नेपाली सिनेमाका रंग र पर्व
नेपालका कैयन चलचित्रकर्मीले भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियामै पढेर आए।
भारतीय मूलका नेपाली हीरासिंह खत्रीलाई भारतको मुम्बईमा आफ्ना सुरक्षा अधिकृत शेरबहादुर मल्लमार्फत भेटेपछि तत्कालीन राजा महेन्द्रले उनलाई नेपाल आएर फिल्म बनाउन आग्रह गरे। देशमा भर्खरै संसदीय दलको विस्थापन भएको र देशमा खल्बली भइरहेको कारण नेपाल आएर पनि देहरादुन निवासी हीरासिंह खत्रीले फिचर फिल्म नबनाएर पहिलो वृत्तचित्र श्री ५ महेन्द्रको ४२औँ जन्मोत्सव बनाए।
सुरुआतमा नेपाली सिनेमामा भारतीय प्रसंग
नेपाली भूभागमा बनेको यो पहिलो वृत्तचित्र निर्देशक, छायाकार सबै प्राविधिक भारतीय भए पनि यसमा संयोगले गीतकार श्यामदास वैष्णव थिए भने यस गीतकार र संगीतकार शिवशंकर मानन्धर नेपालकै थिए। स्वराष्ट्रका हे नायक बोलको गीत शिवशंकरले आफ्नै संगीतमा गाएका थिए। यो २०१८ सालको कुरा भयो। यसै समय व्यापारको सिलसिलामा भारतमा आवतजावत गरिरहने न्युरोडस्थित होटल पारसका साहु मथुरादास श्रेष्ठले पहाडी जवान नामक हिन्दी फिल्म बनाए।
पहाडी जवानमा मथुरादास आफैँ नायक र निर्माता थिए यसमा बलिउडका अभिनेता ओमप्रकाश प्राविधिक सल्लाहकार थिए। यस फिल्ममा नायिका कृष्णकुमारी, हबिब आदिले अभिनय गरेका थिए। यस चलचित्रमा मथुरादासले आफ्नो नाम अजयकुमार राखेका थिए। सिनेअनुरागी माइक खड्काका अनुसार पहाडी जवान नेपालीको लगानीमा बनेको पहिलो हिन्दी फिल्म थियो। यो भारतको पटना, मोतिहारी, देहरादुनमा रिलिज भएको थियो तर यसको प्रदर्शन काठमाडौंको रञ्जना हलमा सात दिन मात्र भयो। रञ्जना हलमा सिनेमा चल्दाचल्दै मथुरादासका भाइ मोहनदासका ससुरा रञ्जना हलका साहुले फिल्म उतारी दिए।
रुसमा रेस्लिङमा गोल्डमेडल लिएर आएका मथुरादासले त्यसबेला हिन्दी फिल्म मुकाबिलामा पनि अभिनय गरिसकेका थिए। पहाडी जवान काठमाडौंमा राम्रो रिलिज नहुनु र भारतमा यसले सफलता नपाउनुको कारण त्यतिबेला श्यामश्वेत फिल्म विस्तारै रंगीनतिर जाँदै थियो। पहाडी जवानका नायक मथुरादासका भाइ यसै फिल्मका अर्का निर्माता जगमोहनदास श्रेष्ठले पछि माइतीघरमा माला सिन्हाको ज्वाईंको रूपमा अभिनय पनि गरे। पहाडी जवान बनेको केही समयपछि मात्र सुमनाञ्जली फिल्म्स्पछि माइतीघर बनाउने निर्णय गर्यो।
निजी क्षेत्रमा पहिलो कदम
