चुरा पोतेको क्रेज
काठमाडौं : तीजमा दर खाने, नाचगान गर्ने मात्र नभई चुरा, टीका, पोतेलगायतका सोह्र शृंगारमा सजिने क्रेज आज पनि उत्तिकै छ। बजारमा आएका नयाँ चुरा, पोते, टीका, गरगहना, मेकअपमा सजिएर हरितालिका तीजको ब्रत बस्ने र महादेवको पूजा अर्चना गर्ने धार्मिक परम्परा रहिआएको छ।
तीजमा चिटिक्क पर्नका लागि चावहिलस्थित रश्मी कस्मेटिक्स पसलमा महिलाको निकै भिडभाड लागेको छ। पसलकी सञ्चालक अलिशा दुलालका अनुसार अहिले बजारमा चलेका चुरा, टीका तथा पोतेमा पुरुष पोते, स्टोन चुरा, फोल्डिङ् टीका, सेट पोते आदि छन्। ‘दिदी बहिनीहरूले साडीमा लगाउनका लागि रोजफुलहरू धेरै लैजानुभएको छ’, दुलालले भनिन्, ‘नन्द भाउजुले दिने र लगाउने खालका बर पोतेको पनि अहिले निकै अर्डर आएको छ।’ सेटको चुरा पोते र औंठी पनि यसपालिको तीजमा धेरै चलेको उनले जानकारी दिइन्।
कपनस्थित बंगलामुखी कस्मेटिककी सबिना चालिसेका अनुसार तीजमा ग्राहकहरूले नयाँ डिजाइनका सामानहरूको खोजी गर्ने गरेका छन्। त्यसैगरी हरेक वर्षझैं यस वर्ष पनि सादा पोते र चुरा पनि धेरै संख्यामा ग्राहकले रुचाएको उनले बताइन्। रानी हार, पहेँलो रंगको पोते तथा अन्य नयाँ डिजाइनका पोते पनि यसपालि धेरै बिक्री भएको सबिनाले बताइन्।
साडीमा सजिन चुरा पोतेका साथै विभिन्न डिजाइनका गुलाफी फूल, माला, नङ पलिस, झुम्का तथा आइस्याडोहरू पनि ग्राहकले खोजी गर्ने गरेको उनले बताइन्। सबिनाको कस्मेटिक पसलमा यसपालिको तीजमा रातो मखमलको चुरा र अन्य फेन्सी चुराहरू बढी बिक्री भएका छन्।