हिँडौँ, घुमौं, स्वस्थ बनौं
पमानिस एक घुमक्कड प्राणी हो। प्रायः हरेक सामान्य मानिसलाई घुम्न, डुल्न मन लाग्छ। घुमाइ रमाइलो यात्रा मात्र होइन, मानिसको प्राथमिक आवश्यकता पनि हो। यात्राबाट मानिसले स्वच्छ हावा, पारिलो घाम, आनन्द, व्यायाम र स्वतन्त्रता प्राप्त गर्दछन्। यसले तन, मन स्वस्थ र निरोग राख्छ। दैनिक गरिने हिँडाइ वा दौडाइ तथा व्यायामका साथै कम्तिमा तीन महिनामा एकपटक नौलो वा रमाइलो ठाउँमा घुम्न जाने हो भने शरीरको पूरा प्रणालीलाई व्यवस्थित गर्न सघाउ पुर्याउँछ। घुमाइपछि मानिसले विश्राम, शान्ति, आनन्द, ऊर्जाशील तथा ताजगी महसुस गर्छन्। मानिसको चुस्तिफूर्ति तथा कार्यक्षमताको रफ्तार पनि निकै बढ्छ।
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अनेकौं फाइदा पनि प्राप्त गर्न सकिन्छ। यात्राका लागि विदेश जानुपर्छ भन्ने छैन। स्वदेशको नौलो गाउँठाउँ गए पनि हुन्छ। यसरी घुम्दा देशको परम्परा, संस्कृति तथा रहनसहन बुफ्न पाइन्छ। आन्तरिक पर्यटनको प्रर्वद्धन हुन्छ। नेपालजस्तो डाँडाकाँडा, हिमालपर्वत, झरना, नदीनाला, तालतलैया तथा उकालोओरालो घुमघामले फोक्सो, मुटु, स्नायुप्रणाली साथै पूरा शरीरले व्यायाम पाउँछ। मनमस्तिष्क गद्गद् हुन्छ। यो तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भएको छ। घुमघामको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य फाइदा भनेको तनाव कम गर्नु हो। यात्राले आनन्दलाई बढावा दिन्छ, तनावपूर्ण परिस्थिति सामना गर्न सहयोग गर्छ। शरीरमा कोर्टिसोलको स्तर कम गर्छ। जसले मानिसले बढी आनन्द महसुस गर्छन्। सन् २०१३ को अध्ययनअनुसार एक दुई दिनको रमाइलो यात्रापछि ८० प्रतिशत अमेरिकनमा तनाव निकै कम भएको देखियो।
आधनिक युगमा स्वास्थ्यको ठुलो समस्या भनेको नै तनाव हो। तनावका कारण ९० प्रतिशत नसर्ने रोग पैदा हुन्छन्। मधुमेह, मुटुको रोग, थाइरोडिज्म, पाचनक्रियाको गडबडी, स्नायु तथा मानसिक समस्या आदि तनावकै कारण पैदा हुन्छन्। त्यसैले यस्ता रोगहरूबाट बच्न तथा मुक्ति पाउन तनाव कम गर्नुको विकल्प छैन। पिट्सवर्ग विश्वविद्यालयका स्नायुवैज्ञानिक डा. पाउल नुस्बाउमले यात्राले मस्तिष्कलाई उत्तेजित गर्ने र मस्तिष्कीय पदार्थमा नयाँ सम्बन्ध विकास गर्छ। उनी भन्छन्, ‘जब तपाईं नयाँ स्थानको यात्रा गर्नुहुन्छ, तपाईंको दिमाग नयाँ उत्तेजनाको भावना बनाउन बाध्य हुन्छ, यसले नयाँ डेन्ड्राइटको उत्पादनलाई ट्रिगर गर्दछ।’उनकै शब्दमा, तपाईको दिमाग शाब्दिक रूपमा जंगलजस्तो देखिन्छ।
