मुस्ताङका महिलाले सुरु गरे 'सिवकर्थोन' को जुस उत्पादन
जोमसोम : मुस्ताङका महिलाहरुले सिवकर्थोन को जुस उत्पादन सुरु गरेका छन्। वारागुङ मुक्तिक्षेत्र गापा—१ झारकोटका महिलाहरूले सिवकर्थोन संकलन गरी प्रशोधन गर्न थालेका छन्। उनीहरुले यसलाई वैकल्पिक आयआर्जनको माध्यम बनाएका छन्।
हिमाली जिल्ला मुस्ताङमा परापूर्वकालदेखि विभिन्न जटीबुटी पाइन्छ। यस्ता जटीबुटी आयुर्वेदिक चिकित्साको परम्परागत रुपमा घरेलु उपचारको रुपमा प्रयोग हुने गरेको छ। उच्चपहाडी भू—भागमा बहुमुल्य यार्सा गुम्बा, निरमसी, जटामसी, पाँच औंले, बनलसुन, बन जिम्बु र सिवकथोर्न जस्ता जटीबुटी पाइन्छ। यी जटीबुटीको यथोचित व्यवस्थापन र प्रर्वद्धन हुन सकिरहेको छैन।
अन्नपूर्ण संरक्षणक्षेत्र अन्तर्गत मुस्ताङमा सिमान्तकृत तथा गरिव जनताको जीवन स्तर उकास्ने महत्वपूर्ण बन्य दुई प्रजातीको नेपाली नाम हो 'डालेचुक’ र 'भुईंचुक’। यो ईलाग्नेसी प्रजातीको बहुउपयोगी काँडेदार र पतझड बनस्पती हो। यसका स—साना बुट्यानदेखि झाडीदार मझौला रुखसम्म हुन्छन्। यसलाई भाषामा अंग्रजी भाषामा 'सिवकथोर्न’ र तिब्बती भाषामा 'तर्बु' भन्ने गरिन्छ।
यस प्रजाती अन्तर्गत पर्ने स—साना बुट्यान भएको बनस्पतीलाई स्थानीय गुरुङ भाषामा तोरा र झाडीदार मझौला रुख भएको बनस्पतीलाई थकाली भाषामा चिची भन्ने गरिन्छ। यसप्रकारको बनस्पती मुस्ताङसहित मनाङ र डोल्पा लगायतका हिमाली जिल्लामा पाइन्छ।
समुन्द्री सतहदेखिको ३३ सय मिटरदेखि ४५ सय मिटरको उचाइमा सिवकथोर्न अर्थात तोरा पाइन्छ। मुस्ताङको घरपझोङ गापादेखि माथि उपल्लो मुस्ताङका उच्च भूभागमा यो प्रजातीको बनस्पती पाइन्छ। यो होचो झाङ्गिने प्राकृतिक बनस्पती हो। यो बनस्पतीको औसत १० देखि ५० सेमी उचाइ हुन्छ। यसको पातलाई खैरो खिया रहेको कत्लाले ढाकेको हुन्छ। यो बनस्पती पातविहीन हाँगामा झुप्पा-झुप्पा भएर फल्दछ। यो सुन्तला रङको चिची भन्दा ठूलो आकारको हुन्छ। असोज-कार्तिक महिनामा यो फल्छ। यसको वैज्ञानिक नाम 'हिप्पोफे तिबेतना' हो।
मुस्ताङको उच्च भू्भागमा वर्षौंदेखि प्रयोगविहीन भइ खेर गएका प्राकृतिक रुपमा पाइने तोरा आशिंक रुपमा प्रयोगमा आउन थालेको छ।
मुस्ताङको झारकोट महिला समुहले २०६९ सालदेखि व्यवसायिक रुपमा यो बनस्पतीलाई संकलन गरी उद्योगको रुपमा संञ्चालन गरेका थिए। ८ वर्षअघि उच्चपहाडी तथा हिमाली जिल्लामा बाली,पशुपालन तथा जटीबुटी उत्पादन तथा प्रर्वद्धन गरी स्थानीयको जीवनस्तर उकास्न हिमाली उपआयोजनाले सो समुहले जटीबुटी प्रशोधन उपकरण उपलब्ध गराएको थियो।
सोही उपकरणबाट झारकोटका महिलाले तोरा फलबाट जुस उत्पादन गर्ने गरेका छन्। मुस्ताङमा प्राकृतिक रुपमा पाइने सिवकथोर्न खेतीको प्रचुर सम्भावना रहेको र यसले स्थानीयको जिविकोपार्जमा दिगो सुधार हुने भएकाले मुस्ताङमा जटीबुटी खेती बिस्तार तथा प्रर्वद्धनमा यहाँका स्थानीय तह, डिभिजन वन, एक्याप , आयुर्वेद लगायतका सरोकार निकायको ध्यान जान आवश्यक देखिन्छ। यसले स्थानीय स्तरमा स्वरोजगार तुल्याउन सक्तछ।
त्यसै खेर गएको वनस्पतिलाई झारकोटका महिला समुहले आयआर्जनको माध्यम बनाएका स्थानीय पाल्गेन गुरुङले जानकारी दिए। उच्च उचाइको नाङ्गो पाखामा पाइने यो बनस्पती नाङ्गो हातले टिप्न सकिंदैन। यसलाई प्लास्टिकको पञ्जा लगाएर मात्र टिप्न सकिने गुरुङले बताए।
