्न पाउँछन् । यसलाई बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर अन्तर अर्थात स्प्रेडदर भनिन्छ । 

यद्यपि बजारमा अधिक तरलता भइहाले पनि राष्ट्र बैंकले उपकरणहरू जारी गरेर नियन्त्रण गर्छ । बैंकिङ प्रणालीमा करिब २५ अर्ब रुपैयाँ हाराहारीमा तरलता कायम रहेको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

अहिले वाणिज्य बैंकहरूको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) औसत ७८.४० प्रतिशतसम्म छ । गत सातासम्म वाणिज्य बैंकहरूमा ४१ खर्ब १६ अर्ब रुपैयाँको निक्षेप रहेको छ । कर्जा प्रवाह ३७ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.