नेपाललाई ‘रिसर्च हब’ बनाउन सकिन्छ

नेपाललाई ‘रिसर्च हब’ बनाउन सकिन्छ

नेपाल प्रकृतिले धनी छ, सम्पत्तिले गरिब। हरेक सरकारका समृद्धि सपना साकार हुन आखिर के ‘आइडिया’ पुगेन ? यस्ता प्रश्न सोध्यौं हामीले आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामालाई। आइडिया स्टुडियोले उद्यमशीलता, सिर्जनशीलता र लगनशीलताको वकालत गर्छ। र, युवालाई त्यता प्रेरित गर्छ। ‘सोचदेखि उद्योगसम्म’ नारा बोकेको यस पृथक् अभियान उनी विदेशमा पढेर फर्किएपछि फुरेको हो। सिन्धुपाल्चोकको हेलम्बुमा जन्मे–हुर्केका उनले बेलायतबाट टेलिमिडिसिनमा विद्यावारिधि गरे। ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर, २००६’ पुरस्कारसमेत पाए। सन् २०१५ मा विश्व आर्थिक मञ्चमा योङ्ग ग्लोबल लिडर छनोट भए। तैपनि देश फर्किए। देश विकासमा उनको मुख्य आइडिया छ– शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्‍यो। प्रस्तुत छ, डा. लामासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानादिनेश गौतमले गरेको आइडिया–वार्ता :


हामी उद्यमशीलतामा अग्रसर भइरहेका छौं। तर पनि अपेक्षाअनुरूप सफलता हासिल हुन सकेको छैन। उद्यमशीलताको विकासका लागि चाहिने आइडिया के हो ?

उद्यमशीलता ‘माइन्ड सेट’ हो। नवीनतासँग उद्यमशीलता जोडिन्छ। आफूसँगै अन्य व्यक्तिको पनि जीविकोपार्जन गर्न सक्नु नै उद्यमशीलता हो। उद्यमशीलता भन्नेबित्तिकै कृषि सम्झने र साना तथा मझौला उद्योग हो भन्ने बुझाइ छ। गाउँतिर भिखारी भेटिँदैनन् किनकि सबै आफ्नो काम गरेर खान्छन्। खासमा हुनुपर्ने पनि त्यही हो, मागेर खाने होइन। आत्मनिर्भर हुनु भनेर आशीर्वाद दिइन्छ। त्यसलाई आत्मसात् गर्न सकेनौं। १९९३ सालमा विराटनगरमा जुट मिल त पनि खोलेकै हो। त्यो मुलुकको पहिलो उद्योग हो। हामीले त्यसलाई ज्ञानमा ढाल्न सकेनौं। उद्यमशीलतामा सबैभन्दा ठूलो कमजोरी भनेको ज्ञानको अभाव हो। इच्छाशक्ति भएर मात्र हुँदैन, ज्ञान पनि चाहिन्छ। अहिले पनि पर्यटनको कुरा गर्छौं। तर, केही नपढेको व्यक्तिले टे«किङ गाइड गर्ने हो भन्छौं। नेपालमा उद्यमी हुन एकदमै गाह्रो छ। यहाँ धेरैजसो व्यापार परम्परागत रूपमै भएका छन्। नेपालका लागि मात्र नभएर संसारकै कारखाना भारत र चीन देखिएका छन्। यी दुई मुलुक वा एसिया वा दक्षिण एसियामा हामीले कहिल्यै छलफल नै गरेनौं। नेपालीमा इच्छाशक्ति धेरै छ। त्यसका लागि मेहनत, ऊर्जाको कमी भयो। आत्मविश्वास र प्रतिस्पर्धाबीच खाडल रह्यो। विकसित मुलुकको दाँजोमा पुग्ने इच्छा छ। त्यो अवस्थामा पुग्न के के आवश्यक चाहिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ।