निजी क्षेत्रको पहिलो नेपाली फिल्म माइतीघरको सम्पूर्ण स्क्रिन टेस्ट, भ्वाइसटेस्ट होटल पारसमै भएको थियो। माइतीघरका गायक प्रेमध्वज प्रधानका अनुसार यस फिल्मका संगीतकार जयदेव र उनका सहायक गायिका मीनू पुरुषोत्तम यसै होटलमा बसेका थिए। यही होटलमा प्रेमध्वज प्रधान, अरुणा लामा, नारायणगोपाल, सीपी लोहनी आदिको स्वरपरीक्षण गराइएको कुरा निर्माण नियन्त्रक एन के तिमल्सिनाले बेलाबेलामा चर्चा गरेका छन्।
माइतीघरमा पनि सम्पूर्ण प्राविधिक टोली र धेरैजसो कलाकार भारतीय नै थिए। यसमा गायक मन्ना डे, गीता दत्त, लता मंगेशकर, आशा भोँसेले, उषा मंगेशरले गाएका थिए भने अभिनेतामा सुनील दत्त, राजेन्द्र नाथ आदिले अभिनय गरेका थिए। यस फिल्मका निर्देशक बीएस थापा नेपाली मूलका भारतीय थिए। देहरादून निवासी थापाले माइतीघर पछि कान्छी, मायाप्रीति बनाए भने जीवनमृत्यु नामक सिनेमाको निर्माणको घोषणासम्म गरे।
माइतीघर बनेकै साल राष्ट्रिय निर्देशन मन्त्रालयअन्तर्गत प्रचारप्रसार डिभिजनले आमा बनाउने घोषणा गरे। आमामा भारतीय नेपाली हीरासिंह खत्रीले निर्देशन गरे यस फिल्मका लागि उनले क्यामेराम्यान देउजी पठारेलाई बोलाए। देउजी पठारेले नै आमाका निम्ति शिवशंकर र भुवन थापालाई स्क्रिन टेस्ट गरे। नेपाली सिनेमामा भारतीय निर्देशक वा प्राविधिकको खोज २० को दशकदेखि हुन थालिएको हो भन्दा फरक नपर्ला। नेपालमा नाटक वा रंगकर्मको सक्रियता भए पनि चलचित्र लेखन, निर्देशन वा अन्य पक्षमा नेपालीको भूमिका न्यून नै थियो।
राष्ट्रिय नाचघरमा प्रदर्शन भएको समको चेतना नाटक हेरेँ। त्यसपछि तत्कालीन राजा महेन्द्रले यसलाई फिल्म बनाउनु भनेर आदेश दिए। जसमा चेतन कार्कीले पटकथा संवाद लेखे।
भारतको बम्बई फिल्म उद्योगमा हीरासिंह खत्री, बीएस थापाबाहेक खड्गबहादुर लामिछाने र प्रकाश थापाबाहेक अन्य कर्मीहरू बम्बईमा थिएनन्। प्रकाश थापा बम्बई फिल्म उद्योगमा जुनियर आर्टिस्टका रूपमा चिनिन्थे भने खड्गबहादुर लामिछाने निर्माण नियन्त्रकका रूपमा चर्चामा थिए। खड्गबहादुर लामिछानेले नै माइतीघरको कथाको परिकल्पना गरेका हुन्। देहरादुन निवासी हीरासिंह खत्रीले आमापछि ‘हिजो आज भोलि’ बनाए त्यसपछि उनले आफ्नो जीवनकालमा अन्तिम फिल्म परिवर्तन बनाए। परिवर्तन प्रसिद्ध गायक संगीतकार एवम् अभिनेता जनार्दन समको नाटक चेतनामा आधारित थियो। राष्ट्रिय नाचघरमा प्रदर्शन भएको समको चेतना नाटक हेरे। त्यसपछि तत्कालीन राजा महेन्द्रले यसलाई फिल्म बनाउनु भनेर आदेश दिए। जसमा चेतन कार्कीले पटकथा संवाद लेखे।
