नदी उत्खननमा भ्रष्टाचार आरोपमा दुई व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँः एसआरडी कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटर रमेश पराजुली र सन्दीप केसीविरुद्ध गैरकानूनी लाभ तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध ७५ हजार ८० हजार विगो कायम गरी गैरकानूनी लाभ तथा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।
अख्तियारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गरेको थिए ।
अख्तियारको अनुसन्धानमा पराजुली र केसीले नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गर्दा नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गैरकानूनी लाभ लिएको पुष्टि भएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय गरी पाउन भनी विशेष अदालत, आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।