उद्यमशीलता नहुनुमा नीति/योजना तर्जुमामै समस्या हो त ?
यदि छाना चुहिरहेको छ भने त त्यो नागरिकले नवीनतम कुरा सोच्नै सक्दैन। छाना टाल्ने सोचमै डुब्छ। जबसम्म मुलुकको शासन वा नीति सर्वसाधारण व्यक्तिको दैनिकीसँग जोडिँदैन तबसम्म सुधार आउँदैन। सम्मानित नागरिकको परिचय पनि पाउँदैन। सम्मानित महसुस भएको नागरिकमा नवीनताको सोच आउँछ। हामीले पनि शिक्षा र स्वास्थ्यमा जबसम्म लगानी गर्न सक्दैनौं, तबसम्म आविष्कार हुँदैन। आगामी १० वर्षको दृष्टिकोण के हो ? त्यसका लागि कस्तो खालको जनशक्ति आवश्यक पर्छ ? यसतर्फ ध्यान नै दिएका छैनौं। नेपालको नीति, योजना तर्जुमामै समस्या छ।

विकसित मुलुकमा के त्यस्तो चिज छ, जुन हामीमा छैन। हामीमा के त्यस्तो छ जुन ती मुलुकमा छैन ?
नर्वे, स्विडेन, डेनमार्कजस्ता मुलुकको उदाहरण दिन चाहन्छु। पहिलो, त्यहाँका नागरिकले शिक्षा, स्वास्थ्यमा कहिल्यै चिन्ता लिनु पर्दैन। सरकारले नै सम्पूर्ण व्यवस्था गर्छ। स्वास्थ्य र शिक्षामा नागरिकले चिन्ता गर्नु नपर्ने भएपछि स्वत: औद्योगिकीकरणतर्फ अग्रसर हुने रहेछ। हामीकहाँ शिक्षा र स्वास्थ्य दुवैको गुणस्तर छैन। नागरिक स्वस्थ नभए केही गर्न सक्दैन। जति नै हट्टकट्टा भए पनि शिक्षा छैन भने केही काम हुँदैन। नागरिक स्वस्थ र शिक्षित छ भने सिर्जनशीलता र नवीनता आउँछ।

दोस्रो, राज्यलाई कर तिर्ने विषय हो। एक अर्थशास्त्रीले भनेका छन्, जुन देशको नागरिकले कर तिर्दैन, उसले सरकारप्रति कुनै गुनासो गर्न पाउँदैन। त्यस्ता विकसित मुलुकमा आम्दानीको ५० देखि ६० प्रतिशत कर तिरेको हुन्छ। केका लागि कमाएको ? स्वास्थ्य र शिक्षाका लागि त हो नि। तेस्रो, लैंगिक विभेद हो। छोराछोरी बराबर हुन् भन्ने सोच छ त्यहाँ तर हामीकहाँ भेदभाव छ।

कोही स्वदेशमै त कोही विदेशमा भौतारिन्छन्। उनीहरूलाई स्वदेशमै उद्यमी बनाउने उपाय के होला ?
रोजगारी जहिले पनि सक्षमतासँग जोडिन्छ। रोजगारीका लागि भौंतारिनु भनेको हाम्रा संस्थाहरू असफल भइरहेका छन् भन्ने हो। केका लागि पढाएको हो ? किन पढाइएको हो ? त्यसको बोध एवं आत्मसमीक्षा भइरहेको छैन। तीन घण्टा बसेर परीक्षा दिने विषय होइन। योग्यताको प्रमाणपत्र लिइसकेपछि त कमाइ गर्न सक्ने हुनुपर्छ। जुन ज्ञान चाहिने हो त्यो प्राप्त भएको छैन। प्राध्यापकहरूको पनि गल्ती देख्छु। किन पढाइरहेका छन् ? भन्ने प्रश्नको उत्तर नै छैन। किन पढिरहेको छु ? भन्ने प्रश्नको उत्तर पनि विद्यार्थीमा छैन। शैक्षिक प्रमाणपत्र पाए पुग्यो। ज्ञान किन्ने होइन, कमाउने हो। ज्ञान दिने र लिनेबीच दृढ संकल्प नै नभएको देख्छु।