‘परिवर्तन’ धेरै कारणले नेपाली चलचित्रको एक महत्वपूर्ण फिल्म मान्न सकिन्छ। यसमा पहिलो पटक सम्पूर्ण रूपले नेपाली कलाकारले गीत गाए भने धेरै मात्रामा नेपाली प्राविधिकले काम गरे। नारायणगोपाल, मीरा राणाले यसमा पहिलो पटक गीत गाए भने चेतन कार्कीले पहिलो पटक यसमा गीत लेखे। यही फिल्मबाट पहिलो पटक दरबारको स्वीकृति लिएर नीर शाह चलचित्रमा अभिनेताका रूपमा आए। परिवर्तनमा बलिउडका प्रसिद्ध भ्वाइलेनवादक बलसारा भाइच् (भी बलसारा) ले संगीत गरेका थिए, बलसारा त्यतिबेला मुम्बई छोडेर कोलकत्ता सरिसकेका थिए। भी बलसाराले बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाखा, बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने, सुन सुन आज मौसमले के भन्छ, जतिको माया मेचीलाईजस्ता गीतमा बलशाली संगीत गरे।
परिवर्तनको इन्डोर सुटिङ कोलकत्ताको टलिगन्जमा भएको थियो। परिर्वतनको निर्माणपछि नेपालमा शाही नेपाल चलचित्र संस्थानको स्थापना भयो। संस्थानको स्थापना नेपालमै प्रविधि सम्पन्न ल्याब बनाउने अनि प्राविधिक नेपालमै उत्पादन गर्ने थियो तर संस्थानले पहिलो फिल्म मनको बाँध बनाउन भारतमा बस्दै आएका नेपाली प्रकाश थापालाई नेपाल बोलाए। बम्बईमा हिन्दी फिल्म अभिनय गरिरहेका थापाले मनको बाँध पछि सिन्दूर, जीवनरेखा, सन्तान, कन्यादान आदि चलचित्र बनाए। उनले चलचित्रमा एउटा पाटोमा भारतीय प्राविधिज्ञको ठूलो भूमिका थियो, त्यो हो पटकथा र संवाद। निर्देशक थापा आफ्नो फिल्मको स्क्रिनप्ले बलिउडका प्रसिद्ध निर्देशक विमल रायका सहायक देबु सेनलाई हिन्दीमै लेखाएर ल्याउँथे। देबु सेनले हिन्दीमा लेखेको स्क्रिप्टलाई नेपालीमा उनका कुनै सहायकले गर्थे।
देबु सेनलाई स्क्रिप्ट लेखाउने परम्परामा पछि अन्य निर्देशकहरू पनि आए। बन्दिनी फिल्मबाट विमल रायका सहायक भएका देबु सेन गुलजार, वासुु भट्टाचार्यका समकालीन थिए। उनले पनि पछि शाही नेपाल चलचित्र संस्थानसित संयुक्त लगानीमा पञ्चवटी नामक फिल्म बनाए, जुन नेपालमा प्राविधिक कारणले रिलिज हुन पाएन।
नेपाल बाहिर नेपालीको सक्रियता
पञ्चवटी बन्नुभन्दा दुई दशक अघि सिक्किमको गान्तोकबाट श्याम प्रधानले आफ्नो एकल लगानीमा एच के कौलको निर्देशनमा रोमियो इन् सिक्किम बनाए, यसमा नेपाली मूलका भारतीय गान्तोक निवासी श्याम प्रधान नायक थिए भने नायिकामा आभा धुलिया थिइन्। रोमियो इन् सिक्किमबाट नै तुलसी घिमिरे र चन्द्रप्रकाश घिमिरेले चलचित्र जगत्मा पाइला टेकेको निर्माता नायक प्रधानको दाबी छ। प्रधानले यसपछि हिन्दी नेपालीमा सञ्जीवनी र नेपालीमा भूल भन्ने फिल्म बनाए।