झारकोट महिला समुहले प्राकृतिक रुपमा फल्ने तोरा बनस्पतीलाई प्रशोधन विधिमार्फत जुस उत्पादन गर्न थालेपछि करिव ३५ घरधुरीका महिला वैकल्पिक आयआर्जनमा जोडिएका हुन्। उनीहरुले बर्सेनि १२ सयदेखि २ हजार लिटरसम्म जुस उत्पादन गर्ने गरेको सो समुहकी सदस्य स्थानीय माया गुरुङले बताइन्। प्रशोधन मार्फत उत्पादन गरिएको तोरा जुस उनीहरुले उद्योगबाट आधा लिटरको १ सय ७५ रुपैयाँमा बिक्री गर्ने गरेका छन्।
पछिल्लो डिभिजन वन कार्यालयले झारकोट महिला समुहलाई विभिन्न सामाग्री खरिद गर्न ४ लाख अनुदान सहयोग गरेको थियो। कोरोना कहरका कारण गतवर्ष उद्योगमा उत्पादन भएको झन्डै १२ सय लिटर तोरा जुस बिक्री नभइ खेर गएको स्थानीय महिला समुहको भनाइ छ। उनीहरुका अनुसार कोरोना अघि तोरा जुसको ब्यवसाय राम्रो चलेको र पोखरा —काठमाडौंसम्म निर्यात हुने गरेको थियो।
पछिल्लो दुई वर्ष सहजै बिक्री हुन नसकेको जनाइएको छ। गत हप्ता झारकोट महिला समुहका सदस्यहरुले तोरा फल संकलन गरेको समुहले जनाएको छ। उनीहरुले चाडपर्वलाई लक्षित गरी दसैं अगावै प्रशोधन गरी तोरा जुस बनाउने जनाएका छन्। तोरा जुस सेवनले ग्यास्टिक, प्रेसर, सुगर, मधुमेह लगायतका बिरामीलाई फाइदा पुग्ने जनाएको छ।
झाडिदार मझौला आकारको सिवकथोर्न अर्थात चिची मुस्ताङको थासाङ गापामा पाइन्छ। समुन्द्री सतहको १८ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा यो प्रजाती पाइन्छ। यसलाई नेपालीमा डालेचुक भन्ने गरिन्छ। यस प्रजातीको उचाई ३ देखि ७ सेमी लम्बाइ र ६ देखि ८ मिटरसम्म चौडा हुन्छ।
पातको तल्लो भाग खरानी रङको हुन्छ। यसको पुरानो हागामा तिखा काँडाँहरु हुन्छन्। यो प्रजातीको फल पाकेपछि सुन्तला जस्तो पहेंलो हुन्छ। यो फल पनि तोरा जस्तै असोज/कार्तिक महिनामा टिप्ने गरिन्छ। विशेषत थासाङको कालिगण्डकी नदी किनारामा यो प्रजाती प्राकृतिक रुपमा पाइए पनि पछिल्लो समय यसको व्यवसायिक खेती गरिन थालिएको धौलागिरि बहुउद्देश्य महिला सहकारी संस्थाकी सचिव बिष्णु थापाले जानकारी दिइन्।
थासाङको टुकुचेमा धौलागिरि बहुउद्देश्य सहकारी संस्थामा आवद्ध महिलाहरुले ब्यवसायिक रुपमा २०७५ सालदेखि यो खेती सुरु गरेका हुन्। तोरा र चिचीको अंग्रेजी कमन नाम 'सिवकर्थोन' हो। यसको स्वाद अमिलो हुनाले अमृतफल समेत भन्ने गरिन्छ। यसप्रकारको कच्चा पदार्थलाई प्रशोधन गरी ड्राई चिची र जुस बनाएर बिक्री गर्ने गरेको संस्थाकी सचिव थापाले उल्लेख गरिन्। उनका अनुसार समुहले आ.व. २०७५ सालदेखि यो प्रजातीको ब्यवसायिक अभ्यास सुरु गरिएको हो।
यो प्रजाती मुस्ताङको घाँसादेखि मार्फासम्मको कालिगण्डकी बगरमा पाइने थापाले जनाइन्। पछिल्लो समय समुहले कालिगण्डकी बगरमा चिचीको बेर्नासमेत लगाइसकेको उनले बताइन्। समुहले अन्य व्यक्तिले उत्पादन गरेको चिची खरिद गरी सामाग्री तयार गर्ने गरेको जनाइएको छ। संस्थाले बर्सेनि ६ सय लिटरसम्म तोरा जुस उत्पादन गर्ने गरेको छ।
उनीहरुले घरेलु प्रविधि मार्फत जुस उत्पादन गर्ने गरेका छन्। कोरोनाअघि अत्यधिक माग बढेको भए पनि कोरोना कहरको वर्षमा ३ सय लिटर चिची जुस खेर गएको संस्थाकी सचिव थापाले जानकारी दिइन्। उनका अनुसार स्थानीय स्तरमा तयार पारिएको चिची जुस लिटरको २ सय रुपैयाँमा बिक्री गर्ने गरिएको थियो।