सान्दर्भिक र व्यावहारिक शिक्षा प्रदान भएको छैन। नेपाल सुहाउँदो पाठ्यक्रम पनि छैन। नेपालको अर्थतन्त्र केमा अडिएको छ र त्यसलाई चाहिने जनशक्ति कति र कस्तो हो ? त्यसमा कहिल्यै पनि बृहत् रूपमा अनुसन्धान नै हुन सकेको छैन। अहिले पनि विश्व बैंक, यूएनडीपीको अनुसन्धान हेर्नुपर्ने अवस्था छ। नेपालका विश्वविद्यालयले गरेको अनुसन्धान खै ? नेपाली प्राध्यापकहरूले गरेको अनुसन्धान खै ? त्यो चाहियो। नेपाललाई विश्व परिवेश सुहाउँदो शिक्षा चाहिएको छ। सबैभन्दा कमी, कमजोरी नै शिक्षा क्षेत्रमा हो। किन्डरगार्डेनदेखि पीएचडीसम्म नै कमजोरी छ।

बेलायतमा कुनै पाठ्यक्रम पढेको झन्डै ६० प्रतिशतले सम्बन्धित विषयमा रोजगारी पाएन भने ‘कोर्स’ बन्द हुन्छ। हामीकहाँ कोर्स बन्द हुँदैन। कोर्स थपिन्छ। कोर्स पढाउने योग्य व्यक्ति छ/छैन हामी खोजी गर्दैनौं। गुणस्तरीय शिक्षामा धेरै कम्प्रमाइज गरेका छौं।  सबैभन्दा नमिलेको नै शिक्षा क्षेत्रमा हो। जबसम्म जीडीपीको २.२५ प्रतिशत रिसर्चमा लगानी हुँदैन। तबसम्म नौलो कुरा निस्किँदैन। समृद्धिको लागि व्यक्तिगत विकास (पर्सनल ग्रोथ) चाहिन्छ। कि पेसागत विकास (प्रोफेशनल ग्रोथ) चाहिन्छ। विदेशमा एकचोटि पासपोर्ट हराएपछि के हुन्छ ? थाहा पाउनु भयो भने जन्मेको मुलुकको महत्त्व थाहा हुन्छ। पासपोर्ट हराउँदा राज्यविहीन भइन्छ। 

मुलुकमा सुशासन कायम गर्न र जनताको आर्थिक अवस्थामा सुधार ल्याउनको चाल्नुपर्ने उपाय के हुन सक्छ ? 
सुशासन भनेको पहिचान हो। कस्तो देशमा कसरी हुर्किन चाहन्छु ? भन्ने पनि हो। हामीले कस्तो खालको देश चाहेको हो ? त्यो पहिले बुझ्नुपर्ने हुन्छ। त्यसपछि बल्ल शासन खोज्ने हो। मुलुकलाई विकासको कस्तो ढाँचा चाहिन्छ ? भन्नेमै हामी अलमल छौं। गरिब देशको धनी हुनुभन्दा धनी देशको गरिब हुनु ठीक। नेपालमा आधारभूत आवश्यकता नै पूरा गर्न सकेका छैनौं। श्रमजीवीको आधारभूत तलब नै न्यून छ। परिवार पाल्नै पुग्दैन। विदेश गएपछि कम्तीमा पनि यति त कमाउँछु भन्ने सोचको साथ मान्छे बिदेसिन्छन्। अधिकांश नेपालीको बिरामी परेको बेला उपचार गर्ने, छोराछोरी पढाउने र घर बनाउनेभन्दा ठूलो सपना नेपालीको छैन। कहिलेकाहीँ त ‘बे्रेन डे«न’ हुनु पनि राम्रै हुन सक्छ।

मुलुकमा विकाससँगै भ्रष्टाचार पनि जोडिएर आएको हुन्छ। यो भ्रष्टाचार हटाउने उपाय के हुन सक्छ ?
विकास केका लागि ? विकास कस्तो र किन गर्न लागिएको हो ? विकासको मोडल कस्तो ? त्यो स्पष्ट हुनुपर्छ। सरकारलाई मात्र दोष दिएर हुँदैन। विकासे साथीहरूको पनि भूमिका छ। कुन पक्षमा तत्काल आवश्यकता हो ? त्योअनुसार विकास गर्नुपर्छ। मानव केन्द्रित विकास गर्नुपर्छ। छलफल गरेर आवश्यकताको आधारमा कार्यक्रम तर्जुमा गर्नुपर्छ। यहाँ त नीतिमै भ्रष्टाचार हुने गरेको छ। नीति, ज्ञान र अभ्यासको संयोजन हुनुपर्छ। नीति एकातिर छ तर ज्ञान अर्कोतिर छ। अनि अभ्यास झन् अर्कै किसिमले भइरहेको छ। यो समस्याको चुरो हो। भ्रष्टाचारलाई पैसासँग मात्र हेर्ने गरिएको छ। समयको भ्रष्टाचार त नेपालीले हेरेकै छैनौं। नीतिगत भ्रष्टाचारमा ध्यान दिएकै छैनौं। जबसम्म ज्ञानमा लगानी हुँदैन, तबसम्म भ्रष्टाचार त भइरहन्छ। सोचमै भ्रष्टाचार कायम रहन्छ। 