नेपाल बाहिर बसेर भारतमा गैरनेपाली फिल्म बनाउने निर्मातामा भरतशमशेर राणाको नाम आउँछ। कोलकत्तास्थित चित्राञ्जली फिल्मस्को ब्यानरमा राणाले विश्वप्रसिद्ध फिल्म निर्देशक सत्यजित रेको निर्देशनमा सीमाबद्ध नामक फिल्म बनाए। राणापछि सम्म कलकत्तामै बसेर फिल्म बनाइरहे। बंगाली सिने उद्योगमा भरतशमशेर राणाको अतुलनीय योगदान रहेको चर्चा फिल्म पत्रकार गर्ने गर्छन्। नेपाली सिनेमाको निर्माण क्रममा भारतबाट सुरुआतबाट क्यामेराम्यान, मेकअपम्यान, फाइट कम्पोजर झिकाउने गरेको पाइए पनि पछि गएर गीत रेकर्ङिङमा पनि मुम्बई र कोलकत्ताका प्राविधिकको धेरै हात रह्यो।
भारतमा रेकर्ङिङ भएका प्राय: नेपाली फिल्ममा कुमार सानु, अभिजित, सोनु निगम, विनोद राठौर, साधना सरगम, बाबुल, सञ्जीवनी, अनुप जलोटा, पंकज उदास, अनुपमा देश पाण्डे, अलिशा चिनाय आदिले गाइरहे भने संगीतकारमा समेत जय देव, सुरेशकुमार, मनोहरि सिंह, उत्तम सिंह आदिले सहभागितामूलक भूमिका निभाइरहे। आज नेपाली सिनेमाको आधा शताब्दी लामो इतिहास हेर्ने हो भने भारतमा गएर काम गर्ने नेपाली चलचित्रकर्मीको तुलनामा नेपालमा आएर काम गर्ने भारतीय चलचित्रकर्मीको संख्या गण्य देखिन्छ। नेपालका कैयन चलचित्रकर्मीले भारतको पुणेस्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ भारतमै पढेर आए। चलचित्र अभिनेता जगन्नाथ तिमिल्सेना, बलमान सिंह स्वार, टीका पहारी, रीताराज गुरुङ, प्रदीप उपाध्याय, लक्ष्मीनाथ शर्मा, लक्ष्मीनाथ भट्टराई, प्रेमबहादुर बस्नेत, राजेश लामिछाने, राजु थापा, सतीश कोइराला, मधुकर बस्नेत, नरेन्द्र खड्का केही यस्ता स्मरणीय नाम हुन्। भारतीय सिनेमाबाट आफ्नो अभिनय यात्रा सुरु गरेर नेपाली सिनेमामा प्रवेश गरेका गोपाल भुटानी, शान्ता नेपाली, रजनी शर्मा, टीका पहारी, मुरलीधर मिजार, मीनाक्षी आनन्द वा सुनील थापा हुन् वा नेपाली सिनेमाबाट आफ्नो यात्रा सुरु गरेर बलिउड पसेका मनीषा कोइराला वा करिश्मा केसीले कहीँ न कहँी आधा शताब्दी लामो नेपाली सिनेमाको रंगीन पर्दामा रंग वा राग थप्न अवश्य सफल भएका छन्।
नेपाली सिनेमाको सम्भावनाको खोजी गर्दा भारतीय भूमिबाट सुरु भएको संघ राठीको सत्य हरिश्चन्द्रको यात्रामा नरबहादुर दाहालले कास्टिङ निर्देशक भएर काम सुरु गरेदेखि डिजिटल सिनेमाको यो युगमा आइसकेर कागबेनीमा भारतको दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालय पढेर आएका अनुप बरालले कास्टिङ डाइरेक्टर सम्हाल्दा हामी इतिहासको त्यही पाटोमा पुग्छौैं जहाँ एक पुस्ताबाट अर्को पुस्तामा विस्तारै पुस्तान्तरण भइरहेको छ। सत्य हरिश्चन्द्रमा नरबहादुर दाहाल कास्टिङ डाइरेक्टर थिए भने कागबेनीमा उनकै भतिजा पर्ने भूषण दाहाल निर्देशक रहे। अहिले पनि हाम्रो प्राविधिक पक्षमा भारतको राज छ कि छैन, प्रश्न त त्यही नै छ।