तरकारीले फेरेको गाउँको मुहार

तरकारीले फेरेको गाउँको मुहार

मकवानपुर : बेलबहादुर मोक्तानलाई गाँजा रोप्दादेखि नबेच्दासम्म प्रहरी प्रशासनदेखि चोरीको डर हुन्थ्यो। उनले गाँजा बेचेर वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेनन्। 

मकवानपुरको कैलाश गाउँपालिका– ६ स्थित दुम्सीखर्कमा मोटरबाटो पुगेपछि गाँजा खेती छाडेर उनी तरकारी खेतीमा लागे। व्यावसायिक तरकारी खेती गरेपछि उनले आफ्नो जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन। करिब २५ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका उनी वार्षिक १५ लाख रुपैयाँ बढी आम्दानी गर्छन्। ‘यही पैसाले छोराछोरी हेटौंडामा राखेर निजी विद्यालयमा पढाएँ’, मोक्तानले भने, ‘गाँजाले भन्दा हामीलाई तरकारीले नै राम्रो गरेको छ।’

गाँजा गाउँले चिनिँदै आएको दुम्सीखर्कका कर्णबहादुर स्याङ्तानले पनि गाँजा खेती छाडेर तरकारी खेती थालेपछि दुःखको दिन सकिएको महसुस गरेका छन्। तरकारी खेती थालेको एक दशकको बीचमा उनी एक सफल र उदाहरणीय किसान बनेका छन्। ‘चिसो हावापानीले गर्दा चैतमा रोपेको मकै फागुनमा मात्र टिप्न मिल्थ्यो’, स्याङ्तानले भने, ‘बाध्यताले गाँजा खेती गर्‍यौं तर गाँजामा भन्दा तरकारीमा पैसा रहेछ।’ एक रोपनी बारीबाट मुस्किलले १५ हजार रुपैयाँको गाँजा बेच्ने उनी अहिले ५० हजार रुपैयाँभन्दा बढीको तरकारी बेच्छन्। 

तामाङ र गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँमा उनीहरू जस्तै दर्जनौं सफल किसान छन्, जसले तरकारी खेतीबाटै छोराछोरीको पढाइसँगै सहरबजारमा घर घडेरी जोड्न सफल भएका छन्। आलु, काउली र बन्दा यहाँको प्रमुख तरकारी बाली हो। 

छिमेकी गाउँघरका धेरै युवाहरू गाँजा कारोबारका कारण कारागार पुगेका छन्। ‘गाउँमै ठेकेदार आउँछन्, बिक्रीको लागि पनि समस्या छैन’, स्थानीय कामीसिं स्याङ्तान भन्छन्, ‘मकै खेती गर्दा खान पुग्दैनथ्यो। गाँजाले बर्बाद बनाएको गाउँमा तरकारीले खुसीयाली ल्याएको छ।’  एक दशकअघि गाँजा खेती गर्दा यहाँका एक दर्जनभन्दा व्यक्ति गाँजा बिक्रीको लागि भारतर्फ जाँदै गर्दा पक्राउ परे। ती सबै व्यक्तिहरू कारागारबाट छुटेर फर्किएपछि तरकारी खेती गरिरहेका ६ नम्बर वडाध्यक्ष ठूलोकान्छा लामाले बताए। ‘गाउँमा सडक नआएको भए गाउँ नै युवाविहीन अवस्थामा पुग्ने थियो होला’, उनले भने, ‘गाउँमा मोटर आएपछि गाँजा छाडेर तरकारी खेती गर्दा जेल पर्ने र वैदेशिक रोजगारीको लागि देश छाड्नुपर्ने बाध्यता हटेको छ।’

दशक अघिसम्म गाउँमा एसएलसी पास गरेको व्यक्ति नभएको बताउँदै अध्यक्ष लामाले आजभोलि यहाँका प्रायः सबै अभिभावकले छोराछोरी हेटौंडामा राखेर निजी विद्यालयमा पढाइ रहेको बताए। अन्य गाउँको तुलनामा यहाँबाट वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या पनि न्यून रहेको छ। तत्कालीन जिल्ला विकास समितिले गरिबी निवारण कोषको सहयोगमा एक दशकअघि त्रिभुवन राजपथअन्तर्गत दामनबाट दुम्सीखर्कसम्म मोेटरबाटोको ट्र्याक खोलेको थियो। त्यसपछि यहाँका करिब एक सय परिवारले गाँजा छाडेर तरकारी खेती सुरु गरेका हुन्। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.