मुस्ताङमा विदेशी पर्यटक
जोमसोम : कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाईएको जारी निषेधाज्ञा भदौ २२ गतेदेखि खुकुलो भएसँगै आशिंक रुपमा विदेशी पर्यटक मुस्ताङ आउन थालेका छन्। कोरोनाको दोश्रो भेरियन्टसँगै प्रभावित बनेको मुस्ताङको पर्यटनक्षेत्र विदेशी पर्यटकको उपस्थिति हुन थालेपछि पुन लयमा फर्किने अपेक्षा गरिएको छ।
मुस्ताङमा निषेधाज्ञा खुकुलो बनेसँगै ५ दिनको फेरोमा २० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख ऋषि बरालले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए ।
कार्यालय प्रमुख बरालका अनुसार मुस्ताङ भित्रिने २० पर्यटक मध्ये १६ जनाले धौलागिरि आईफल हुँदै राउण्ड धौलागिरिको यात्रा गर्नेछन् भने बाँकी ४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गर्ने कार्यतालिका रहेको छ।
मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएसँगै शुक्रबार ८ जना विदेशी पर्यटक म्याग्दीको घोरपानी हुँदै मुस्ताङ भित्रिएका थिए भने अरु ३ जना विदेशी पर्यटक हेलिकोप्टर चार्टर गरी मुस्ताङको मार्फा अवतरण गरेका थिए।
अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमका अनुसार राउण्ड धौलागिरि पदयात्रा गर्ने उद्देश्यले पोल्याण्ड र हंगेरीका २÷२ जना पर्यटक र फ्रान्स, स्वीडेन, मेक्सिको र चाईनाका १-१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।
यस्तै,आईतबार पनि राउण्ड धौलागिरि पदयात्राका लागि ५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जसमध्ये अमेरिकाको २ जना र भारतको ३ जना विदेशी पर्यटक मुस्ताङ आएको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले जनाएको छ ।
यस्तै, लामो समयसम्म सून्य अवस्थामा रहेको उपल्लो मुस्ताङमा समेत विदेशी पर्यटक पुग्न थालेका छन् । एक्याप जोमसोमका अनुसार आईतबार मात्र ३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।
उपल्लो मुस्ताङ भ्रमणको लागि चेक रिपब्लिक, ईजराईल र बेलारुसको १-१ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए । सोमबार अर्का एक जना अष्ट्रेलियाका विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमणका लागि हेलिचार्टर गरी मुस्ताङको जोमसोम आईपुगेका छन् । मुस्ताङ आईपुगेका विदेशी पर्यटक आईतबार उपल्लो मुस्ताङको पदयात्रामा निस्किएको जनाईएको छ ।
मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकलाई ७२ घण्टे पिसिआर, ४८ घण्टे एन्टिजेन परिक्षणको रिपोर्ट र खोप कार्डको आधारमा जिल्ला प्रबेश गर्ने अनुमती जिल्ला सिसिएमसी बैठकले निणर्य गरेको थियो ।
कोरोना रिपोर्ट र खोप कार्डको आधारमा मुस्ताङ प्रवेशको अनुमती दिने निर्णय भएपछि पर्यटक मुस्ताङ आउन थालेका हुन् । कोरोना कहरका कारण जिल्लाको अर्थतन्त्र सुस्ताएको भन्दै आर्थिक चलायमान गराउन स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो पारेको थियो ।
गत हप्ता जिल्ला प्रशासन कार्यालय मुस्ताङमा भएको सर्वदलिय तथा सर्वपक्षिय बैठकले आर्थिक अवस्था चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सिसिएमसीले राय सुझाव दिएको थियो । यसअघि कोरोना माहामारीको पहिलो लहरपछि विस्तारै लयमा फर्किन थालेको मुस्ताङको पर्यटन ३ महिनापछि बन्द भएको थियो ।
निषेधाज्ञा खुकुलो पारिएसँगै निर्वाध रुपमा हवाई सेवा तथा लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालनमा कुनै रोक नहुने जनाईएको छ । मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै राउण्ड अन्नपूर्ण पदयात्रा गर्ने विदेशी पर्यटक पनि मुस्ताङ आउने पर्यटन व्यवसायीहरुको अपेक्षा गरिएको छ ।
स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमितको संख्या क्रमशः न्यूनिकरण हुदै गईरहेको र संक्रमण जोखिम कम भएकाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मुस्ताङ भ्रमण गर्नमा कुनै रोकतोक नहुने जनाएको छ। तर मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएपनि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर तत्काल नखुल्ने जनाएको छ ।
स्थानीय प्रशासनले मन्दिर, चर्च, गुम्बा, मस्जिद,चैते र बिहार जस्ता धार्मिक स्थलमा नियमित नित्यकर्मबाहेक मानव जमघट तथा दर्शन लगायतका गतिविधि गर्नमा रोक लगाएको छ । मुस्ताङका अधिकांश पर्यटन व्यवसायीले मुक्तिनाथ मन्दिर खुल्ला गर्न माग गरेपनि स्थानीय र मुक्तिनाथ विकास समितिबीच यसअघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै तत्काल मन्दिर खोल्ने पक्षमा मुक्तिनाथबासी छैनन् ।
मुक्तिनाथ मन्दिर खुल्ला नभएसम्म जिल्लामा आन्तरिक पर्यटक उपस्थिति उल्लेख्य नहुने मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले उल्लेख गरे। उनले अन्य जिल्लामा धार्मिक स्थल विस्तारै खुल्ला हुँदै गईरहेकाले काभिड सुरक्षा मापदण्ड अपनाएर मुक्तिनाथ मन्दिर खोल्न ढिला गर्न नहुने जनाए ।
हिमाली जिल्ला मुस्ताङमा निषेधाज्ञा खुकुलो पारिएपनि अझै पर्यटकीय रौनकता वृद्धि हुन सकेको छैन । वर्षेनि ६० हजार विदेशी पर्यटक भित्रिने मुस्ताङमा दुई तिहाई भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्नका लागि आउने गरेको अध्यक्ष तुलाचनले बताए । उनले मुक्तिनाथ नखुल्दा सम्म पर्यटन व्यवसायमा आशावादी हुन नसक्ने जनाए। गण्डकी प्रदेशको पर्यटकीय लाईफलाईन मुक्तिनाथ मन्दिर खोले मात्र प्रदेशको पर्यटन क्षेत्र चलायमान हुन सक्ने उनको भनाई छ ।