सडक निर्माणको माग गर्दै चक्काजाम
महोत्तरी : सडक निर्माणको माग गर्दै महोत्तरीको औरही बजारमा स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजाम गरेका छन्। विगत तीन वर्षदेखि निर्माण भइरहेको जलेश्वर-वर्दिवास सडक निर्माण कार्य सुस्त गतिमा निर्माण भईरहेको भन्दै स्थानीयले आज विहानैदेखि सडक अवरुद्ध गरेका छन्। सर्वसाधारणको विरोधको कारण आइतबार एक्का बिहानैदेखि यातायात सेवा प्रभावित भएको छ।
सडकबाट उडेको धुलोले बालबालिका बिरामी पर्न थालेको र खान बस्न समेत गाह्रो भएकाले सडकमै धर्ना दिइरहेका स्थानिय रामविनेश यादवले बताए। सडक मर्मत गरी धुलोबाट मुक्ति दिन सम्बद्ध निकायमा पटकपटक आग्रह गर्दा समेत सुनवाई नभएपछि बाध्य भएर सडक जाम गर्नृु परेको यादवले जानकारी दिए।
स्थानिय सुदिप यादवका अनुसार, ‘यो पीडित जनताले नेतृत्व गरेको ‘प्रदुषण मुक्त’ अभियान हो, यसमा कसैका उक्साहटमा भएको हैन। प्रशासनले सडक खुलाउन पटकपटक प्रयास गर्दै आएको छ।’
महोत्तरीको धेरै जसो सडकहरुको प्राय निर्माण सम्पन्न भई सकेको छ। अहिले सडकहरुमा यात्रा पहिले भन्दा निक्कै सुविधा जनक भएपनि जलेश्वर–वर्दिवास सडकमा यात्रा गर्नुको निकै पीडादायी छ। तीन वर्ष पुरा हुन लागेको समेत सडकमा ग्राभेल हाल्ने बाहेक केहि काम हुन नसकेको छैन।
सडक सुधार तथा विस्तार आयोजना (आरआईडिपी)ले सन २०१८ को डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई उक्त सडक निर्माणको लागि ठेक्का दिएका थिए। कम्पनीले सडक निर्माण अवधि ३६ महिना मध्ये ३३ महिना कटाई सक्दा हालसम्म करिव २२ प्रतिशत काम मात्र हुन सकेको छ।
यता समय मै काम सम्पन्न गर्न आतुर नदेखिएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ। आयोजनाले पर्याप्त कारणहरु देखिएपछि सडक निर्माणको म्याद थपिएको बताएको छ। दशैं आउनै लाग्दा निर्माण कम्पनीले भने सम्बन्धीत निकायबाट थप रकम हात पार्न एकाध कामदार सडकमा भने खटाएको छ।