हालै अनुसन्धानकर्ताले पत्ता लगाएका छन् कि मानसिक तीक्षतालाई कायम राख्ने उत्तम तरिका भनेको दिमागलाई कुनै नयाँ चीजमा केन्द्रित गर्नु हो। हाम्रो अनुभवलाई अगाडि बढाउन नयाँ अनुभवहरू सर्वोपरि हुन्। यस सन्र्दभमा डा. पाउल नुस्बाउम भन्छन् कि जब तपाईंले मस्तिष्कलाई यस्तो वातावरणमा उजागर गर्नुहुन्छ जुन नयाँ र जटिल छ, तब दिमाग शाब्दिक रूपमा प्रतिक्रिया गर्दछ। एक अर्को अध्ययनअनुसार वाकिङ तथा हाइकिङले हिपोक्याप्पीलाई खुम्चिनबाट जोगाउँछ। जसका कारण स्मरण शक्ति मजबुत रहिरहन्छ। अध्ययनका अनुसार वाकिङ तथा हाइकिङजस्ता गतिविधिका कारण हिप्पोक्याम्पी हरेक वर्ष दुई प्रतिशतका दरले विकसित हुन्छ। जसकारण बुढेसकालमा हुन सक्ने बिर्सिने रोग न्यूनीकरण हुन्छ।
यात्राले मानिसलाई सृजनशील बनाउँछ। यात्राले सामाजिक एकता र सद्भावसमेत बढ्ने गर्दछ। यात्रा तथा पर्यटनका लागि नेपाल एक श्रेष्ठ देश हो।
घुमघामले कग्निभिट फाइदाका साथै सकारात्मक सोचको विकास गर्दछ। मानसिक स्वास्थ्य सुदृढ बनाउँछ। त्यो किनभने मानिसको मानसिक स्वास्थ्यलाई सदृढ राख्न प्राकृतिक स्वच्छ वातावरणले निकै ठुलो भूमिका खेल्दछ। नयाँ ठाउँ, स्वच्छ हावाले तनमनलाई ऊर्जा दिन्छ, मन शान्त र आनन्दित तुल्याउँछ। हरियो वनजंगल, भीरपाखाबाट झरेको झरना, कलकल बगेको खोला, सलल बगेको नदी, निलो शान्त ताल तथा चाँदीजस्तो टलक्क टक्लेका हिमालहरूको अवलोकनले मानिसको शरीरको सम्पूर्ण बायोकेमिस्ट्रि परिवर्तन हुन्छ। घुमघामले मुटु स्वस्थ राख्न मद्दत गर्दछ। घुमघाम गर्नेको तुलनामा नगर्ने मानिसमा मुटुरोग हुने ३० प्रतिशत बढी सम्भावना हुन्छ। घुमघाम गर्नेको आयु पनि लामो हुन्छ।
अगस्टीनले भनेका छन्, ‘यात्राले हामीलाई संसारका वारेमा धेरै कुरा सिकाउँछ। हुन पनि हो, संसार एक किताब हो। मानिसले यात्रा गरेर त्यही किताब पढ्छन्। यात्राले मानिसलाई विश्वविद्यालयको पाठ्यक्रमले भन्दा पनि बढी ज्ञान दिलाउँछ। यात्राबाटै हरेक ठाउँको धर्मसंस्कृति, भाषा, भेषभुषा, सोच, आदत, परम्परा तथा इतिहास थाहा पाउँछौं। यात्राको अर्को फाइदा आत्मविश्वास बढाउनु पनि हो। यात्राले मानिसको आँट, साहस तथा आत्मबल बढाउने कुरा अनेकौं अध्ययनले पुष्टि गरेका छन्। यात्राको दौरान मनमस्तिष्क सक्रिय हुने, नयाँ ठाउँ, नयाँ परिस्थिति तथा चुनौतीको सामना गर्नुपर्ने हुँदा मानिसको आत्मविश्वास बढ्छ। नेपालीमा उखान नै छ, देश खाएर शेष भएको।
यात्राले मानिसलाई सृजनशील बनाउँछ। कवि, गीतकार, कलाकार, साहित्यकार, शिक्षक तथा विद्यार्थीका लागि त यात्रा निकै उपयोगी हुन्छ। यात्राले समाजिक एकता र सद्भाव समेत बढ्ने गर्दछ। यात्रा तथा पर्यटनका अनेक फाइदा भए पनि शारीरिकरूपमा कमजोर, धेरै उमेरका मानिस तथा दीर्घरोगीले चिकित्सकको सल्लाहअनुसार यात्रा गर्नुपर्छ। मुटु तथा दमका बिरामीले अग्लो ठाउँको यात्रा गर्दा चिकित्सकको सल्लाह लिनु ठीक हुन्छ। कोरोनाको यस महामारीको बेलामा देशविदेश घुम्नु ठीक छैन। उचित सुरक्षाविधि अपनाएर नजिकका यात्रामा रमाउन सकिन्छ। तनमनलाई स्वास्थ्य र शाक्तिशाली राख्न, ज्ञान, अनुभव र सृजनशीलता बढाउन हप्ताको एक दिन छोटो यात्रा र तीन महिनाको एकपटक लामो यात्रा गर्ने गरौं। यात्रा तथा पर्यटनका लागि नेपाल एक श्रेष्ठ देश हो।
- लेखक साइकोथेरापिष्ट हुन्।