विकासको परियोजना सही छनोट नहुने र छनोट भइसकेपछि पनि समयमै पूरा नहुने रोगको निदान गर्ने आइडिया के होला ?
फेलिङ टु प्लान र प्लानिङ टु फेल भनिन्छ। हामीकहाँ योजना बनाउँदा लगानी गरिँदैन। तयारी नै हुँदैन। हाइड्रो बनाउँदा कतिजना इन्जिनियर चाहिन्छ ? कस्तो खालको मेसिन चाहिन्छ ? मेसिन नेपालमै बनाउन सकिन्छ कि बाहिरबाट ल्याउनु पर्छ ?

बिग्रेको अवस्थामा कहाँ लगेर बनाउन सकिन्छ ? त्यतातिर ध्यान दिँदैनौं। परियोजनाको उद्घाटनमा मात्र ध्यान दिइयो। हामीले कसरी र किन भन्ने प्रश्नको उत्तरतर्फ गम्भीर भएनौं। के भन्नेमा मात्र ध्यान दियौं। त्यसैकारण विकास परियोजनाहरू समयमा सम्पन्न हुन नसकेका हुन्। हाम्रो विकासको वार्षिक योजना नै उपयुक्त छैन। समय, ज्ञान तथा सीप, पैसा र टिम गरी चार खालको लगानी गर्नुपर्ने हुन्छ। यी चारवटा पक्षमा राम्रो लगानी नहुँदा खेरि नै सधैं हाम्रा परियोजना ढिला हुन्छन्। परियोजना ढिला हुँदा कति क्षति पुगेको छ भन्ने कुरामा कहिल्यै ध्यान दिँदैनौं। अमेरिकामा सवारी जाममा पर्दाखेरि मात्रै १८ बिलियन घाटा हुन्छ भन्ने अध्ययन भएको थियो। हामीले कहिल्यै ध्यान दिएनौं। सडक राम्रो छैन तर हामी राम्रो गाडी चढ्न हतारिन्छौं। हामी नेपाली गरिब हौंला। तर, सेवा प्रवाह पनि गरिब हुनु भएन।

विकाससँग जोडिएका विषयहरूलाई कसरी व्यवस्थापन गर्नुपर्ला ? विकासमा समन्वय र प्रभावकारिता कसरी सम्भव छ ? 
विकासका क्रममा देखिएका संकट व्यवस्थापन गर्न सिक्नुपर्छ। अर्कोले जति दु:ख पायो आफूले त्यति नै दु:ख पाइन्छ भन्ने होइन। बाटो बनाउँदा नहेर्ने ? एकअर्काप्रति सम्मान र विश्वास भएन। बाटो बनाउँदा खानेपानी वा ढलसँग पनि समन्वय गर्नुपर्छ। सरकार भनेको मन्त्रिपरिषद् मात्र होइन। स्थायी सरकारका रूपमा कर्मचारी पनि छ। युरोप, जापान सबै कर्मचारीतन्त्रले गराएको होइन ? कुनै बेला जापानमा जति प्रधानमन्त्री फेरिने अन्य मुलुक नै थिएन तर त्यहाँ भव्य विकास छ। त्यसैले नेपालमा कर्मचारीतन्त्रमा पनि प्रश्न गर्नुपर्ने भएको छ। मन्त्री त बढीमा चार वर्ष रहने त हो नि। कर्मचारी त स्थायी सरकार हो नि।

