बस्ती सार्ने आश्वासन मात्र

बस्ती सार्ने आश्वासन मात्र

मकवानपुर : मकवानपुरको राक्सिराङ–४ पञ्जनी गाउँमा २०५० सालयता बर्सेनि पहिरो जान्छ। गाउँलाई २०७२ को भूकम्पले चिरा चिरा बनाएपछि स्थानीय बासिन्दालाई अन्यत्र सार्न प्राविधिकहरूले सिफारिस गरे। तर, चेपाङ र तामाङ गरी ६४ वटा घरपरिवार पञ्जनी भीरको पहिरोमाथि जोखिम मोलेर बसिरहेका छन्। 

‘अन्यत्र जाने ठाउँ छैन, कुन रात अन्तिम हुने हो त्यो पनि थाहा छैन,’ स्थानीय लोकबहादुर थिङले भने, ‘माथिबाट ढुंगा माटो खस्ने र तलबाट पहिरोले तान्ने काम भइरहेको छ।’ हिँउदमा सुक्खा पहिरो र प्रत्येक बर्खामा गोराङ्दी खोला नै छेकिने गरी झर्ने पहिरोका कारण स्थानीयको दैनिकी कष्टकर बनेको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिले पञ्जनी नजिकैको जिर्खेडाँडा गाउँका ७५ परिवारलाई अन्यत्र सार्न सिफारिस ग¥यो। ‘पहिरोले तान्न छाडेको छैन, तर जाने ठाउँ नभएपछि हामी बाध्य भएर बसिरहेका छौं,’ स्थानीय सन्तबहादुर चेपाङले भने, ‘भूकम्पमा त गाउँ नै काँक्रो चिरिएजस्तै चिरा चिरा परेको थियो, पहिरो त पुरानै समस्या हो।’  जिर्खीवासीले पहिरो रोकथामका लागि चिउरी, तरकारी खान मिल्ने टाँकीसँगै कपुर, तेजपत्ता, मेण्डुलालगायत जातका दस हजार बढी बिरुवा रोपेका छन्। 

२०५९ सालमा अविरल वर्षासँगै आएको बाढीले राक्सिराङ–८ देवीटारमा २९ जनाको ज्यान लिएको थियो। यहाँका स्थानीयले पनि बस्ती स्थानान्तरणको आश्वासन पाएका थिए। तर, उनीहरूले वर्षौंसम्म आश्वासन मात्र पाए। स्थानीय सरकारको पहलमा मात्र गाउँ स्थानान्तरण गर्न समस्या भएको वडा–४ का वडाध्यक्ष सञ्जय कोइरालाले बताए। 

मकवानपुरको भीमफेदीस्थित माथिल्लो दमार बस्ती पनि बाढीपहिरोको सास्ती खेप्दै बसिरहेको छ। २०७६ असार २६ को साँझ सम्झँदा २२ वर्षीय शिला स्याङ्तान विचलित हुन्छिन्। घरमाथिबाट पहिरो, मुनिबाट भेलबाढीले तीव्र कटानसँगै घरैभित्र वर्षात्को भेल छिर्न थालेपछि पाक्दै गरेको खाना छाडेर १४ दिनको छोरा र साढे दुई वर्षको छोरा च्यापेर उनले घर छाडेका थिए। प्राविधिकहरूले २५ परिवार बस्दै आएको दमार बस्ती अन्यत्र स्थानान्तरण गर्न सुझवा दिए पनि कार्यान्वयन भएको छैन। 

२०७२ को भूकम्पपछि मकवानपुरका एक दर्जन बस्ती अन्यत्र सार्न प्राविधिकहरूले सरकारलाई प्रतिवेदन दियो। बर्सेनि आउने पहिरोका कारण थप आधा दर्जन बस्ती भूकम्पको उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिको आँकलन छ। तर बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल भएको छैन। उच्च जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि माथिल्लो निकायमा बर्सेनि कुरा गरे पनि काम नभएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। मकवानपुरको पश्चिमी क्षेत्रका विभिन्न गाउँमा डेढ दशकयता आएको बाढीपहिरोबाट विस्थापित भएकाहरू मनहरि गाउँपालिकास्थित रमनटार र डिपाडमा बस्दै आएका छन्। त्यस्तै, विस्थापित भएका चार सय २७ परिवार २०६० सालमा यस क्षेत्रमा आएर बसे। अहिले यो संख्या बढेर एक हजार नाघेको मनहरि गाउँपालिकाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.