गर्भवती र बालबालिकालाई पनि खोप लगाउँदै दक्षिण कोरिया
सिओल : दक्षिण कोरियाले कोभिड-१९ विरुद्धको खोप गर्भवती महिला र १२ देखि १७ वर्षका बालबालिकालाई पनि लगाइदिने भएको छ। स्वास्थ्य निकायले जनाएअनुसार अर्को महिनादेखि गर्भवती र बालबालिकाले पनि खोप लगाउने छन्। यस निर्णयसँगै अक्टोबर १८ देखि शुरु हुने खोप अभियानबाट १२ देखि १७ वर्ष उमेर समूहका २० लाख भन्दाबढी बालबालिका लाभान्वित हुनेछन्।
गत जुलाइदेखि बालबालिकामा पनि सङ्क्रमण तीव्ररूपमा बढेको पाइएपछि यो अभियान घोषणा गरिएको थियो। अगस्टमा मात्र उक्त उमेर समूहका ३,०५० बालबालिका सङ्क्रमित भएका थिए। त्यसैगरी १३६,००० गर्भवती महिलाहरूले पनि अब पहिलो मात्रा खोप लिनेछन्। अध्ययन रिपोर्टअनुसार गर्भवती महिलाहरू सङ्क्रमित हुँदा अन्य भन्दा छ गुणा बढी जटिलता हुनसक्ने हुन्छ।
यसैगरी स्वास्थ्य निकायले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेका समूह र ६० वर्ष माथिका समूहलाई अक्टोबर २५ देखि तेस्रो मात्रा अथवा बुस्टर डोज लगाइने भएको छ। हालसम्म दक्षिण कोरियाले ७४.२ प्रतिशत जनतालाई खोप लगाइसकेको छ। -रासस-सिनह्वा
प्रतिक्रिया दिनुहोस !