विकसित देशजस्तै थिंक ट्यांक गठन गरी विकासका ढाँचा बनाउने आइडिया के हुन सक्छन् ?
विश्वविद्यालय सशक्त हुने हो भने छुट्टै थिंक ट्यांकको आवश्यकता नै पर्दैन। थिंक ट्यांक त परियोजनामा आधारित हुन्छ। पैसा भए गर्छ नभए गर्दैन। सबैभन्दा ठूलो पक्ष त राष्ट्रिय योजना आयोगसँग जोडिएको छ। योजना बनाउँदा अनुसन्धानमा आधारित हुनु पर्‍यो। प्रमाणमा आधारित (इभिडेन्स बेस) नीति बनाउनु पर्‍यो। व्यावहारिक शिक्षा हुनु पर्‍यो। असल अभ्यास हुनु पर्‍यो।

नेपालमा विकास कुटनीतिका समस्या के के छन् ? अन्य देशसँग सहकार्य गर्ने आइडिया के होलान् ?
विकास र कूटनीति दुई भिन्न हुन्। तर, जोडेर पनि हेर्न सकिन्छ। विकास भनेको स्वतन्त्र होइन। एकआपससमा भर परेर विकास गर्ने जमाना हो यो। त्यसैले विकास भनेको के हो ? कसका लागि र किन चाहिन्छ ? कसरी गर्न सकिन्छ भन्नेमा प्रष्ट हुनु पर्‍यो।  भौगोलिक स्थान, अवस्था र व्यापारका साथै इतिहास पनि हेर्नु पर्छ। नेपालको गौरवमय इतिहास पनि हेर्नु पर्ने भएको छ। भविष्य हेरेर कुद्नु पर्छ। आफ्नै विकासबारे प्रष्ट हुनु पर्छ। जैविक विविधता छ। त्यसको उपयोग कसरी गर्ने ? नेपाल त प्रयोगशाला हो। नेपालमा जति जैविक विविधता अन्य मुलुकमा छैन। तर, कहिल्यै सूक्ष्मरूपमा हेरेनौं। हाम्रै विषयमा विद्यावारिधि गरेर अरूले पढाइरहेका छन्। तर, हामी आफैं अनविज्ञ छौं। हामीले कुरा गर्छौं तर अरूले यथार्थमा ढालिदिन्छन्। पर्यटन विकास भन्छौं। अझै पनि सात सय वर्ष पुरानो मन्दिर देखाउँछौं। विडम्बना, त्यही मन्दिरको पनि संरक्षण गर्दैनौं। विकासको सम्भावना नभएको होइन। तर, त्यसका लागि चाहिने तत्त्व के हो ? त्यसमा प्रष्ट हुनु आवश्यक छ।

नेपालले अन्य देशसँग के कस्ता विषयमा कुटनीतिक पहल गर्न सक्छ ?
स्विट्जरल्यान्डले झैं तटस्थ मुलुकका रूपमा कूटनीति गर्न सक्छौं। मैले चारवटा कुरामा बढी सम्भावना देखेको छु। एउटा, पानी कूटनीति हो। नेपालबाट पानी मात्र होइन माटो, जडीबुटी पनि भारत गएको छ। पानीको लागि त नेपाल संसारको रिसर्च हब हुन सक्छ। विश्वका विभिन्न मुलुकबाट यहाँको पानीमा अनुसन्धान गर्न आउँछन् किनकि आठ हजारभन्दा बढी खोलानाला छन्। पानीको अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र किन नबनाउने ? त्यसपछि जलवायु विविधता हो। जलवायु परिवर्तनले पारेको असरमा पनि अध्ययन गर्न बाहिरी मुलुकबाट ल्याउन सक्छौं। तेस्रो, सांस्कृतिक पक्ष पनि हेरौं। संस्कृति कूटनीति जनताबीच हुने हो। यहाँको मन्दिरहरूलाई आर्किटेक्टरको पाठ्यक्रममा किन नराख्ने ? यहाँका मन्दिरले कतिवटा भुइँचालो खप्यो ? अध्ययनको विषय हो।

