एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए वैधानिकता
काठमाडौं : निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरले नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई वैधानिकता दिएको छ। बुधबार दुबै पार्टीलाई उनीहरुलाई सनाखतपछि दर्ताको प्रमाण पत्र दिएको हो।
एमालेबाट झण्डै एकतिहाई केन्द्रीय सदस्य र संघीय सांसदलाई लिएर नेपालले नयाँ पार्टी दर्ता गरेका छन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी दिए।
निर्वाचन आयोगमा नै पुगेर एमालेका ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले नयाँ दल दर्तामा सनाखत गरेका छन्। वरिष्ठ नेता झलनाथ खनालले दिल्लीस्थित राजदुतावासबाटै सनाखत गरे। आयोगले नयाँ दल दर्ताको प्रक्रियादेखि नै संलग्न भएको खनालको सनाखतलाई मान्यता दिइएको छ।
खनालसहित ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत प्रमाणित गरेर दल दर्ता भएको उनले जानकारी दिए। ‘५४ केन्द्रीय सदस्य र २९ संघीय सांसदले आयोगमा नै आएर सनाखत गर्नु भयो, झलनाथ खनालले दिल्लीस्थित राजदुतावासबाट सनाखत गर्नु भएको छ,’ उनले भने, ‘आयोगले सबै सनाखत जाँचबुझ गरी दल दर्ताको प्रमाण पत्र दिइएको छ।’ पुरानो नेता झलनाथ खनालसहित प्रदीप नेपालले पनि नयाँ पार्टीमा समावेश भएका छन्।
महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई छुट्टै दलको रुपमा दर्ता गरेको श्रेष्ठले बताए। लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्याई दल विभाजन भएको छ।