निर्वाचन आयोगमा नेपाल पक्षका नेताहरुको सनाखत सुरु
काठमाडौं : निर्वाचनमा आयोगमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत सुरु भएको छ। सनाखतका लागि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेका छन्।
नेपाल पक्षका केन्द्रीय सदस्य गंगाधर तुलाधरका अनुसार दुवै सदनका ३१ सांसद र ६२ केन्द्रीय सदस्य निर्वाचन आयोगमा सशरीर उपस्थित भएका छन्। यसअघि केपी ओली समूहमा लागेका नेकपा एमालेका नेता प्रदिप नेपाल पनि सनाखतका लागि आयोग पुगेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीका सदस्यहरुको हेड काउन्ट सुरु भएको निर्वाचन आयोगले जनाएको छ। नेपाल समूह चन्द्रागिरीबाट सिधै निर्वाचन आयोग पुगेको हो। नेपाल समूहका नेताहरु दुईवटा बसमा निर्वाचन आयोग पुगेका हुन्।
निर्वाचन आयोगले पार्टी सनाखतका लागि दुईवटा डेस्क छुट्याएको छ। माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न छुट्टाटुट्टै डेस्कको व्यवस्था गरेको छ।
प्रस्तावित दुवै पार्टीले केही दिनअघि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।