भगवान् गौतम बुद्ध जन्मेको मुलुक भनेर मात्र हुँदैन। फोटो टाँसेर मात्र केही हुने होइन। बुद्धको दार्शनिक पक्ष व्यवस्थापनको विषयमा हाल्नुपर्छ। बुद्धको दर्शनलाई सुशासनमा हालौं त। चीनमा बुद्धधर्मावलम्बी धेरै छन्। चीनबाट पर्यटकका लागि प्याकेज गर्‍र्यौं ? साउदीमा मक्का छ। कसरी विकास गर्‍यो ? हेर्नुहोस् त। हामीकहाँ लुम्बिनी छ। हिन्दूधर्मावलम्बीका लागि पशुपतिनाथको मन्दिर छ। क्रिश्चियनहरूका लागि पनि आफ्नै ठाउँ छ। अन्यत्र धार्मिक हिंसा भए। तर, नेपाल धार्मिक हिंसा नभएको मुलुक हो। नेपाललाई साउथ एसियन स्टडिज सेन्टरको रूपमा पनि विकास गर्न सकिन्छ। कूटनीतिमा पहिला आफ्नो महत्त्व बुझाउनु पर्छ। रिसोर्सेजसँग जोड्नु पर्छ। कूटनीतिले स्रोतसाधन जुटाउने हो। अनुपम मुलुक र थुप्रै सम्भावना भएकाले नेपाललाई रिसर्च हब बनाउन सकिन्छ।

गौतम बुद्धको ज्ञान अझैं सान्दर्भिक मानिन्छ। यसलाई व्यावहारिक एवं सान्दर्भिक बनाउने उपाय के छन् ?
नेपालमा शिक्षा र स्वास्थ्यलाई पैसासँग जोडिएको छ। क्षमता विकासमा जोड दिउँ। शिक्षकले आफूभन्दा विद्यार्थी दस गुणा स्मार्ट छ भन्ने कुरा बुझ्नु पर्‍यो। कक्षामा पढाउने होइन। सहजकर्ता बन्ने हो। तथ्यांकगत सूचना र ज्ञान अलगअलग हुन भनेर सिकाउनु जरुरी छ। सूचना संकलन त जसरी पनि गर्न सकिन्छ। विश्वविद्यालयमा एप्लाइड र एक्सन रिसर्च हुनुपर्छ। रिसर्चमा अनुदान प्रदान गर्नु पर्छ। अब्राहम लिंकनले यदि मसँग ६ घण्टाको समय छ भने चार घण्टा बञ्चरोमा धार लगाउन बिताउँछु भनेको कुरा लागू गरौं।

उपचारमा समतामूलक पहुँच पुर्‍याउन के गर्नुपर्ला ?
स्वास्थ्य भनेको बृहत् विषय हो। स्वास्थ्य भनेको रोगलाई मात्र बुझनु भएन। अहिले त अस्पताल, चिकित्सक, नर्सलाई मात्र स्वास्थ्य क्षेत्रका रूपमा हेरिएको छ। प्रदूषण पनि स्वास्थ्यसँग जोडिएको विषय हो। कामले सिर्जना गर्ने तनाव पनि स्वास्थ्य हो। विश्व स्वास्थ्य संगठनले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्न भनेको छ। यो भनेको क्लिनिकलका लागि मात्र हो। रोकथाम, संरक्षण र उपचारका लागि हो। नेपालमा स्वास्थ्य भन्ने कुरामा व्यक्तिगत तवरमा छोडिदिएको छ। कुनै व्यक्ति बिरामी भयो भने त्यो व्यक्तिको गल्ती हो भन्ने हेराइ र बुझाइ छ। गाउँमा रहेका सरकारी  स्वास्थ्य संस्था बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुल्छ। त्यो समयभन्दा अघि र पछि बिरामी नै हुन नपाउने ? स्वास्थ्य सेवा त चौबिसै घण्टा हुनुपर्छ। स्वास्थ्य र शिक्षामा ताल्चा लगाउने मुलुकको विकास हुन सक्दैन।

जनस्वास्थ्य विज्ञहरू चाहिएको छ। उपकरणमा पनि लगानी गर्नुपर्छ। स्वास्थ्य उपकरणमा लगानी नगर्नु भनेको पाइलट पढेर प्लेन नभएको जस्तै हो। कोभिडको संक्रमणले जनशक्ति र पूर्वाधारलगायतको कमी रहेछ भन्ने कुरा सिकायो। सरकारले प्रत्येक नागरिकको स्वास्थ्य बिमालाई अनिवार्य गराउनु पर्छ।

नेपाल जडीबुटीको भण्डार हो। हामी भने विदेशबाट आयातित महँगो औषधि सेवन गर्न बाध्य छौं। जडीबुटीलाई औषधि निर्माण गर्ने उद्यमशीलतामा रूपान्तरण गर्ने उपाय के हुन् ?  
नेपालमा वनस्पति विज्ञहरू कति हुनुहुन्छ ? जनशक्ति र प्रविधिमा लगानी गर्नु पर्‍यो। सबैभन्दा पहिले त जडीबुटीको प्रकार र महत्त्व बुझ्नु पर्‍यो। जडीबुटी कति छ ? त्यसका लागि अनुसन्धान गर्नुपर्‍यो। त्यसको मूल्य कस्तो छ ? हेर्नुपर्छ। त्यसका लागि राज्यले वा अन्य क्षेत्रबाट लगानी हुनु पर्‍यो। तीतेपातीबाट तेल बन्छ। त्यो तेल कति फाइदाजनक छ ? अनुसन्धान हुनुपर्‍यो। तीतेपातीमा एन्टिब्याक्टेरियल तत्त्व पाइन्छ। गाउँतिर मल बनाइन्छ। सहर र विदेशमा यसको तेल महँगो छ। तर हामीले यसको महत्त्व बुझाउन सकेनौं। यसको जवाफ भनेको अनुसन्धानले नै दिने हो। जडीबुटीको भण्डारण हुनुका नाताले मुलुकलाई नै रिसर्च हब बनाइदिऊँ न। यसका लागि क्षमता वृद्धि गर्नुपर्छ। नेपाल मात्र होइन, अन्य मुलुकबाट पनि जनशक्ति ल्याउनु पर्छ। 

समृद्धि समृद्धि भनिरहेका छौं। तर, पाइरहेका छैनौं। समृद्ध हुने आइडिया के होला ?
नेपालीको लागि समृद्धि के हो ? समृद्ध नेपाल हुन चाहिने तत्त्वहरू के के हुन् ? नेपाल समृद्ध हुनुभन्दा पहिले नेपाली समृद्ध हुनुपर्छ। यसको अर्थ हो जनशक्तिमा लगानी हुनुपर्छ। जनता समृद्ध नभई कहाँ मुलुक समृद्ध हुन्छ ? जनता शिक्षित नभए देश कसरी शिक्षित हुन्छ। देशै शिक्षित नभए औद्योगिकीकरण कसरी हुन्छ ? समृद्धिको अनुभूति काठमाडौं बस्नेले मात्र होइन, लुक्ला र जनकपुरमा बस्नेले पनि पाउनु पर्छ। मेचीदेखि महाकालीसम्मका व्यक्तिहरू जोडिनु पर्छ। १० जना व्यक्ति खुसी हुँदैमा देशै खुसी भएको ठान्नु हुँदैन। नेपालको लागि विकासको परिभाषा नयाँ ढंग र शैलीले गर्नुपर्छ। 

विश्वमा नेपाल र नेपालीलाई पहिचान दिने आइडिया के हुन् ?
अतीतमा भएको कामलाई वर्तमानमा पनि पहिचान दिइरहेका छौं। कुनै मुलुकमा वीर गोरखा भनेर चिनिएला। कुनै मुलुकमा गरिब देश भनेर चिनिएको होला। तर, भविष्यमा कस्तो पहिचान दिने यसको चुनौती छ। विकसित मुलुकमा नेपालको आइडेन्टिटी क्राइसिसको चुनौती छ। त्यसैकारण हामीले नौलो पहिचान खोज्नु पर्ने भएको छ। अब  अतीतमा गर्व गरेर मात्र हँुदैन। प्रकृतिको धनी देश भनेर मात्र भएन। यसले जनजीवन र अर्थतन्त्रमा कसरी प्रभाव पारेको छ ? त्यो हेर्नुपर्छ। नेपाल त प्रकृतिले दिएको चिजलाई सदुपयोग गर्न नसकेको मुलुक जस्तो लाग्छ। कहाँ लगानी गरियो भने मुलुकको नौलो पहिचान बन्ला भनेर अनुसन्धान गर्नुपर्ने बेला भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.